बालकलाकार तथा गायक अशोक दर्जी पछिल्लो समय फेरि चर्चाको केन्द्रमा छन्। संगीतकार टंक बुढाथोकीले गत बुधबार मिडियामा दिएको विवादास्पद अभिव्यक्तिपछि अशोकले सामाजिक सञ्जालमा लेखेको लामो स्टाटसले उनीमाथि थप चासो बढाएको हो।
आइतबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै अशोकले आफू अब थाकिसकेको बताएका छन्। उनले आगामी दिनमा आफ्नै ढंगले अघि बढ्ने र आफ्नो कामलाई निरन्तरता दिने संकेत गरेका छन्।
अशोकले लेखेका छन्, ‘अब चाहिँ म थाकिसकेँ, म धेरै नै थाकिसकेँ। अब मेरो लाइफलाई म स्ट्रेट तरिकाले लाग्ने छु। मेरो यात्रामा मलाई सधैँ साथ दिनु होला। मैले गरेको कामहरूलाई माया गरिदिनु होला, मलाई त्यति भए हुन्छ। मेरो जीवन म चलाउन सक्छु।’
उनले आफ्ना दर्शक तथा शुभेच्छुकप्रति आभारसमेत व्यक्त गरेका छन्।
तर उनको स्टाटसको अर्को पाटो आर्थिक अवस्थासँग जोडिएको छ। अशोकले आफूले परिवार तथा भाइबहिनीको जिम्मेवारीसमेत सम्हाल्नुपर्ने भएकाले आगामी दिनमा आर्थिक व्यवस्थापन कसरी गर्ने भन्ने चिन्ता रहेको खुलाएका छन्।
उनले लेखेका छन्, ‘मैले मेरो परिवार, भाइबहिनीलाई पाल्नु छ। अब दसैँ–तिहार आउँदैछ, खर्च कसरी चलाउने, आउँदै गरेको दिनहरूलाई कसरी टाल्ने, पैसा कसरी कमाउने ? पढ्नु पर्ने उमेरमा पैसाको भोक छ।’
आफू अहिले आर्थिक रूपमा कमजोर अवस्थामा रहेको उल्लेख गर्दै अशोकले आफूसँग नगद तथा बैंक मौज्दात नरहेको बताएका छन्।
‘आज मसँग न पैसा छ, न बैंक ब्यालेन्स छ। धन्य, एउटा घर छ, जुन हजुरहरूकै सहयोगबाट बनेको हो। अनि कसैले दिनुभएको अधियाँ जग्गा छ,’ उनले लेखेका छन्।
बाल्यकालमै गायन क्षेत्रमा प्रवेश गरेर चर्चामा आएका अशोकले पछिल्लो समय आफ्नो आगामी यात्रालाई संघर्षपूर्ण हुने संकेतसमेत गरेका छन्। उनले कठिनाइ आए पनि आफैं संघर्ष गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।
‘अब यात्रा दिन मेरो कष्टै कष्टमा बित्छ होला, तर म लड्छु, आफैं उड्छु, म आफ्नो कामहरू गर्छु,’ अशोकले भनेका छन्।
टंक बुढाथोकीको पछिल्लो अभिव्यक्तिको सन्दर्भमा अशोकले आफ्नो स्टाटस लेखेको देखिए पनि उनले बुढाथोकीको नाम लिएर प्रत्यक्ष प्रतिक्रिया दिएका छैनन्। तर उनको ‘अब म थाकिसकेँ’ भन्ने अभिव्यक्ति र आर्थिक अवस्थाबारेको खुलासाले सामाजिक सञ्जालमा विभिन्न चर्चा सुरु भएको छ।
प्रकाशित: ४ आश्विन २०८३ १६:३७ आइतबार





