निर्माण टिमले युट्युबमार्फत चलचित्रको पहिलो झलक र नाम सँगै टिजर सार्वजनिक गरेको छ। यसको पहिलो झलकमा चलचित्रका मुख्य कलाकार उपासना सिंह ठकुरी, सोनम तोप्देन, अस्तित्व भट्टचन र साहारा हाङमा लिम्बूलगायतका प्रस्तुत गरिएको छ।
भिडियोमा उपासनाको बाल्यकाल, कलेज यात्राको क्रममा सोनमसँगको प्रेमसम्बन्ध र आमाको सम्झनालाई सरसर्ती प्रस्तुत गरिएको छ। भिडियोमा सुन्दर हिमालदेखि पहाड र हरियाली वनजंगल र नदीको संयोजन गरिएको छ।
यो चलचित्रको यसअघि सार्वजनिक ‘चाँदी जलप’ गीत र पोस्टरले दर्शकमाझ राम्रो हाइप निर्माण गर्न सफल भएका थिए । त्यसले पनि निर्माया टिम जलाकीको पहिलो झलक टिजर सार्वजनिक गर्न उत्साहित देखिएको हो।
‘जलाकी’ मगर समुदायमा आस्था, सम्झना र मायाको प्रतीकका रूपमा चिनिने ढुङ्गाले बनाइएको स्तम्भलाई जनाउने शब्द हो । निर्देशक मगरले यही सांस्कृतिक प्रतीकलाई केन्द्रमा राखेर मगर र गुरुङ समुदायको संस्कृति, परम्परा र भावना समेटिएको कथा सिनेमामा प्रस्तुत गरिएको बताए ।
सोनम र उपासनासहित सिनेमामा शिल्पा मास्के, माओत्से गरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्कबहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर, दुइसाङ थिन र विशेष भूमिकामा क्याप्टेन विजय लामा तथा बालकलाकारमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा, रिन्सी धनहा मगरले अभिनय गरेका छन् । यो सिनेमाबाट मिस सिक्किमकी साहारा हाङमा लिम्बूले नेपाली रजतपटमा डेब्यु गरेकी छन् ।
‘खुस्मा’को सफलतापछि निर्देशक मगर आफ्नो नयाँ प्रस्तुति ‘जलाकी’ले पनि दर्शकको मन जित्ने विश्वस्त छन् ।
‘जलाकी’ आगामी मंसिर ४ गतेदेखि प्रदर्शनको तयारीमा छ।
प्रकाशित: २ आश्विन २०८३ १७:३० शुक्रबार





