१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
कला/साहित्य

स्मृतिमा लीलबहादुर क्षेत्री र ‘बसाइँ’

साहित्यले कुनै समाजको इतिहासलाई अभिलेख मात्र गर्दैन, त्यसले मानिसका विभिन्न भावहरूका साथै आँसु, पीडा, संघर्ष, चाहना र सपना पनि अक्षरमा रूपान्तरण गर्छ। समय बित्दै जाँदा इतिहासका अनेक तथ्य ओझेलमा पर्न सक्छन् तर साहित्यले जीवनका सत्यलाई पुस्तौँसम्म जीवित राखिरहन सक्दछ। नेपाली साहित्यमा यस्ता जीवन्त कृतिको जन्म दिने कालजयी स्रष्टामध्ये साहित्यकार लीलबहादुर क्षेत्री अग्रपङ्क्तिमा आउँछन्। उनले समाजका वास्तविक जीवन, अभाव, संघर्ष, विस्थापन र मानवीय संवेदना यति मार्मिक ढङ्गले प्रस्तुत गरेका छन् कि उनका कृतिहरू आज पनि उत्तिकै सान्दर्भिक छन्। विशेषतः उनको ‘बसाइँ’ उपन्यास नेपाली साहित्यको एउटा यस्तो कृति हो, जसले नेपाली समाजको आत्मकथा यथार्थमा चित्रण गरेको छ।

लीलबहादुर क्षेत्रीलाई सम्झनु भनेको एकजना साहित्यकार मात्र सम्झनु होइन, नेपाली समाजको एउटा युगलाई सम्झनु हो। उनको कृति ‘बसाइँ’ मा प्रस्तुत भएका पात्रहरूमा पूर्वी नेपालको गाउँले जीवनको सरलता छ, अभावको पीडा छ, अन्याय विरुद्धको मौन प्रतिरोध छ र भोलिको आशा पनि छ। यही कारण उनका सिर्जनाले समयको सीमालाई पार गर्दै आज पनि पाठकको मन छुन्छन्।

साहित्यकार क्षेत्रीको पुर्ख्यौली थलो नेपालको पूर्वी पहाडी जिल्ला तेह्रथुमको छथर क्षेत्र हालको छथर गाउँपालिका वडा नं ६ सुदाप गाउँ हो। उनका मातापिता साधारण गाउँले जीवनमा संघर्ष गर्दागर्दै तत्कालीन सम्भावना र उज्ज्वल भविष्यको खोजीमा भारतको आसामतर्फ गएका र पछि उतै बसोबास गर्ने क्रममा उनै पिता प्रेमबहादुर क्षेत्री ‍(खड्का) र माता पवित्रादेवीबाट सन् १९३३ मार्च १ ‍(वि सं १९८९) मा उनी जन्मिएका हुन्। यद्यपि उनको जन्म र कर्मभूमि भारतको आसाम बन्यो तर उनको भावनात्मक सम्बन्ध आफ्ना पुर्खाको माटोसँग कहिल्यै टुटेन। पहाडको जीवन,  दुःख–सुख, संस्कार, श्रम, अभाव र प्रकृतिको निकटता उनका साहित्यमा स्वाभाविक रूपमा अभिव्यक्त भएको पाइन्छ। त्यसैले उनका सिर्जनालाई बुझ्न तेह्रथुमको छथर क्षेत्रको भूगोल, सामाजिक परिवेश र जनजीवनलाई पनि बुझ्नु आवश्यक हुन्छ। स्थानीय जनविश्वास तथा स्थानीयबासीहरूको स्मरण अनुसार ‘बसाइँ’ उपन्यासको कथावस्तुले यस क्षेत्रको यथार्थ जीवनसँग गहिरो सम्बन्ध राख्छ। उपन्यासमा उल्लेख भएका कतिपय पात्रका नाम, स्थानका नाम र घटनासँग मिल्ने सन्दर्भहरू आज पनि यस क्षेत्रमा भेटिन्छन् भन्ने तथ्य स्थानीय समाजमा जीवित छ। लेखकले उपन्यासका पात्रहरुका विचमा प्रयोग गरेका सम्वादहरुका लवज तथा भाषिकाहरु नेपालको पुर्वी पहाडी भेगको परिवेशसँग तादम्य रहेको स्पष्ट बुझ्न कठीन छैन। यसले बसाइँलाई कल्पनाको उपन्यास होइन, एउटा भूगोलको सामूहिक स्मृति र सामाजिक इतिहाससँग गाँसिएको कृतिका रूपमा पनि हेर्न प्रेरित गर्छ।

‘बसाइँ’ को मूल विषय नै समाजमा व्याप्त समस्या र विभिन्न कारणले गर्दा उत्पन्न भएको सामाजिक विस्थापन हो। जब गरिबी, अन्याय, ऋण र अभावले मानिसलाई आफ्नो जन्मभूमि छोड्न बाध्य बनाउँछ, तब बसाइँसराइ केवल ठाउँ परिवर्तन हुँदैन त्यो मनको, सम्बन्धको र पहिचानको पनि विस्थापन हुन्छ। साहित्यकार क्षेत्रीले यही पीडालाई आफ्नो अमर कृतिमार्फत अत्यन्त संवेदनशील ढङ्गले प्रस्तुत गरेका छन् जहाँ उनले कुनै आदर्श गाउँको चित्र कोरेनन् बरु यथार्थमा गाउँले जीवनको चित्र उतारे, जहाँ मानिसहरू दिनरात श्रम गर्छन् तर पेटभरि खान पनि संघर्ष गर्नुपर्छ।

उपन्यास पढ्दै जाँदा लाग्छ, लेखक आफ्ना पात्रहरूसँगै घुमसरहेका छन् र उनीहरूको पीडालाई आफ्नै पीडा बनाएर लेखिरहेका छन् । यही आत्मीयले बसाइँलाई महान् बनाएको हो। साहित्यमा कृत्रिम संवेदना त्यति टिक्दैन, तर जीवनबाट जन्मिएको संवेदना कहिल्यै मर्दैन भनेझैं  बसाइँ त्यसैको उत्कृष्ट उदाहरण हो। साहित्यकार क्षेत्रीको भाषाशैली सरल, स्वाभाविक र जनजीवनसँग सान्निध्य छ। उनले कठिन शब्दको प्रदर्शन होइन, अनुभूतिको गहिराइलाई प्राथमिकता दिएका छन् । उनका सहज वाक्यहरू पाठकको मनमा गहिरो प्रभाव छोड्न सफल छन्। यही सरलता र यथार्थवादी चेतना नै उनको सिर्जनात्मक शक्ति हो।

आज पनि नेपालको ग्रामीण क्षेत्रको ठूलो जनसंख्या रोजगारी, शिक्षा र उज्ज्वल भविष्यको खोजीमा गाउँ छोडेर सहर वा विदेश जान बाध्य छ। गाउँहरू रित्तिँदै गएका छन्, खेतबारी बाँझिँदै छन्, परिवारहरू टुक्रिँदै गएका छन्। समय फेरिएको छ तर बसाइँसराईको पीडा फेरिएको छैन।

समाजमा विद्यमान विभिन्न समस्या तथा संघर्षका कथाहरूसँग जुध्दाजुध्दै मानिसहरू आफ्नो भौतिक तथा भावनात्मक रुपमा कसिलो सम्बन्ध भएको स्थान, परिवेश र समय छोडेर अन्यत्र अर्कै व्यवस्थापन मिलाउन बाध्य छन्। यहीँ परिस्थिति नै मानिसको जीवनमा आइपर्ने सामाजिक र भावनात्मक विस्थापन  हो जुन उसबेला साहित्यकार क्षेत्रीले बसाइँमा उल्लेख गरेका छन्। तसर्थ बसाइँ आज पनि विगतको कथा मात्र होइन, वर्तमानको यथार्थ बनेर उभिएको छ। यदि कुनै साहित्यकारले आफ्नो सिर्जनामार्फत एउटा भूगोल अमर बनाएका छन् भने त्यो भूगोलको पनि आफ्ना स्रष्टाप्रति दायित्व हुन्छ। तसर्थ तेह्रथुमको छथर क्षेत्रले लीलबहादुर क्षेत्रीलाई सम्झनु भनेको आफ्नै इतिहास, आफ्नै संस्कृति र आफ्नै साहित्यिक पहिचानलाई सम्मान गर्नु हो। आफ्ना महान् स्रष्टालाई सम्मान गर्न सक्ने समाजले मात्र आफ्नो भविष्यलाई पनि उज्यालो बनाउन सक्छ। यसलाई हृदयंगम गर्दै खुसीको कुरा, केही दिनअघि छथर क्षेत्रले साहित्यकार लीलबहादुर क्षेत्रीको स्मृतिमा भव्य कार्यक्रम मार्फत सम्मान र सम्झना समर्पण गरेको छ। जुन कार्यक्रम उनीप्रति औपचारिक श्रद्धा मात्र थिएन आफ्ना साहित्यिक धरोहरप्रति स्थानीय समाजको सम्मान, गर्व र उत्तरदायित्वको अभिव्यक्ति पनि थियो। त्यहाँ व्यक्त भएका श्रद्धा, स्मरण र साहित्यप्रतिको सम्मानले साहित्यकार क्षेत्री इतिहासका पात्र मात्र नभई आज पनि जनमनमा जीवित रहेको पुष्टि गरेको छ। यस्ता कार्यक्रमहरू एकदुई दिनको उत्सवमा मात्र सीमित हुनु हुँदैन, स्रष्टाका कृतिमाथि निरन्तर अध्ययन, अनुसन्धान, गोष्ठी, पुस्तकालय, स्मृति व्याख्यान र नयाँ पुस्तालाई पढ्ने वातावरण निर्माण गर्न सके मात्र सर्जक प्रतिको सम्मान सार्थक हुनेछ। अझ भनौँ स्रष्टालाई सम्झने सबैभन्दा उत्तम उपाय भनेको उनका विचार र कृतिलाई नयाँ पुस्तासम्म पुर्‍याउनु हो।

आज उनै मूर्धन्य साहित्यिक व्यक्तित्व लीलबहादुर क्षेत्री हाम्रो बीचमा भौतिक रूपमा रहेनन्, सन् २०२५ मार्च १३ ‍(वि सं २०८१ फागुन २९) का दिन भारतको गुवाहटी स्थित निवासमा उनको कृतिशेष भएपनि उनका हरेक कृतिहरूमा कुँदिएका शब्दहरू जीवित छन्, पात्रहरू जीवित छन्, सपना जीवित छन्। त्यसैले उनलाई सम्झनु भनेको विगत सम्झिनु मात्र होइन वर्तमानलाई बुझ्नु र भविष्यलाई दिशानिर्देश गर्नु पनि हो।

बसाइँ उपन्यासले हामीलाई आफ्नो माटो, आफ्नो समाज र आफ्ना अग्रजहरूको कथा भुल्न नहुने सन्देश दिन्छ। तेह्रथुमको छथरले जन्माएको त्यो चेतना आज सम्पूर्ण नेपाली समाज तथा विश्वकै साझा सम्पत्ति बनेको छ। जबसम्म नेपाली समाजमा नेपालीपन रहिरहनेछ औ अभाव, संघर्ष र आशाको कथा बाँकी रहनेछ तबसम्म बसाइँ पनि बाँचिरहनेछ। जबसम्म नेपाली भाषा, साहित्य र कला बाँचिरहनेछ तबसम्म लीलबहादुर क्षेत्री नेपाली साहित्यिक आकाशमा ध्रुवतारा जस्तै चम्किरहनेछन्।

प्रकाशित: १० श्रावण २०८३ १२:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App