बलिउड अभिनेता गोविन्दा र उनकी पत्नी सुनिता आहुजाको सम्बन्धविच्छेदको खबरले सामाजिक सञ्जालमा निकै चर्चा पायो। सुनिताले आफ्नो युट्युब भ्लगमा सम्बन्धविच्छेदको हल्लालाई सम्बोधन गरेपछि यो विषयले थप चर्चा पाएको थियो।
तर उनकी छोरी टीना आहुजाले यी खबरहरू ‘सबै अफवाह’ भएको बताएकी छन्। उनी भन्छिन्, ‘म यस्ता अफवाहमा ध्यान दिँन्न।’ आफ्ना बाबुआमाको सम्बन्धबारे उनले भनिन्, ‘मलाई आफ्नो सुन्दर परिवारप्रति गर्व छ र मिडिया, प्रशंसक र शुभचिन्तकबाट पाएको माया र समर्थनप्रति कृतज्ञ छु।’
सञ्चारमाध्यममा यो हल्ला फैलिरहँदा गोविन्दा शुक्रबार साँझ मुम्बई अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रामा निस्किएको देखिए। उनी सेतो पोशाकमा सजिएका र तनावमुक्त देखिन्थे।
रिपोर्टअनुसार सुनिताले गत डिसेम्बर ५, २०२४ मा बान्द्रा परिवार अदालतमा सम्बन्धविच्छेदको निवेदन दिएकी थिइन्।
उनले हिन्दू विवाह ऐन, १९५५ को धारा १३(१) अन्तर्गत व्यभिचार, क्रूरता र परित्यागको आधारमा मुद्दा दायर गरेकी थिइन्। अदालतले गोविन्दालाई बोलाए पनि मे २०२५ सम्म उनी उपस्थित भएनन्। जुन २०२५ देखि उनीहरू अदालतको आदेशअनुसार परामर्शमा छन्। सुनिताले सुनुवाइमा भाग लिए पनि गोविन्दाले व्यक्तिगत रूपमा वा भर्चुअल रूपमा उपस्थित भएको स्पष्ट छैन।
गोविन्दाका वकिल ललित बिन्दलले फेब्रुअरी २०२५ मा सुनिताले छ महिना अघि सम्बन्धविच्छेदको निवेदन दिएकी थिइन् भनेका थिए। तर अहिले उनीहरूको सम्बन्ध सुध्रिएको र ‘सधैं सँगै रहने’ बताएका थिए। सुनिताले पनि अप्रिल २०२५ मा अफवाहहरूलाई खारेज गर्दै भनेकी थिइन्, ‘जबसम्म हामी आफैंले केही भन्दैनौं, कुनै पनि खबरमा प्रतिक्रिया नदिनु।’
गोविन्दाले सन् १९८७ मा सुनिता आहुजासँग विवाह गरेका थिए। उनीहरूका दुई सन्तान टीना (छोरी) र यशवर्धन (छोरा) छन्।
प्रकाशित: ७ भाद्र २०८२ ११:५७ शनिबार





