२ आश्विन २०८३ शुक्रबार
image/svg+xml
कला/साहित्य

‘गोंधळ’ ओस्कार २०२७ मा पुग्यो: कस्तो कथाले ३३ फिल्मलाई जित्यो

फिल्म ‘गोंधळ’ ओस्कार २०२७ को उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा भारतबाट छनोट भएको छ।

सन्तोष दवाखर निर्देशित ‘गोंधळ’लाई ९९औँ एकेडेमी अवार्डका लागि भारतबाट पठाउने निर्णय भएको फिल्म फेडरेसन अफ इन्डियाले जनाएको छ । शुक्रबारको घोषणासभामा ३३ फिल्ममध्येबाट ‘गोंधळ’ छनोट भएको हो ।

महाराष्ट्रको परम्परागत गोंधळ धार्मिक तथा लोक–प्रदर्शन परम्परामा आधारित यो फिल्मले यसअघि पनि अन्तर्राष्ट्रिय सम्मान पाइसकेको छ। निर्देशक दवाखरले सन् २०२५ मा आयोजित ५६औँ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल अफ इन्डियामा उत्कृष्ट निर्देशक गर्दै सिल्भर पिकक पुरस्कार पनि जितेका थिए।

फिल्ममा मध्यरातमा आयोजना गरिने परम्परागत गोंधळ अनुष्ठानको पृष्ठभूमि प्रस्तुत गरिएको छ, जहाँ संगीत, नृत्य, पौराणिक कथा र धार्मिक विषयलाई उचित रुपमा प्रस्तुत गरिएको छ । 

फिल्मकी मुख्य पात्र सुमन एक धनी व्यक्ति आनन्दसँग विवाह बन्धनमा बाँधिन्छिन् । तर उनी त्यो बन्धनमा सन्तुष्ट हुन्नन् । उनी गोंधळी कलाकार साहेबासँग प्रेममा पर्छिन् र आफ्नो वैवाहिक जीवनबाट बाहिरिने बाटो खोज्न थाल्छिन्। त्यसपछि भाग्ने प्रयास हत्या, छल, इच्छा र अस्तित्वका लागि संघर्षमा परिणत हुन्छ।

फिल्ममा इशिता देशमुखले सुमनको भूमिका निर्वाह गरेकी छन्। साथै किशोर कदम, योगेश सोहोनी, निशाद भोइर र अनुज प्रभुलगायत कलाकारको अभिनय छ। यो फिल्म १४ नोभेम्बर २०२५मा प्रर्दशनमा आएको थियो।

प्रकाशित: २ आश्विन २०८३ १८:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App