२१ चैत्र २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

शोक र सिर्जना

सामयिकी

मोबाइलमा घन्टी बज्यो। हेरेँ, स्क्रिनमा डा. रामदयाल राकेशको नाम देखियो। मैले उनलाई नमस्कार भन्न नपाउँदै उनले एकोहोरो बोले– ‘एक पटक भेटौं न!’

उनी कान कम सुन्छन्, त्यसैले मेरो प्रतिक्रिया सुन्नुको कुनै अर्थ नराख्दै भेट गर्ने एउटा निश्चित ठाउँ र समय तोके।

धेरै समय भएको थिएन, पछिल्लो समय उनलाई भेटेको तर पनि फोन गरेरै भेटघाट गर्नुपर्ने त्यस्तो के जरुरी पर्‍यो होला? मनमा खुलदुली बढ्यो।    

भोलिपल्ट तोकिएको समयमा फेरि फोन आयो - ‘खोई त आउनुभएन?’ म केही ढिलो गरेर पुगेँ। उनी प्रतीक्षारत आफ्नै स्वभावमा पत्रिका पढेर बसिरहेका थिए।

सधैंको भन्दा भिन्न उनको केही मलिन अनुहारको अनुभूति गर्दै सामु बसेर सोधेँ– ‘के छ डाक्साब, तपाईंको हालखबर?’

‘मेरो हालखबर? तपाईंलाई थाहा छैन ?’

अप्रत्याशित उनको प्रतिप्रश्नले म जिल्ल परेँ। अझ आश्चर्य त के लाग्यो भने उनका आँखा रसाएका देखिए। त्यसैले उनलाई केही सोध्न खोज्दै थिएँ, उनी तत्कालै बोले– ‘मेरी श्रीमती बितिन् नि!’

‘हो र!’ नचाहेरै पनि मैले विश्वास गर्नुपर्‍यो।

राकेश बोल्दै गए– ‘सात दशकभन्दा लामो सहयात्रा टुङ्गियो नि!’

म सुन्दै रहेँ, उनी विगततिर फर्किए– ‘सात क्लासमा पढ्थ्यौं हामी एउटै स्कुलमा। हाम्रो बिहे भयो। त्यतिबेला बाह्र–तेह्र वर्षको थिएँ म।’

८३ वर्षको उमेरमा दिवङ्गत भएकी आफ्नी श्रीमतीले अन्तिम–अन्तिम समयमा भनेको वाक्य दोहोर्‍याउँछन्– ‘मलाई मार्दिनुस् बरु!’

‘उनले यस्तो किन भनेकी होलिन्?’ मेरो जिज्ञासा। राकेश बोले - ‘उनलाई धेरै किसिमको रोग थियो, सबैभन्दा बढी दमले सताएको थियो। डाइबिटिज थियो। पछिल्लो समयमा मुखमा खटिरा आएकाले खाना खान मुस्किल थियो।’

उनी अझै भन्दै गए -‘रातमा निदाउन कठिन थियो उनलाई, खोकिरहन्थिन्  तर मलाई यति प्रेम गर्थिन् कि लेखपढ गरिरहने मलाई आफ्नो कारणले डिस्टर्ब भयो भनेर चिन्ता व्यक्त गरिरहन्थिन्।’

जब वर्तमान समयको प्रसङ्ग आयो, राकेशको गला अवरुद्ध भयो। ‘के गरूँ म? उनको यादले बढी नै सताउँछ।’

मैले सहानुभूतिका औपचारिक शब्दले उनको सन्तापलाई लेप लगाउन खोजेँ– ‘डाक्साब, उहाँको त्यो उमेरमा शारीरिक दुःखबाट उहाँले मुक्ति पाउनुभयो। यो प्राकृतिक नियमलाई स्वीकार गर्नुबाहेक अर्को विकल्प पनि त छैन!’

‘हो, म पनि यस्तो दुःखमा पर्नेहरूलाई यस्तै, तपाईंले भने जस्तै सम्झाउने गर्थें। तर हेर्नुस् त, आफूलाई परेपछि थाहा हुँदो रहेछ। आफ्नो जीवनसँगिनीबिना यो उमेरमा बाँच्न कति कठिन हुँदो रहेछ!’

उनको मन बुझाउने कोसिस गरेँ -‘तपाईं यत्तिको साहित्यिक मान्छे, मनको पीडालाई कागजका पन्नामा उतारेर आफूलाई हलुका पार्न सक्नुहुन्छ। सोच्नोस् त, साहित्य नजानेको मान्छेको जीवनमा पनि त स्वाभाविक रूपले यस्तो घटना आइपरिराखेको हुन्छ। त्यस्ता मान्छेहरू आफ्नो पीडाबाट झन् कसरी उम्किँदा हुन्?’

उनले एकछिन गम खाए, ‘हुन त हो! तर, भन्न त सजिलो छ, व्यवहारमा यस्तो पीडाबाट उम्कन कठिन हुँदो रहेछ। प्रत्येक पल उसको यादले छाड्दैन। भान्सामा, बैठकमा, शयनकक्षमा, जतासुकै। साँझपख एकसाथ इभिनिङवाक गर्ने साथ छुटेको छ। आफ्नो रोगलाई भन्दा बढी मेरो स्वास्थ्यप्रति ध्यान दिने सहधर्मिणीको हात छुटेको छ।’

उनी एकछिन चुप भए र फेरि बोले - ‘तपाईंलाई थाहै छ, मेरो छातीमा पेसमेकर राखिएको छ। यही कारणले उनले सोचेकी थिइन् कि उनीभन्दा पहिले मैले मृत्यवरण गर्छु तर नियति अर्कै भयो। उनी पहिले गइन् र म एक्लो भएँ। थाहा छैन, अबका दिन उनीबिना म कसरी काटुँला!’

म सोच्नमग्न भएँ राकेशका भावविह्वल कुरा सुनेर। आफैंलाई सोधेँ– प्रेमको साँचो परिभाषा खोज्न यहाँभन्दा पर पुग्ने ठाउँ कहीं होला? तर, अर्कोतिर फेरि अर्कै खालको प्रश्न मेरो मनमा उब्जियो– के यो निःस्वार्थ प्रेम हो? हो भने राकेश किन एक्लो हुनुको दुःख मनाउ गर्दै छन्? श्रीमतीको अनुपस्थितिले आफूलाई दुःखित तुल्याउनुको अर्थ कदाचित् तिनको उपस्थितिचाहिँ आफ्नो खुसी हो भन्ने बुझिन्न र? अर्थात् आफ्नो खुसीका लागि उनले कसैको (आफ्नी श्रीमतीको) उपस्थिति चाहिराखेका छन्। यस अर्थमा राकेश स्वार्थी देखिन्छन्। म चाहन्छु, प्रेम–प्रसङ्गमा उनी स्वार्थी बन्नु हुन्न। वास्तवमा प्रेम भनेको त्याग हो। साँच्चो प्रेमका लागि त्याग गर्न सक्नु नै महानता हो। यो महानता राकेशबाट अपेक्षा गर्न सकिन्छ।

संयोग, आफ्नी दिवङ्गत श्रीमतीको वियोगमा उनी सहयात्राका सात दशकलाई स्मृतिविम्बका रूपमा एउटा किताब लेखिरहेका छन्। त्यसो त, नेपाली साहित्यमा वियोगका कथा–व्यथाहरू धेरै लेखिएका छन्। कसैले आफ्नी आमासँगको, कसैले बाबुसँगको, कसैले दाजु या दिदीसँगको अथवा कसैले आफ्नो अभिन्न साथीसँगको सङ्गत/सहयात्रालाई पुस्तकाकारमा प्रकाशन गरेको पाइन्छ।

स्मरणीय छ, राष्ट्रकवि माधव घिमिरेले आफ्नी पत्नी गौरीको निधनपश्चात् एउटा काव्यकै निर्माण गरे, जुन ‘गौरी’को नामले नेपाली साहित्यका पाठकमाझ प्रसिद्धि कमाएको छ। शोकलाई सिर्जनामा बदल्ने सक्ने शक्ति सर्जकहरूमा बढी नै हुन्छ भन्ने उदाहरण हो यो। जसले मरेर जानेको स्मृतिलाई जिउँदो त राख्छ नै, त्यो स्मृति–शब्दहरूले पढ्नेलाई सहजतापूर्वक बाँच्ने प्रेरणा प्रदान गर्छ।

उपर्युक्त दृष्टिकोणले हेर्दा मृत्यु भएका मान्छेको खास गरेर तस्बिरमा फूलको माला लगाएर अथवा त्योभन्दा अघि बढेर मृतकको मूर्ति (सालिक) स्थापना गर्नुको सट्टा तीसँग सम्बन्धित यस्ता स्मृतिका किताबहरू प्रकाशन गर्न सकिए पक्कै पनि त्यो सबैभन्दा महत्त्वपूर्ण उपलब्धि हुन सक्छ।

हुन पनि वर्तमान समयमा यस्ता यथार्थपरक वस्तु (किताबहरू) को अत्यन्तै खाँचो छ। किनकि आजको जीवन पूर्णतः सतही बनेको छ। सबैलाई, खास गरेर युवाजगत्मा बढी कल्पनामा जिउने बानी परेको छ। यस हिसाबले मृतकको मात्रै होइन, मृतकसँग जोडिएका महत्त्वपूर्ण विषयवस्तुहरू, जुन परिवारको दायराभन्दा बाहिर समाज, राष्ट्र, अन्तराष्ट्र र समष्टिमा सम्पूर्ण मानव समुदायका लागि लाभदायक हुन्छन्। यस प्रसङ्गमा विश्वासपूर्वक भन्न सकिन्छ– खास गरेर आफ्नो शोकलाई सिर्जनामा बदलेको किताब अवश्यै फलदायी हुन्छ।

प्रकाशित: २१ चैत्र २०८२ ०७:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App