बलिउड अभिनेता अक्षय कुमार र सैफ अली खान फेरि ठूलो पर्दामा सँगै देखिएका छन्। यी दुवै नयाँ चलचित्र ‘हैवान’ मा १८ वर्षपछि एकसाथ देखिएका छन्।
शुक्रबारदेखि सिनेमाघरमा आएको ‘हैवान’ अघि यी दुई कलाकारले कुल ६ वटा चलचित्रमा सँगै काम गरेका छन्।। यो सहकार्य भने उनको ७ औँ हो। कहिले उनीहरू दाजुभाइ बनेर देखिए भने कहिले प्रहरी र अपराधीको भूमिकामा। उनीहरूको जोडीले बलिउडलाई दुई ठूला हिट चलचित्र समेत दिएको छ भने केही फिल्मले बक्स अफिसमा खासै प्रभाव पार्न सकेनन्। आउनुहोस्, ती ६ चलचित्रबारे जानौँ।
अक्षय र सैफ पहिलोपटक सन् १९९४ मा ‘ये दिल्लगी’ माफर्त सँगै देखिए। यसमा दुवैले दाजुभाइको भूमिका निभाएका थिए। करिब दुई करोड भारुमा निर्माण भएको यो चलचित्रले दर्शकको माया राम्रो पायो यसले विश्वव्यापी करिब १०.७० करोड भारुको कमाइ गर्यो।
‘ये दिल्लगी’ पछि सोही वर्ष अक्षय र सैफको अर्को चलचित्र ‘मैं खिलाड़ी तू अनाड़ी’ प्रदर्शनमा आयो। यसमा अक्षय कुमारले प्रहरी अधिकारीको भूमिका निभाएका थिए भने सैफ चलचित्रमा अभिनेताको भूमिकामा देखिएका थिए। प्रहरी र अभिनेताबीचको मित्रता, एक्सन र कमेडी चलचित्रको विषयवस्तु थियो। करिब ३.२० करोड भारुमा निर्माण भएको यो चलचित्रले विश्वव्यापी करिब १३.८४ करोड भारु कमायो।
त्यसको दुई वर्षपछि, १९९६ मा अक्षय र सैफ ‘तू चोर मैं सिपाही’ मा सँगै देखिए। चलचित्र तब्बू र प्रतिभा सिन्हालगायतका कलाकार पनि थिए। यसको कथा एक प्रहरी अधिकारी र चोरको वरिपरि घुम्छ। उनीहरूबीच निरन्तर टकराव हुन्छ, तर परिस्थितिले उनीहरूलाई एकअर्काको साथ दिन बाध्य बनाउँछ। यो चलचित्र पनि बक्स अफिसमा हिट रह्यो।
१९९८ मा अक्षय र सैफ ‘कीमत–दे आर ब्याक’ मा सँगै देखिए। चलचित्रमा रवीना टन्डन र सोनाली बेन्द्रे पनि मुख्य भूमिकामा थिए। ४ करोडको लागतमा बनेको यो चलचित्रले भने बक्स अफिसमा खासै प्रभाव पार्न सकेन।
अर्को १९९९ मा अक्षय र सैफ ‘आरजू’ मा सँगै देखिए। माधुरी दीक्षित मुख्य भूमिकामा रहेको यो चलचित्र प्रेम त्रिकोणमा आधारित थियो। यसको कथा प्रेम, त्याग र सम्बन्धमा आउने द्वन्द्व मुख्य विषय थियो। ८ करोड भारुमा बनेको यो चलचित्र भने बक्स अफिसमा फ्लप साबित भयो। यसले विश्वव्यापी ११. ७७ करोड भारुको कमाइ ग्यो।
अक्षय कुमार र सैफ अली खानको त्यसबेलाको अन्तिम संयुक्त फिल्म ‘टशन’ थियो। २००८ मा रिलिज भएको यस फिल्मपछि दुवै कलाकार करिब १८ वर्षसम्म ठूलो पर्दामा सँगै देखिएनन्। यो चलचित्रले पनि बक्स अफिसमा खासै अपेक्षाअनुसार कलेक्सन गर्न सकेन। करिब ३१ करोड भारुमा बनेको यो चलचित्रले भने विश्वव्यापी कमाइ करिब ५१.६० करोड मात्र कलेक्सन गर्न सक्यो।
यो पटक भने यी दुई अभिनेता करिब १८ वर्षपछि सँगै देखिएका छन्। तर यसपटक उनीहरूको जोडी पहिलेभन्दा निकै फरक अवतारमा छन्। ‘हैवान’ मा सैफको मुख्य भूमिकामा छन् भने अक्षय कुमार खतरनाक र नकारात्मक पात्रको भूमिकामा देखिएका छन्।
प्रकाशित: २६ भाद्र २०८३ १८:२९ शुक्रबार





