पछिल्लो समय चलचित्रकर्मीहरूको नाम र तस्बिर दुरुपयोग गरेर सामाजिक सञ्जालमा ठगीका घटना बढेका छन्। यसलाई मध्यनजर गर्दै चलचित्र विकास बोर्डले सचेत रहन भन्दै कलाकारका नाममा सूचना जारी गरेको छ।
शुक्रबार अभिनेता अनमोल केसीले आफ्नो नाम र तस्बिर प्रयोग गरेर नक्कली नम्बरबाट आफन्त र साथीहरूसँग पैसा मागिएको स्क्रिनसट सार्वजनिक गरेका थिए। अनमोलले यो घटना आफैँ जानकारी दिँदै कसैलाई पैसा नदिन र नम्बर ब्लक गर्न आग्रह गर्नुपरेको थियो।
उनीसँगै धीरज मगर, आकाश श्रेष्ठ, केकी अधिकारी, स्वस्तिमा खड्का, रिमा विश्वकर्मासहितका कलाकारले आफ्नो नाम र फोटो दुरुपयोग गरेर रकम मागिएको गुनासो गरेका थिए। उनीहरूले फ्यान र आफन्तजनलाई सचेत रहन आग्रह गरेका थिए ।
यी घटनापछि बोर्डले सबै चलचित्रकर्मीलाई आफ्नो सामाजिक सञ्जालको पासवर्ड बलियो बनाउन र दुई चरणको प्रमाणीकरण अनिवार्य प्रयोग गर्न भनेको हो।
प्रकाशित: १३ पुस २०८२ १२:३३ आइतबार





