२५ मंसिर २०८२ बिहीबार
image/svg+xml
कला/साहित्य

सम्झनामा दोर्पाको दसैं र बालापनको आनन्दपन

७ वर्षको बालापनमा आफ्नै जन्मथलो दोर्पा चिउरीडाँडामा मनाएको दशैं सम्झिनेबित्तिकै मेरो मन आनन्दित हुन्छ। खुशी र उमंगको झझल्को दिन्छ। साकेलाथानको रोटेपिङ, खरबारीको लिंगेपिङ खेल्दाको माहोल र साथीसँगीसँगको ती निष्कपट रमाइलो दिन अहिले सम्झँदा भावुक हुन्छु। नफर्किने मनको फ्रेममा कैद गरिएको सुन्दर सपना सँगाल्दै आनन्द लिन्छु।

बुवाले नुनतेल लिन जाँदा बेलटारबाट ढाकरमा ल्याइदिएको भुक्के चप्पल, दिक्तेल कारागारका कैदीबन्दीले बुनेको ढाकाटोपी गर्वका साथ लगाउँथें। मुसादेउकी बोजुले बुनेको खाडीको कमेज -सुरूवाल र बाटोमुनिका आदरणीय दर्जी काकाले चिटिक्क सिलाइदिएको कपडा दशैंका सुन्दर पहिरन थिए मेरा लागि।

भाइ पर्शुराम र म खुबै मिल्थ्यौं। साथै रम्थ्यौ र उकालीओराली गर्थ्याैं। एकै खाले चप्पल र कपडामा रंगिन्थ्यो। वर्ष दिनको चाड कुरेर नयाँ पोसाकमा सजिँदा आफ्नै संसारको बादशाहझैं सम्झन्थें।

अहा! कति रमाइलो हुन्थ्यो त्यो सानो उमेरमा। दशैं भनेको नयाँ कपडा, मिठो खानेकुरा अनि अनन्त खुशीको प्रतीक थियो हाम्रो समयमा। अहिले जस्तो बाह्रै महिना चिची खान र नाना लगाउन कहाँ पाइन्थ्यो र त्यो बेला!

त्यो समयको बालापन आनन्दको हुन्थ्यो - न पिर न चिन्ता। अहिलेका नानीबाबुलाई जस्तो तीन वर्षको उमेरमा गह्राैं भारी बोक्नु पर्दैनथ्यो झोलाको। न गृहकार्यको बोझ हुन्थ्यो। व्यवसायिक, नैतिक शिक्षा र व्यवहारिक संस्कारी शिक्षा लिन्थ्यौं गुरूकुलमा।

अहिलेका आधुनिक नानीहरूले जस्तो बन्द कोठामा चाउचाउ कुटुकुटु खाँदै मोबाइलमा कार्टुन हेर्नै पर्दैनथ्यो आनन्दित हुन।

साथीहरूसँग अम्ला भाँच्दै कहिले तमाहा खोला त कहिले काली खोलाका किनारमा लुकामारी खेल्दै दशैंको प्रतीक्षा गर्थ्यौं। आमाको हात समातेर एकाबिहानै साप्सुबाट घाँसको भारी ल्याउँथ्यो सानो डोकामा। रूपी, ढुकुर र चिभेसँग मिलेर सँगसँगै प्रकृतिको गीत गाउँथ्यो। जुरेली र गौंथलीको संगीतमा रमाउँथ्यौं। साप्सु सुसाउँदै गर्दा उदाउँदै गरेको सूर्यले टेम्केसँग लुकामारी खेलेको दृष्य आमासँगै ढुङ्गेबाट नियाल्थें। घाँसको भारी बोकेर आउँदा बगेको पसीनाको स्वादले समुन्द्रमा पाइने महँगो मुल्यको नुनिलो स्वादको झझल्को गराउँथ्यो।

बेलाबेला मेरो धेरै मिल्ने साथी मुसादेउका बाबुराम राई र सुरविक्रम राईसँग छहरेमा बाँदरसँग लुकामारी खेल्थ्यौं। रमाइलो गर्दै उखु र अमिलो साँधेर खान्थ्यौं। बालापन अति रमाइलाे थियो। डण्डीबियो, ढुंगा लडाइ र भालेजुधाइ हाम्रो जमानाको लोकप्रिय खेल थियो। त्यसैमा रमाउँथ्यौं। असोज लागेपछि गाउँभरि नै दशैंको हल्ला चल्थ्यो। कुटोकोदालो बोकेर बाटो बनाउन जान्थ्यौं। सामुहिक भावना थियो। एकताको भावना जागृत हुन्थ्यो।

दशैंको समयमा बुवाले बिहानभरि चण्डीपाठ गर्नुहुन्थ्यो। अल्छी भए पनि म बुवाको करकापले चण्डी पाठ गर्थें। त्यो समय असोजको घाम मिठासिलो हुन्थ्यो - जिउ तताउने तर चर्को घाम नलाग्ने। आँगनको डिलमा फलेको सुन्तला पहेंलपुर भएर नपाके पनि खान मिल्थ्यो, त्यही बेला खास मिठासिलो लाग्थ्यो।

गाउँकै मितकाकाले सुँगुरूवाबाट माइत लाउन ल्याएको थुन्सेभरिको बेलौती अम्बक झन् स्वादिलो हुन्थे। आमाले सबेरै उठेर गाईको गोबर र बुढीमावली बाम्राङबाट ल्याएको रातो माटोले मझेरी लिप्नुहुन्थ्यो। आमा र दिदीसँग मिलेर कुचोले कमेरो छेपेको घर टलक्क टल्किन्थ्यो - मानौं घर पनि दशैं मनाइरहेझैं लाग्थ्यो।

त्यो समयको गाउँ रमाइलो मात्र नभई आत्मीय थियो। हरेक काममा आफ्नोपन झल्किन्थ्यो। घर लिप्दा आमा र दिदी, खेतमा बाबु र छोरा, उकालीओराली गर्ने बाटो खन्दा गाउँलेको सामुहिक हातेमालो अनि छिमेकीसँग मिलेर बनाएको पिङ - यी सबैले दशैंलाई सामूहिक बनाउँथे।

सबैले दशैंलाई सामूहिक बनाउँथे। बुवाले गाएको मालश्री धुनको स्वर सुन्न उत्रबहादुर काका, पर्खनबहादुर काका, पारिघरे कुमाल ठूलोबुवा, महेन्द्र विक काका, पिपलेका भुजेल दाजु, छितातालका गुरुङ आमा, तामाङ बहिनी, चम्पाका दिकु बारीको डिलमा लामबद्ध बस्नुहुन्थ्यो। मजाले स्वर दिनुहुन्थ्यो र देवीको प्रसाद ग्रहण गरेर छुटिनुहुन्थ्यो। आत्मिय र सामुहिकता थियो।

नौरथाको धुन बज्नेबित्तिकै मनमा दशैंको आध्यात्मिकता पलाउँथ्यो। न जातजातिको विभेद न संस्कृतिमा भिन्नता। दुर्गा माताको शक्ति सम्झिंदै टीकाजमरा लगाउने बेला परिवार एकै ठाउँमा भेला हुँदा त्यो खुशीको परिभाषा नै फरक थियो। दशैं सबै संस्कृतिको राष्ट्रिय पर्व मानिन्थ्यो।

ढोलझ्याम्टा बजाउन बुवासँगै कुमाराम्पा काकाकोमा म जान्थें। सुङ्ग्देले ठूलोबुवासँग विजुवा बस्दै ढ्यॅाग्रो बजाएको सम्झिदा सांस्कृतिक एकतामा रमेको बालापन अद्वितीय अनुभूति महसुस हुन्छ अहिले पनि।

माझकिरातमा उँभौली-उँधौलीलाई साझा पर्वको रूपमा मनाउँछौ हामी। लाखे, साकेला, सँगिनी र ल्होसारले सांस्कृतिक एकता र सहिष्णुता दिएको हुन्छ समाजलाई। हामीले वर्षौं अगाडि सामुहिक ढंगबाट नाचेको, गाएको, झुमेको त्यो बाल्यवस्था अझै ताजा छ मानस्पटलमा।

तर समय बदलिएको छ। अहिले घर लिप्न रातो माटो खोज्नु पर्दैन। गाउँगाउँमा घर नै कंक्रिटका पक्की बनेका छन्। न कमेरो न गाईको गोबर। अब चप्पल, लुगा, मिठाई सबै आयातित पसलका - प्लास्टिकको झोलामा प्याक भएर आउँछन्। ती सामानमा छैन आत्मिय न प्रेम र सद्भाव नै छ। गाउँका आदरणीय दर्जी काका, कारागारका कैदीले बुनेको ढाका टोपी, मुसादेउकी बोजुले बुनेको खाँडीको कपडा सबै अतीतको कथा बनेर हराइसके।

त्यसैले दशैं आउँदा अझै त्यो बालापन सम्झँदा मन भित्रभित्रै तरंगित हुन्छ। अब दशैं पिजा, रोस्ट र टोस्टमा रमाउने साधन भएको छ। आयातित नयाँ सामान, बजारको रंगीन दुनियाँ र औपचारिकतामा सीमित छ। त्यो आत्मीय, माटोको सुगन्ध र सामूहिक भावना सबै हराउँदै गएको छ।

तर मलाई विगतले भने कहिल्यै छोड्दैन। आँखा चिम्लिँदा अझै देख्छु - भुक्के चप्पल लगाएर दुम्ली हुँदै  मियाखोलाबाट आचार्य गाउँको उकालो बाटो हिंड्दै दिक्तेल बजार भरेको। आमाले गाईको गोबरले लिपेको घरमा टीकाजमरा लगाउँदै रमाइरहेको त्यो मेरो बालापन। अहिले बद्लिएको परिवेश र दशैंलाई अब फर्काउनुपर्छ विगततर्फ। सामुहिक भावना र सांस्कृतिक सहिष्णुतातर्फ। म सम्झिरहेको छु दोर्पाको दसैं र बालापनको आनन्दपन।

(स्रष्टा भट्टराई दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख हुन्।)

प्रकाशित: १७ आश्विन २०८२ १२:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App