९ चैत्र २०८२ सोमबार
image/svg+xml
कला/साहित्य

'ऊनको स्वीटर'लाई उछिन्दै वर्षकै सर्वाधिक कलेक्सन गर्ने फिल्म बन्यो 'जेरी अन टप'

गत असोज ३१ गतेबाट सार्वजनिक प्रदर्शनमा आएको फिल्म 'जेरी अन टप' वर्ष २०८२ सालको सर्वाधिक कलेक्सन गर्ने फिल्म बन्न सफल भएको छ। घरेलु बक्सअफिसमा बुधबारसम्म फिल्मले ११ करोड ४३ लाख माथिको कलेक्सन गरेको छ।

गत वैशाख अन्तिम साता प्रदर्शनमा आएको फिल्म 'ऊनको स्वीटर' नेपाली बक्सअफिसमा ११ करोड ४१ लाख कलेक्सन गर्दै पहिलो नम्बरमा थियो। 'जेरी अन टप'ले प्रदर्शनको २० औं दिनमा त्यो आँकडा पूरा गर्दै यो वर्षकै सर्वाधिक कलेक्सन गर्ने फिल्मको सूचीमा आफूलाई पहिलो नम्बरमा पुर्‍याएको हो। फिल्म अहिले पनि देशभरका सय बढी हलहरूमा प्रदर्शनमा छ।

स्टार अभिनेता अनमोल केसीको स्टारडमले इनिसियल विजनेसमा छलाङ मारेको यो फिल्मलाई दर्शकको 'वर्ड अफ माउथ'ले लामो रेसको घोडाको रूपमा उभ्याएको थियो। सुयोग गुरुङ निर्देशित सामाजिक, पारिवारिक र प्रेमिल कथाको समिश्रण 'जेरी अन टप'ले देशकै पहिचान बोकेको सगरमाथाको कथालाई बलियोसँग प्रस्तुत गरेको छ।  

हिमाल आरोहणको साहसिक कथा उठान गरेको यो फिल्मले देशको पर्यटनलाई समेत अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेको भन्दै सामाजिक सञ्जालमा प्रशंसा बटुलिरहेको छ। फिल्ममा अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी, केदार घिमिरे, उषा खड्गी प्रमुख अभिनयमा छन्।

अनन्या फिल्मस्'को ब्यानरमा सरोज न्यौपानेको प्रस्तुतिमा तयार फिल्मले अन्तर्राष्ट्रिय बजारमा पनि प्रसंशा बटुलिरहेको छ। अष्ट्रेलिया, अमेरिका, जापान, युरोप लगायतका दर्जनौं देशहरूमा एकसाथ प्रदर्शनमा रहेको फिल्मले ग्लोबल बक्सअफिसमा हालसम्म १७ करोड कलेक्सन गरिसकेको निर्माता न्यौपानेले बताए।

प्रकाशित: २१ कार्तिक २०८२ १२:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App