हिउँदका कठ्याङ्ग्रिँदा चिसा रात, सुदूरपश्चिमका पहाडी गाउँबस्तीहरूमा एउटा छुट्टै रौनक र आत्मीय सुगन्ध लिएर आउँथ्यो। जब गाउँमा ‘साँझ, पर्दथ्यो, अर्थात् सन्ध्याकालको छायाँ छिप्पिँदै जान्थ्यो, घरघरका अगेनामा धुवाउँदै आगो बालिन्थ्यो।
घरका महिलाहरू छिटोछिटो खाना बनाउने कार्यमा खटिन्थे। खाना खाएपछि आगोको न्यानो “आँच नजिक ज्येष्ठ नागरिकहरू बस्दथे। उनीहरूलाई वरिपरि नातिनातिनीहरूले एउटा अटुट घेरामा बेर्दथे। ती अबोध आँखा र जिज्ञासु मनहरूको एउटै मधुर आग्रह हुन्थ्यो, “हजुरबुबा, आज एउटा कथा हालिदिनुस्”, वा “हजुरआमा, आज कुनै डर लाग्ने वा अचम्मको कहानी सुनाउनुस्।”
त्यसपछि सुरु हुन्थ्यो लोककथा हाल्ने एउटा यस्तो अटुट सिलसिला, जसले रातको सन्नाटा मात्र चिर्दैनथ्यो, बरु सुन्नेहरूको मानसपटलमा एउटा नयाँ संसारको सृष्टि गरिदिन्थ्यो। कथा वाचन गर्ने ती ज्येष्ठ नागरिकहरू आफ्नो बोलीको लय मिलाउँदै, कहिले पात्रसँगै आफूलाई जोडेर भावुक बन्थे भने कहिले आँखाबाट आँसु झार्दै कथाको गहिराइ र पात्रको पीडा महसुस गराउँथे।
कथाको बीचबीचमा कथाको प्रसङ्गमै रहेर भावुक ‘देउडा’ वा ‘झ्याउरे’ का टुक्राहरू हालेर भाव व्यक्त गर्दथे भने कहिले कौतुहल जाग्ने गरी कथा भन्थे, जसबाट केटाकेटीहरू कहिले डरले आँखा चिम्लिन्थे त कहिले ‘कुन्नि अब के हुन्छ’ के हुने हो भन्दै कथाको काल्पनिक सागरमा पौडिन्थे।
“ती कुराहरू झलझल्ती सम्झिँदा पुराना बालापनका दिनहरू फिर्ता भैदिएझैं लाग्छ”, श्रीकृष्ण माध्यमिक विद्यालयका शिक्षक वीरेन्द्रविक्रम सिंह भन्छन्, “समय बदलिँदै जाँदा ती बालापनका यादहरू सम्झनामा मात्र सीमित गरिदिएको छ, अगेनाको आगो विस्तारै निभेझैँ गरी सुदूरपश्चिमका ती अनमोल लोककथाहरू पनि धुवाँझैँ हराउँदै छन्।”
डोटी, अछाम, बैतडी, डडेल्धुरा, दार्चुला, बाजुरा, बझाङ, कैलाली र कञ्चनपुर क्षेत्रमा बोलिने डोटेली र थारु भाषाहरूमा कथा ‘हाल्ने’ परम्परा थियो। “यी कथाहरू कुनै आधुनिक पुस्तकालयका किताबमा अक्षरका रूपमा कोरिएका थिएनन्”, शिक्षक सिंह भन्छन्, “बरु ‘बाजेबज्यै’ बाट ‘नातिनातिनी’ सम्म मुखैमुख सर्दै आएका अलिखित इतिहास थिए।”
उनका अनुसार सुदूरपश्चिमका लोककथाहरू विभिन्न धारामा फैलिएका छन्। यसले यहाँको सामाजिक बनावट, धार्मिक आस्था र मानिसहरूको सङ्घर्षमय जीवन प्रतिनिधित्व गर्दछन्।
सुदूरपश्चिम क्षेत्रलाई ‘देवभूमि’ पनि भनिन्छ, यहाँ ‘मष्टो’, ‘निङ्गलाशैनी’ सिद्धनाथ, वैजनाथ, सशस्त्र लिङ्ग वीरवेताल, ‘भागेश्वर’, उग्रतारा, ‘शैलेश्वरी’ र ‘मालिकार्जुन’ का दैवी कथाहरू गाउँगाउँमा सुनिन्छन्। डोटेली भाषामा यस्ता कथालाई ‘चैत’ भनिन्छ, जहाँ देवताहरू अन्याय सहँदैनन्, ‘धामी’ मार्फत सत्य ओकल्छन् र सधैं गरिब एवं दुःखीको संरक्षकका रूपमा उभिन्छन् भन्ने विश्वास छ। यसमै आधारित भएका लोककथाहरूले समाजमा न्याय, नैतिकता र आध्यात्मिक अनुशासनको एउटा बलियो जग बसालेका थिए।
वीरगाथाहरूको सन्दर्भमा कत्युरी र मल्ल राजाहरूको बहादुरी, रणकौशल र उनीहरूले राज्य संरक्षणका लागि गरेका बलिदानहरूको बखान गरिन्छ। तराईका कैलाली र कञ्चनपुरका चौधरी, डङ्गौरा थारु समुदायमा ससाना लोककथालाई ‘खिस्सा’ र ठूला एवं लामा कथालाई ‘बटकोही’ भन्ने गरिन्छ।
यस्ता कथाहरूमा बाघ, बाँदर, चराचुरुङ्गीहरू र फूल पुतलीहरू मानिससरह बोल्ने र संवाद गर्ने पात्र बन्दछन्। यसले प्रकृति र मानव जातिबीचको अटुट र संवेदनात्मक सम्बन्ध दर्साउँछ।
डोटेली लोककथामा भूतप्रेत, देवीदेवता, राजारानी, पौरखशाली पुरुष, चतुर किसानका कथा यति प्रशस्त थिए कि तिनले बालबालिकालाई साहस, सतर्कता र चतुराइको व्यावहारिक शिक्षा दिन्थे। गरिबले आफ्नो तीव्र बुद्धि प्रयोग गरेर सामन्ती साहु हराएको वा समस्याबाट मुक्त भएको कथा सुन्दा ग्रामीण बालबालिकाहरूमा आत्मविश्वास र न्यायप्रतिको विश्वास जाग्दथ्यो।
लोककथाहरू वास्तवमा सुदूरपश्चिमी समाजको ऐनाका रूपमा रहेका छन। “जुन समयमा न्यायिक निकाय थिएनन्, लिखित कानुनहरू आम मानिसको पहुँचभन्दा टाढा थिए, त्यसबेला ‘देवन्याय’ मा मानिसहरूको अटुट विश्वास थियो”, सामाजिक अगुवा शेरबहादुर साउदले भने, “कथामा झुटो बोल्नेले ‘देवको रिस’ भोगेको र सत्यको बाटो हिँड्नेले अन्ततः सुख र मोक्ष पाएको प्रसङ्गले मानिसहरूलाई ‘डर र धर्म’ दुवैको सीमाभित्र बस्न प्रेरित गर्थ्याे।”
उनका अनुसार, खेतीपाती, गोठालो, वनजङ्गल, घाँस दाउरा र मेलापात नै यी कथाका जीवन्त परिवेश हुन्थे।
कथाले समुदायभित्रको प्रगाढ मेलमिलाप र कहिलेकाहीँ जातीय विभेद्का तीता यथार्थहरू पनि सूक्ष्म रूपमा उजागर गर्थ्याे। “पहिले साँझपख कथा सुन्ने बहानामा छरछिमेकीहरू अगेना वरिपरि भेला हुन्थे, जसले ‘साझा जीवन’ र सामुदायिक एकताको भावना बलियो बनाएको थियो”, उनी अगाडि भन्छन्, “जब आधुनिकताको लहर चल्न थाल्यो, पहिले रेडियोको स्वरले कथाको ठाउँ लियो, त्यसपछि टेलिभिजनको पर्दाले अगेनाको त्यो न्यानो जमघट विस्थापित गरिदियो, अहिलेको मोबाइल, इन्टरनेट र सामाजिक सञ्जालको डिजिटल युगमा बालबालिकाको ध्यान पूर्ण रूपमा भर्चुअल संसारले कब्जा गरेको छ।”
आजका बालबालिकालाई पुराना लोककथाहरू ‘लामो’ र ‘बोरिङ’ लाग्छन् किनकि युट्युब र टिकटकका सङ्क्षिप्त र कृत्रिम मनोरञ्जनले उनीहरूको धैर्य र कल्पनाशीलता साँघुरो बनाइदिएको छ। लोककथा सुन्न र त्यसको रस लिन धैर्य चाहिन्छ र सुनाउन विशेष कला चाहिन्छ, जुन अहिलेको व्यस्त समाजमा हराउँदै गएको छ।
पहाडी समुदायमा हिउँदका बेला अगेना वरिपरि बसेर बूढापाकाहरूलाई कथा भन्न कर गर्ने बालबालिका मात्र हुँदैनथे, घरका र छिमेकका अन्य महिला–पुरुष पनि निकै चासोका साथ भेला हुन्थे। ती कथाहरूमा राजारानीको वैश र वैभव, भूतप्रेतको त्रास, लडाकुहरूको वीरता र जादु–मन्त्रका रहस्यमयी प्रसङ्गहरू बढी हुन्थे। यसमा किड्के दानव, विजयालोणि, शित वसन्त, भुज्या मूल्या, बूढी र चलाख स्याल, बूढाबूढी, भोगे राकस, मधुमालती, सर समिर, देवावेटी, हिरालाल, राजा रतन सिंह, दुधलाला, कलसा र रस्वाकोषेडीका सात चेला जस्ता पात्र र कथाहरू निकै प्रचलनमा थिए। कथाको बीचमा गाउँखाने कथा पनि भन्ने गरिन्थ्यो। गाउँखाने कथाको जवाफ नदिएपछि गाउँ दिनुपर्दथ्यो। त्यसपछि मात्रै त्यसको उत्तर दिने गरिन्थ्यो।
पहाडबाट सुविधा र सहजता खोज्दै तराई झर्ने क्रमसँगै यी कथाहरू पनि भौगोलिक बसाइँसराइको चपेटामा परेर ओझेलमा परे। ६७ वर्षीय जयबहादुर ऐरको अनुभवमा अहिले ती कथा पहिला जस्तो कर गर्नेहरू पनि छैनन् र सुनाउने बूढापाकाहरू पनि बाँकी रहेनन्। “कथा भन्नेहरूले यति रोमाञ्चक र सुरिलो भाखामा कथाको बीचमा गीतहरू गाउँदै प्रस्तुति दिन्थे कि सुन्नेहरू मन्त्रमुग्ध भएर रात बितेको पत्तै पाउँदैनथे”, ऐर भन्छन्।
तराईमा पहिला मकै धेरै लगाउने चलन थियो तर अहिले आधुनिक र ‘हाइब्रिड’ जातको बढी प्रतिफल दिने अन्य खेती हुन थालेपछि पुरानो मकै खेतीसँगै त्यसबेलाका लोक संस्कृति पनि हराउँदै छन्। भदौ–असोजको महिना मकै तोडेर घरमा भित्र्याउने बेला थारु समुदायमा मकैको खोस्टा र दाना छुटाउने कार्य रातिका बेला गरिन्थ्यो, जुन समयलाई सदुपयोग गर्दै बूढापाकाहरूबाट कथा सुन्ने सुनाउने गरिन्थो।
स्थानीय नरेन्द्रप्रसाद चौधरीका मर्मस्पर्शी शब्दहरूमा भन्नुपर्दा मकै छुटाउने शारीरिक श्रमसँगै रातभरि कथा भनिदा कामको थकाइ कतिखेर मेटिन्थ्यो, पत्तै हुँदैनथ्यो। कहिलेकाहीँ त एउटै कथा रातभरभन्दा पनि सकिँदैनथ्यो र बीचमा भावुक गीतहरू गाउँदै कथा भन्नेहरूबीच दोहोरी नै चल्दथ्यो। रानी सरङ्गा, हितुवा राजा, सतलसिंह राजा, बेंगटुरिया रानी, फूल जोख्नी, र बढैया और लुहार जस्ता कथाहरू सुन्न मानिसहरूमा जुन कौतुहल र उत्साह हुन्थ्यो, त्यो आजको कुनै पनि महँगो चलचित्रले दिन नसक्ने चौधरीले बताए।
स्थानीय वीरबहादुर चौधरी भावुक हुँदै भन्छन्, “त्यसबेलाको समय र परिवेश नै बेग्लै थियो, मानिसमा आत्मीय थियो, अहिले न त सुनाउनेहरू रहे, न त नयाँ पुस्तामा आफ्नो पुर्खाको इतिहास सुन्ने चासो नै रह्यो।”
अलिखित र केवल मौखिक स्मृतिमा रहेका यी कथाहरू बूढापाकाहरू अस्ताएसँगै सधैंका लागि लोप हुँदै गएको उनी उल्लेख गर्छन्।
राना थारु समुदायमा पनि यो कथा वाचनको चलन पूर्ण रूपमा हराउँदै गएकामा शुक्लाफाँटा नगरपालिका–६ कसरौलका निवर्तमान वडाध्यक्ष जगता राना चिन्ता व्यक्त गर्छन्। उनका अनुसार यी कथाहरूले मनोरञ्जन मात्र दिँदैनथे, बरु सामाजिक मेलमिलाप, नैतिकता र ‘खराब कामको नतिजा नराम्रो र राम्रो कामको नतिजा सधैँ सुखद् हुन्छ’ भन्ने गहिरो पाठ सिकाउँथे। त्यसैको प्रभावले गर्दा गाउँमा चोरीचकारी र झगडा कम हुन्थ्यो र विकासका काममा मानिसहरू स्वतःस्फूर्त श्रमदान गर्न तयार हुन्थे।
पहिले खेतमा धानको रोपाइँ सकिएपछि जब मानिसहरू फुर्सदिला बन्थे, राना थारु गाउँका कुनै एक भलमन्सा वा मानिएको व्यक्तिको घरमा साँझपख भेला भएर कथा सुन्ने एउटा संस्कार नै थियो। सबैले आआफ्नो घरबाट चारपाई अर्थात् खटिया बोकेर ल्याउँथे र आँगनमा लहरै बिछ्याएर बस्दथे। कथा भन्ने व्यक्तिलाई चारैतिरबाट घेरेर सुन्ने र पालैपालो हुक्का तान्दै छलफल गर्ने त्यो मौलिक र आत्मीय दृश्य अब एकादेशको कथा जस्तै भइसकेको कसरौल गाउँका भलमन्सा रामकिसन रानाले बताए।
“कथाभन्दा गीतसँगै त्यसको अर्थ र जीवनदर्शन पनि लगाइन्थ्यो, जसले गर्दा नपढेका मानिसहरू पनि जीवन र जगतबारे ज्ञानी हुन्थे”, उनले भने, “राना थारु समुदायमा चाँदाको कहानी, घन्नैको कहानी, जिवालडौतीको कहानी, सदा सुरखा, र उपदेउको गउनु जस्ता कथा र लामा दास्तानहरू निकै प्रचलित थिए, जसले मानिसलाई धैर्यवान् र धार्मिक बनाउँथ्यो।”
भलमन्सा रानाको एउटै गुनासो छ–कथा सुनाउने पुर्खाहरू आफ्ना कथाका पात्रहरूझैँ इतिहासका पानामा बिलाएर स्वर्ग गइसके र उहाँहरूसँगै ती अमूल्य कथाहरू पनि सधैँका लागि हराए। मौखिक रूपमा एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै आएका यी अलिखित सम्पदाहरू अहिलेको इन्टरनेटको गति र रेडियो–टेलिभिजनको रौनकमा कतै नभेटिने गरी हराएका छन्।
लोककथाहरू सुदूरपश्चिमको भूगोल, पहिचान र सभ्यताका असली संवाहकका रूपमा रहेका छन्। यी कथाहरूलाई डोटेली र थारु भाषामै सङ्कलन गरी पुस्तक, अडियो र भिडियोका रूपमा डिजिटल अभिलेखीकरण गर्नु आजको राज्य र नागरिक समाजको अनिवार्य दायित्व हो।
विद्यालयको स्थानीय पाठ्यक्रममा यी कथाहरूलाई समावेश गरेर नयाँ पुस्तालाई आफ्नै पुर्खाको गौरवशाली इतिहाससँग परिचित गराउनुपर्ने सुदूरपश्चिमको संस्कृतिलाई नजिकबाट नियाल्दै आएका ईश्वर सुनार बताउँछन्।
“आधुनिक प्रविधि र माध्यमहरूलाई प्रयोग गरेर यी प्राचीन ज्ञान र कथालाई नयाँ ढाँचामा प्रस्तुत गर्न सके मात्र हाम्रा मौलिक पहिचानहरू जोगिन सक्छन्” उनी भन्छन्, “लोककथा विगतको सम्झना मात्र होइन, बरु यो त सुदूरपश्चिमी पहिचानको मेरुदण्ड हो, यदि आज हामीले हाम्रा पुर्खाहरूको यो अमूल्य मौखिक सम्पदा जोगाउन सकेनौँ भने भोलिको पुस्ताले आफ्नै देश र संस्कृतिको कथा सुन्न र भन्नबाट सधैंका लागि वञ्चित हुनुपर्नेछ, हाम्रो पहिचान इतिहासको धमिलो पानामा मात्र सीमित रहनेछ।”
- राजेन्द्रप्रसाद पनेरु/रासस
प्रकाशित: ७ माघ २०८२ १३:०२ बुधबार





