विश्वप्रसिद्ध पप गायक तथा नर्तक माइकल ज्याक्सनको छालाको रंग परिवर्तनबारे फेरि चर्चा सुरु भएको छ। उनको जीवनमा आधारित माइकल चलचित्र चर्चामा आएपछि यस विषयमा पुराना अन्तर्वार्ताहरू पुनः सार्वजनिक हुन थालेका छन्।
विश्व संगीत क्षेत्रमा ‘किङ अफ पप’ का रूपमा परिचित माइकल ज्याक्सन आफ्नो सांगीतिक प्रतिभासँगै व्यक्तिगत जीवनका कारण पनि बेला–बेला विवादमा रहने गरेका थिए। तीमध्ये छालाको रंग परिवर्तनको विषय लामो समयसम्म चर्चामा रह्यो।
माइकल जन्मँदा उनको छालाको रंग गाढा थियो। तर समयसँगै उनी क्रमशः गोरो देखिन थालेपछि धेरैले उनले गोरो हुन ‘ब्लीच’ वा सौन्दर्यसम्बन्धी शल्यक्रिया गराएको अनुमान गरेका थिए।
तर माइकलले भने त्यस्ता आरोप अस्वीकार गरेका थिए। एक अन्तर्वार्तामा उनले मानिसहरूले सत्य नबुझी गलत कुरा फैलाउँदा आफूलाई दुःख लाग्ने बताएका थिए। उनले छालाको परिवर्तन आफ्नो नियन्त्रणभन्दा बाहिरको अवस्था भएको स्पष्ट पारेका थिए।
उनका अनुसार उनी ‘भिटलाइगो’ नामक छाला रोगबाट पीडित थिए। यो रोगमा छालामा रङ दिने मेलानिन कम हुँदै जान्छ र शरीरका विभिन्न भागमा सेता दागहरू देखिन थाल्छन्। यही कारणले आफ्नो छालाको रंगमा ठूलो परिवर्तन आएको उनले बताएका थिए।
माइकलले आफूले छाला गोरो बनाउन कुनै ‘ब्लीच’ प्रयोग नगरेको दाबी गरेका थिए। यद्यपि उनले अनुहारमा केही प्लास्टिक सर्जरी, विशेषगरी नाकसम्बन्धी शल्यक्रिया गराएको स्वीकार गरेका थिए। तर ती सर्जरीले छालाको रंग परिवर्तन नगर्ने चिकित्सकीय तथ्य रहेको बताइन्छ।
माइकल ज्याक्सनको जन्म सन् १९५८ अगस्ट २९ मा भएको थियो। उनले सन् २००९ जुनमा संसारबाट विदा लिए पनि संगीत जगतमा उनको प्रभाव आजसम्म कायम छ।
प्रकाशित: १४ वैशाख २०८३ १४:२१ सोमबार





