६ असार २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

मानव आवश्यकता र अध्यात्मको आयाम

अध्यात्म

मानवीय समस्त आवश्यकतालाई तीन भागमा बाँडिएको छ– शारीरिक, मानसिक र आध्यात्मिक। शारीरिक आवश्यकतामा वास, गाँस अनि कपासको आवश्यकता हुन्छ। यो अति आवश्यक हो। यसको बिना जीवन चलाउन गाह्रो हुन्छ। मानसिक आवश्यकतामा शान्ति, सुरक्षा, सहयोग, सम्मान र स्वास्थ्यको कामना हुन्छ। जीवनका लागि यो पनि धेरै आवश्यक छ। आध्यात्मिक आवश्यकतामा परम शान्ति, आन्तरिक आनन्द अनि परम सत्यको कामना आउँछ। सामान्य भाषामा यसलाई मोक्ष पनि भनिन्छ।

विश्वका विभिन्न आध्यात्मिक परम्परामा मुक्ति, निर्वाण वा मोक्षका अवधारणाहरू पाइन्छन् र सनातन धर्ममा पनि मोक्ष प्राप्तिलाई जीवनको सर्वोच्च लक्ष्यका रूपमा लिइन्छ।

हामी सबै आआफ्नो क्षमता र कर्मअनुसार जीवनका यी आवश्यकतालाई कम वा बढी पूरा गर्दै जीवनयात्रा गरिरहेका हुन्छौं। हामीले सरल र सन्तुलित जीवन जिउनुपर्छ।

पहिलो र दोस्रो आवश्यकता धेरै उपयोगी र आवश्यक छन्। जसरी पनि यिनलाई प्राप्त गर्नुपर्छ तर प्राप्तिको क्रममा धैर्य र इमानदारी राखिएन भने मानिस असत्यको बाटोमा लाग्न सक्छ। यस्ता गलत कार्यहरूले जीवनलाई झन् कठिन परिस्थितिमा पुर्‍याउँछन्।

तेस्रो आवश्यकता अन्तिम र प्रमुख आवश्यकता हो। यसलाई प्राप्त गर्नका लागि केही विशेष गर्नुपर्दैन। जसले पनि यसलाई प्राप्त गर्न सक्छ। शिक्षा, जाति, उमेर, धर्म वा स्थानसँग यसको सम्बन्ध छैन। यसका लागि आस्था, समर्पण र विश्वासको आवश्यकता हुन्छ।

पूरै विश्वका धेरै ठाउँमा धेरै योगी, सन्त, महात्मा, ज्ञानी र आध्यात्मिक व्यक्तिहरू बेलाबेलामा जन्मिरहेका हुन्छन्। यिनीहरूको काम समाजमा ज्ञानको प्रकाश फैलाउनु हो। समाजमा ज्ञानको ज्योति फैलाउन यिनीहरूको विशेष योगदान रहेको छ। तेस्रो अर्थात् आध्यात्मिक आवश्यकतालाई बुझ्नका लागि अध्यात्मको विज्ञान बुझ्नुपर्छ। हामी जहिले पनि धर्म र अध्यात्मबारे सुन्दै आएका हुन्छौं। हामीले याद राख्नुपर्छ कि धर्म र अध्यात्म दुई फरक कुरा हुन्। यद्यपि दुवैको उद्देश्य मानव कल्याण र आत्मिक उन्नति नै हो।

जसरी हजारौं रुपैयाँको मैनबत्ती भए पनि सलाईबिना बल्न सक्दैन, त्यसरी नै आध्यात्मिक ज्ञानबिना मानव जीवनमा वास्तविक उज्यालो आउन सक्दैन। त्यसैले मानव जीवन पाएपछि अध्यात्मको रहस्यलाई बुझ्नुपर्छ।

अध्यात्मका आठ आयाम

आनन्द

जीवन भनेको आनन्द हो। मानव जीवनका प्रत्येक कामनाको मूलमा आनन्द प्राप्ति नै हुन्छ। उपनिषद्अनुसार आनन्दबाट हाम्रो जन्म हुन्छ, आनन्दकै लागि हामी बाँचिरहेका हुन्छौं र अन्ततः आनन्दको महासागरमा विलीन हुन्छौं।

हामी जहिले पनि आनन्द खोजिरहेका हुन्छौं। एकछिनका लागि पनि दुःख र तनाव हामीलाई राम्रो लाग्दैन। त्यसैले आनन्द प्राप्तिमा अवरोध कहाँ छ भन्ने कुरा बुझ्नुपर्छ। जब यो कुरा थाहा हुन्छ, तब आफैं आनन्दको स्रोत खुल्न थाल्छ।

मृत्यु

जीवनको परम सत्य मृत्यु हो। मृत्यु किन हुन्छ ? किनकि हाम्रो जन्म भएको छ। जन्म हुँदा नै हामी फर्किने टिकट लिएर आएका हुन्छौं। कति दिन हामी यस पृथ्वीमा रहन्छौं, त्यो थाहा छैन तर एक दिन यहाँ रहनेछैनौं भन्ने कुरा निश्चित छ। त्यसैले मृत्युलाई स्वीकार गर्नुपर्छ। काम, क्रोध, लोभ, मोह, ईष्र्या र द्वेष मानवका वास्तविक शत्रु हुन्। मृत्युको आत्मबोध भयो भने यी शत्रुहरू आफैं प्रभावहीन हुँदै जान्छन्।

क्षमा

मानव जीवनमा जानी–नजानी गल्ती भइरहन्छ। हामीले एक–अर्कालाई क्षमा गरेनौं भने सम्बन्धहरू बिग्रन्छन् र अन्ततः हामी एक्लो हुन पुग्छौं। कहिलेकाहीं क्षमा गर्न गाह्रो लाग्छ तर क्षमा गरिदिँदा दुवै पक्षका लागि कल्याणकारी हुन्छ। हामीले गल्ती गरेपछि क्षमा पाउँदा राम्रो लाग्छ। त्यसरी नै अरूले पनि क्षमाको अपेक्षा गरिरहेका हुन्छन्। त्यसैले बेलाबेलामा क्षमा गर्दै जीवनयात्रा गर्नुपर्छ।

सहयोग

जसरी बेलाबेलामा हामी सहयोगको अपेक्षा गरिरहेका हुन्छौं, त्यसरी नै अरूले पनि सहयोगको अपेक्षा गरिरहेका हुन्छन्। अरूलाई सहयोग गर्नु अध्यात्मको अत्यन्त महत्त्वपूर्ण आयाम हो। सहयोगको भावनाले हाम्रो चेतनाको विकासमा पनि सकारात्मक भूमिका खेल्छ।

गुनासो

गुनासो गर्ने प्रवृत्तिले व्यक्तित्व विकासमा अवरोध सिर्जना गर्छ। यो आत्मकल्याणका लागि पनि राम्रो हुँदैन। त्यसैले सकेसम्म छिटो गुनासो गर्ने प्रवृत्तिमाथि नियन्त्रण गर्नुपर्छ। नेतृत्वकलाका लागि पनि यो कुरा महत्त्वपूर्ण छ।

करुणा

करुणाको भावना अध्यात्मको परम सूत्र हो। आन्तरिक शक्तिको विकासका लागि पनि करुणाको भाव आवश्यक हुन्छ। जसरी हामी आफ्नो परिवारप्रति करुणा राख्छौं, त्यसरी नै सबैप्रति करुणाको भाव राख्न सके मात्र यो हाम्रा लागि कल्याणकारी र शुभ हुन्छ।

अहोभाव

धन्यवादभन्दा अहोभाव धेरै उच्च भावना हो। मानिसहरू धन्यवाद दिनमा पनि कन्जुस्याइँ गर्छन्, अहोभावको त झन् कम चर्चा हुन्छ। हामीले प्रकृति र समाज सबैप्रति अहोभाव राख्नुपर्छ।

ध्यान साधना

माथिका सबै गुणहरू विकसित गर्न ध्यान साधनाको अभ्यास अत्यन्त सहयोगी हुन्छ। मोक्ष प्राप्ति र मानव जीवनको रहस्य बुझ्नका लागि पनि ध्यान साधनाको महत्त्वपूर्ण स्थान छ।

ब्रह्मसूत्र ध्यानविधि

यहाँ म एउटा धेरै उपयोगी ध्यानविधि बताउन गइरहेको छु। पाँच वर्षभन्दा माथिका सबैले यसको अभ्यास गर्न सक्छन्।

प्रातःकाल नित्यक्रियाबाट निवृत्त भएर सुखासन वा पद्मासनमा बस्नुहोस्। स्थिर भएर लगातार १४ मिनेटसम्म बसिरहनुहोस्। यस क्रममा सात मिनेटसम्म ‘ॐ’ को उच्चारण गर्नुहोस् र बाँकी सात मिनेट चुपचाप बसेर लामो तथा गहिरो श्वास लिनुहोस् र छोड्नुहोस्। अन्तमा बिस्तारै आँखा खोल्दै ध्यानबाट बाहिर आउनुहोस्।

यो ध्यानविधिको नियमित अभ्यास गरेमा करिब १४ दिनभित्र यसको सकारात्मक प्रभाव अनुभव गर्न सकिन्छ।                    

प्रकाशित: ६ असार २०८३ ०९:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App