२१ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
कला/साहित्य

मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’

नेपाली गीत-सङ्गीत क्षेत्रको प्रतिष्ठित ‘छिन्नलता गीत पुरस्कार’ बाट यस वर्ष वरिष्ठ हास्यकलाकार एवं गायक मदनकृष्ण श्रेष्ठसहित पाँच जना स्रष्टा पुरस्कृत हुने भएका छन्।

छिन्नलता गीत पुरस्कार गुठीको हालै सम्पन्न साधारणसभाले नेपाली कला र सङ्गीतको श्रीवृद्धिमा विशिष्ट योगदान पुर्‍याउने विभिन्न विधाका स्रष्टाहरूलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।

गुठीका अध्यक्ष प्रा. डा. वासुदेव त्रिपाठीको सभापतित्वमा बसेको बैठकले सुमधुर स्वरका धनी एवं वरिष्ठ गायक मदनकृष्ण श्रेष्ठलाई यस वर्षको विशेष सम्मान प्रदान गर्ने निर्णय गरेको छ।

बहुमुखी प्रतिभाका धनी श्रेष्ठले गायनका माध्यमबाट नेपाली साङ्गीतिक क्षेत्रमा पुर्‍याएको अतुलनीय योगदानको कदर गर्दै गुठीले उनलाई पुरस्कृत गर्न लागेको हो।

बैठकले गीत, सङ्गीत र गायनतर्फको पुरस्कारका लागि पनि स्रष्टाहरूको नाम सार्वजनिक गरेको छ। गुठीका सचिव एवं वरिष्ठ गीतकार दिनेश अधिकारीका अनुसार यस वर्षको गीत रचनातर्फको पुरस्कार नवराज लम्साललाई प्रदान गरिनेछ।

त्यस्तै, सङ्गीत रचनातर्फ किरण कँडेल र गायनतर्फ विमला राईलाई पुरस्कृत गर्ने निर्णय भएको सचिव अधिकारीले जानकारी दिए।

गुठीले युवा पुस्ताका प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदान गर्दै आएको ‘लोकप्रिय युवा प्रतिभा पुरस्कार’ यस वर्ष सारिका घिमिरेलाई दिने निर्णय गरेको छ।

घिमिरेलाई उनले रचना, सङ्गीत र गायन गरेको चर्चित गीत ‘गुन भुल्यौ, पित्तलको सुन पायौँ होला’ का लागि उक्त पुरस्कार प्रदान गर्न लागिएको हो। यो गीत पछिल्लो समय स्रोता र दर्शकमाझ निकै लोकप्रिय बनेको थियो।

यी सबै पुरस्कार र सम्मान गुठीकी संस्थापिका एवं विशिष्ट गीतकार स्व. रमोलादेवी शाह ‘छिन्नलता’ को जन्मदिनको अवसर पारेर आगामी साउन ९ गते एक विशेष समारोहका बीच वितरण गरिनेछ।

गुठीले हरेक वर्ष उनको स्मृतिमा नेपाली सङ्गीतका साधकहरूलाई पुरस्कृत गर्दै आएको छ।

प्रकाशित: १० जेष्ठ २०८३ १९:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App