१) मुक्तक
जुन दिन तिम्रा समिपमा पुगेँ तिमी नै संसार लाग्यो
कसैको सुनिनँ तिम्रा हरछल असल व्यवहार लाग्यौ
आफूलाई संसारकै भाग्यमानी ठानी तिम्रो साथ दिइरहेँ
आज तिम्रो असली रूप देख्दा सम्बन्धमा अँध्यार लाग्यो।
२) मुक्तक
तिमी नै मेरो यार भन्दै संसार भुल्याउने वात मार्यौ
परिवार सबै टाढा भए ध्यान जति तिमीमा नै सार्यौ
तिम्रो प्यारमा स्वार्थी बनेँ म जीवनभरका आफ्ना भुले
अघाएर होला आजभोलि तिमीले फोनमा नै टार्यौ।
३) मुक्तक
सभाहलमा ठालुका लागि गडगडाहट ताली मागिन्छ अचेल
ताली बजाउनेका भीडभाडबाट उत्कृष्ट छानिन्छ अचेल
सान, मान र दान चाहिन्छ आजभोलि अघिपछि भीडलाई
अन्यथा भीडले एक्लो बनाई अधम भनी फ्याकिन्छ अचेल
४) मुक्तक
आमाभन्दा न्यानो पगरी अरू कुनै हुँदैन
ममताभन्दा विशाल छतरी अरू कुनै हुँदैन
कुनै बाधाअड्चन आउँदैन आमाको साथमा
आमाभन्दा ठुलो पहरेदार प्रहरी अरू कुनै हुँदैन।
५) मुक्तक
चाह त तिम्रो मलाई हराउने थियो तर आफैँ हार्यौ
महत्त्व नबुझ्दा सङ्घारमा आएको अवसरलाई टार्याैं
आफ्नो प्राप्तिका लागिभन्दा अरुको खोस्न व्यस्त हुँदा
ओठमा पुगेको गाँसलाई माया अचेतमै भुँइमा झार्यौ।
६) मुक्तक
पाल्ने निहुँमा निरीह प्राणीलाई बन्दनमा पार्छन्
तिनका वेदनालाई मालिक मनोरञ्जनमा टार्छन्
स्वतन्त्र बाच्न पाउने अधिकारलाई कुठाराघात गर्दा
विचरा सहारा नपाएपछि अकालमा नै ज्यान मार्छन्।
७) मुक्तक
सधैँ नयाँ दिनको कल्पना गर्दै उठ्छु म
सपना पूर्ति गर्न निरन्तर कर्ममा जुट्छु म
आज लडे भोलि अवश्य उठिन्छ भन्ने आशले
लक्ष्यलाई पछ्यौउँदै एकनासले कुदछु म।
८) मुक्तक
आफ्ना कुरा लुकाएर अरूको अन्तर्वार्ता लिन्छन् यहाँ
हितैषीको नाटक रच्नेसँग सारा गोप्य बहकिन्छन् यहाँ
तिनीहरूले गलत प्रयोग गरेर छाडेपछि जीवन रित्तिएझैँ
वास्तविक हितैषीहरूलाई सम्झेर निस्सासिन्छन् यहाँ।
९) मुक्तक
कहिल्यै विश्वास गर्दैनौ तिमी घाटी काटेर दिए पनि
लपक्कै हुन्छौ उता तिनले जति हुर्मत लिए पनि
भिरबाट लड्नेलाई रामराम मात्र काँध थाप्न सकिँदैन
रोक्ने छैन मैले तिमीलाई सिङ्गै बोतल नै पिए पनि।
१०) मुक्तक
बोलाउँदैमा तर्सन्छन् कोही सहयोग माग्ला भनी पर सर्छन्
खिस्स मुस्कानको अभिनय गर्दै कोही सुटुक्क आँखा तर्छन्
जिउँदोमा कुशलताको कामना छोडी उछित्तो काट्नेले पनि
मरेपछि दुनियाँका सामु शुभचिन्तकझै निकै प्रशंसा गर्छन्।
प्रकाशित: ५ मंसिर २०८२ ०८:३८ शुक्रबार





