४ चैत्र २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

अस्ट्रेलियामा ‘परान’ ले कति कमायो?

यस वर्ष नेपाली बक्स अफिसमा छलाङ मारिरहेको ‘परान’ चलचित्रले घरेलु बक्स अफिसमा मात्र नभई डायस्पोरामा समेत आफ्नो सफल प्रदर्शनलाई निरन्तरता दिएको छ।

चलचित्रले अस्ट्रेलियाको बक्स अफिसमा राम्रो व्यापारको सुरुवात गरेको छ। वितरक कम्पनी नमस्ते इन्टरटेन्मेन्टका मोति कार्कीका अनुसार अस्ट्रेलियामा रहेका नेपाली दर्शकले परानप्रति देखाएको चासो प्रशंसायोग्य छ। नमस्ते इन्टरटेन्मेन्टले ‘परान’ लाई अस्ट्रेलिया तथा न्यूजिल्याण्डमा प्रदर्शन गर्ने अधिकार पाएको छ।

कार्कीका अनुसार ‘परान’ ले अस्ट्रेलियामा रिलिजको चौथो दिन आइपुग्दा ६२ हजार अस्ट्रेलियन डलर कमाइ गरिसकेको छ। साथै ३० भन्दा बढी शोसहित अस्ट्रेलियामा प्रदर्शन भइरहेको छ।

चलचित्रका निर्माता रन्जित आचार्यका अनुसार अस्ट्रेलियाको पहिलो चार दिनको बक्स अफिसको कलेक्सनका आधारमा ‘परान’ छैंठौं स्थानमा परेको छ। अस्ट्रेलियामा ‘परान’ बलिउड र हलिउड चलचित्रहरूका बिचमा प्रदर्शन भइरहेको छ। यसरी हेर्दा ‘परान’ ले अस्ट्रेलियाको बक्स अफिसमा यो साता पार गर्दै गर्दा १ लाख अस्ट्रेलियन डलरको आम्दानी पार गर्ने आंकलन गरिएको छ।

नेपालको बक्स अफिसमा चलचित्रको कमाइ हालसम्म १४ करोड नाघेको छ। चौथो शनिबारसम्म चलचित्रले बक्स अफिसमा १४ करोड १६ लाख ५१ हजार ३९२ रुपैयाँ ग्रस कमाएको छ। चलचित्रले चौथो शनिबार पनि १ करोडभन्दा माथिको व्यापार गर्न सफल भएको थियो। चलचित्र कार्तिक १४ गतेबाट सार्वजनिक प्रदर्शनमा आएको थियो। रिलिजअघि चलचित्रलाई उच्च व्यापार गर्न सक्ने चलचित्रका रूपमा हेरिएको थिएन।

दिपकप्रसाद आचार्य निर्देशित ‘परान’ मा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पुजा चन्द, केकी अधिकारी, अन्जना बराइली, प्रबिण खतिवडा, महेश त्रिपाठी, बुद्धि तामाङ लगायतको अभिनय छ। फिल्ममा रन्जित आचार्य र शेखर गोल्छाको लगानी छ।  

प्रकाशित: १० मंसिर २०८२ १०:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App