२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

काँडासँगसँगै पनि फूल उम्रेको हुन्छ

मुक्तक

१) मुक्तक

मलाई रातको अर्थ नलगाउ मेरो साथमा पनि जून छ

गाउन नसकौंला अर्को कुरा गुनगुनाउन सक्ने धुन छ

थाहा छ यहाँ बोल्नेको पिठो बिक्ने नबोल्नेको केही छैन

तैपनि कोसिस जारी छ ममा पनि संयम र धैर्यको गुण छ!

 २) मुक्तक

डुब्नै लागेको घाम हुँ म एकपल साँझलाई हेरिरहें

निमेषभरमै अँध्यारो मडार्छन् वस, कोल्टे फेरिरहें

सायद जिन्दगी जिउने बाहनामा मुटु छामेरै होला

आगोको लप्का छातीमा सेकेर पनि यो मन बेरिरहें!

३) मुक्तक

कतै तिम्रो जितले कहीं मात नबनोस्

कतै तिम्रो नजरले कहीं बात नबनोस्

बाचा बोलीको एउटै कसीमा कोर्नु रंग

कतै तिम्रो हातले रंग सात नबनोस!

४) मुक्तक

खेलै खेल हो कहिले ढुंङ्गा कहिले पानीको धारमा थियो

सपना जित्नकै लागि कुल्ची हिंड्नुपर्ने हारमा थियो

बुझेर थकित नहोउ निराशाको नाउँ केवल हरेस भनेर

अविरल अविश्राम नै संघर्ष, त्यो जीवनको पारमा थियो।

५) मुक्तक

यति कसम खाएँ कतै विश्वास नजलोस्

बाचा धेरै गरें मनमा कतै आगो नबलोस्

तिमीप्रति माया छरेर निश्वास फेरिरहेछु

ताकि यो धड्कनमा सन्देह किंचित नभरोस्।

६) मुक्तक

निमित्त मान्छे यहाँ यतिसम्म झर्न नि सक्छन्

नाम र दामका लागि आखिर मर्न नि सक्छन्

नितान्त आफ्नै आत्मरतिका स्तुति गुनगुनाएर

शून्यमा साथ दिनेको मर्यादा हर्न नि सक्छन्!

७) मुक्तक

अवसरवादी पो हुन थाल्छन् अवसर खोज्नेहरू

भुईको साथ पो बिर्सन थाल्छ्न् मै भनी रोज्नेहरू

शायद एकाध शिखरको मातले अंहम् चढेर होला

विरासत नै भन्न थाल्छन् सिधासाधालाई घोच्नेहरू!

८) मुक्तक

कहीं हार कहीं जित जिन्दगीको त यही नै हो रित

धेरथोर सुख र दु:ख गाउन नछाडौं सपनाका गीत

कहिले फुल्ने कहिले झर्ने समयका रिवाज हुन्छ नै

सम्झौता र हालातमा नघोटी हुँदैन गन्तव्यको जित।

९) मुक्तक

खाली कागजमा जे रंग नि कोरे पनि हुन्छ।

मन न हो आखिर जता रंग जोरे पनि हुन्छ।

किन्तु यहाँ अमिट भावनाका रंग नबिर्सनु

अरे खुला भन्दैमा नकोर्नु जे सोरे पनि हुन्छ।

१०) मुक्तक

काँडासँगसँगै पनि फूल उम्रेको हुन्छ

गुँरास नि हरेक भीरमै फक्रेको हुन्छ

जीवन सहज त हैन संघर्ष हो यार!

खुकुरी चम्किन ढुङ्गामा घस्रेको हुन्छ।

प्रकाशित: १४ भाद्र २०८२ १४:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App