२६ मंसिर २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

चिर्कटोको ठेगानाकाे भरमा पहिलो भारत यात्रा

यात्रासंस्मरण

वर्षौं पहिलेको यात्रा संस्मरण हो मेरो २०४६ सालको पुस महिना। त्यो समयमा म केही महिनादेखि दुर्गापुर झापा मावलीमा बस्थें। मधेशको कठ्यांग्रिंदो जाडो, कुहिरो र हल्का हावाहुरीले भरिएको वातावरण। झापा दुर्गापुरमा पुरानो ढंगले बनेको मावली घर। फराकिलो आँगन, चारैतिर फैलिएको पैनी र बिरिंग खोलाको बाढी पसेर बगरै बगरमा परिणत भएको धानको खेत। पुसको हल्का कुहिरोका वीच सबैले उत्सुकतामा खेतको बगर हटाउॅदै मलिलो माटो खोजिरहेका थिए कोदालोको सहाराले। त्यही ठण्डा वातावरणमा मेरो मनमा एक आकस्मिक विचार आयो। मैले पढ्न अब मावल बस्ने होइन गोरखपुर जानुपर्छ। बालापन कसरी आयो यो सोच अहिले अचम्म लाग्छ म तर त्यो सोच पूरा गर्न सजिलो थिएन। न त म हिन्दी बोल्न जान्दछु न कोही साथी छन् न त म कहिल्यै भारत गएको थिएँ। अहिले जस्तो गुगल, स्मार्टफोन वा नक्शा पनि थिएन। मेरो एक मात्र भरोसा थियो दोर्पाका गाउँले भतिज खेमराज आचार्यले दिएको कागजको चिर्कटोमा लेखिएको ठेगाना।

हजुरबा महानन्द र हजुरआमा रेणुका पोखरेललाई यो कुरा मैले सुनाउँदा उहाँहरू रिसले झर्किनुभयो। १६ वर्षको केटाकेटी भारतमा तँलाई बेचिदिन्छन्। किड्नी निकालिदिन्छन् नाति नजाउ त्यहाँ मानवीय संवेदना हुँदैन। मलाई सम्झाउनुभयो।

मैले मानसिक रूपले कुनै हालतमा जान्छु भन्ने अठोट बोकिसकेकोले त्यो भनाइ मलाई ठीक लागिरहेको थिएन। उहाँहरूको कुराले मन हलचल भयो। मुटुको धड्कन तेज भयो तर मेरो सोह्र वर्षे मनमा साहस र अठोट झन् बढेको महशुस गरें। मामाद्वय खगेन्द्र र फडिन्द्रले धेरै माया गर्नुहुन्थ्यो। हजुरआमाले दिएको वात्सल्यपूर्ण प्रेम सम्झँदा आज पनि ईर्ष्या लागेर आउँछ। म त्यो समयमा बाल्यकालको साहस र परदेशमा हुने खतरा एव् मानसिक त्रासको बीचमा अल्मल्लिरहेको थिएँ।

दोर्पा घरबाट बुबाले पठाएको र मावलीमा चाडबाडमा टिका लगाएर दिएको सबै पैसा जोड्दा मात्र रुपैयाँ १५७ भयो मसँग। भैरहवा जाने बसको टिकट विद्यार्थी छुटमा ११० रुपैयाँ पर्ने रहेछ। मैले आफ्नो ढंगले काउन्टरमा बुझेको थिएँ। मेरो अन्तरमनको कुनाकन्दरामा डर, उत्साह र आशंका मिश्रित वातावरण थियो। ‘दोर्पा घर जान्छु, बाटो खर्च दिनु’ भनेर पुस ११ गते हजुरआमासँग गलजफ्ती गरे। शुरूमा उहाँले सुन्नै चाहनु भएन। डाको छोडेर राेएपछि उहाँले १५० रुपैयाँ दिन तयार हुनुभयो। कान्छी माइजूले थप रुपैयाँ १०० दिनुभयो। अन्ततः सबै मिलाएर ४०७ जुट्यो।

मेरो दाउ घर जाने होइन भागेर गोरखपुर जाने थियो। मैले कसैले थाह नपाई झोला र कपडा तयारी गरें। हजुरबाले भने छोरीज्वाइँलाई दोर्पामा लामो चिठी लेख्नुभयो। अहिले जस्तो फोन र सञ्जाल थिएन त्यो जमानामा। जेठा र कान्छा मामाले घर लैजाने कोसेली दिएर पठाउनुभयो। दोर्पा जाने भनेर झुट बोलेकोमा मेरो मनमा डर र भयले प्रताडित बनाइरहेको थियो।

पुस १३ गते मावलबाट विहान ४ बजे नै विदा भएँ। मैले झूट बोलेको भए पनि उद्देश्य स्पष्ट थियो। गोरखपुर पढ्न जाने र ज्ञान हासिल गर्ने। हजुरआमाले आँसु झार्दै छिट्टै फर्किनु है नाति भन्नुभयो।

जेठी छोरीको सन्तान भएकाले खुब माया गर्नुहुन्थ्यो मावलीले। मामामाइजूसँग पनि विदा लिएर बिहान सबेरै हिडें। दुर्गापुर बजारबाट विर्तामोड पुगेर भैरहवा जाने रात्रिबसको टिकट काटें। दिउँसो २ बजे रात्रिबस चल्ने भएकाले बिहानदेखि नै विर्तामोडमा अल्लारिएँ। मेरो मनमा उत्साह र डरको मिश्रण थियो। भूगोल, वाचो, गन्तव्य सबै अनजान तर मेरो दर्विलो अठोट थियो म जान्छु र गन्तव्यमा पुग्छु।

दुई बजे बसमा चढ्दा मानिसको भीड देखेर म छक्क परें। मेरा उमेर समूहका अरू बालबालिका आफ्ना अभिभावकसँग थिए। म सानो कदको केटो एक्लै थिएँ। गाडीका मानिसहरू छक्क परे। मेरो सँगै सिटमा बसेका हरिप्रसाद पन्थीको गुल्मी घर रहेछ। बस विर्तामोडबाट अघि बढ्यो। मेरो मन कताकता हराए जस्तो भयो। विरिंग खोला तर्दा आँसु रोकिएन। दुर्गापुर मेरो मावलीघर। आँगनमा खेलेको सम्झिएँ। हजुरआमाले माया गरेर पहाडबाट ल्याएको घिउ, मह र मकै खाएको सम्झिएँ। जेठीकान्छी माइजू, मामामाइजूका छोराछोरी र सबै आफन्तको माया सम्झँदा आँसु रोकिएन।

माईधार गंगा नदीमा शिर निहुराएँ। पानी अर्चिंदै कुलदेवता र पितृ देवतासँग आशीर्वाद मागें। दुधे कटेपछि कन्डेक्टर गोपाल दाइले टिकट जाँच्नुभयो। हरिप्रसाद काकाले परिवारको सदस्यझैं माया गर्नुभयो। रातभर खाजा खुवाएर काखमा सुताउनुभयो। जीवनमा पहिलोपटक बाहिरी मानिसको सानिध्यबाट पारिवारिक सुरक्षा र अपनत्वको अनुभव दिलाउनुभयो। अहिले जस्तो मोवाइल र फेसबुक भए भेट हुन सक्थ्यो र मलाई लगाएको गुन भावनात्मक रूपमा समर्पण गर्थें तर वर्षौं भयो सम्पर्क नभएको। सायद मलाई सुम्सुम्याएका ती नरम हातहरू र ४०/४५ वर्षको उमेर ढल्किएर शरीर जीर्ण भयो होला। उहाँ जहाँ जुन अवस्थामा हुनुहुन्छ हार्दिक सम्मान गर्दछु। रातभरिको लामो यात्रापछि सुनौली पुग्यौं दिउँसोको १२. ३० बजे। गाडीबाट सबैसँग विदा भएर म अघि बढें गन्तव्यतिर।

जीवनमा पहिलोपटक नेपालबाट भारत सीमा पार गरें। मातृभूमि सम्झिएँ। आमाबुबाको अनुहार स्मरण गरें। बुवासँग उकालीओराली गर्दै बेल्टार झरेको अतीत सम्झिएँ। १६ वर्षको उमेरमा बाल्यकालको साहस, डर र उत्साह मिश्रित हलचल भईरहेरो थियो मनमा।

बसमा पाकेटमारको डर हुन्छ भने सुनेको थिएँ। ५० रुपैयाँ गोजीमा र बाँकी पैतालामा मोजा भित्र राखेर हिंडेको थिएँ झापाबाट। बाटोभरि सतर्क रहें। कतै पाकेट मारेकी भनेर मोजामा पैसा छामिरहन्थें। पैसा सुरक्षित हुँदा ढुक्क हुन्थें म।

भारततर्फको भूगोल सुनौलीबाट गोरखपुरका लागि बसमा चढें। मेरो भाग्य होला झापादेखि भारतसम्म सबै ठाउँमा अभिभावकझैं साथी भेट्टाएँ सिटमा। बुटवलबाट गोपाल ज्ञवाली नाम गरेको ६० वर्षीय नेपाली हजुरबा वनारस जाँदै हुनुहुँदो रहेछ। आधा जति नेपाली मानिस थिए बसमा। मलाई भारत भएको कुनै महसुस नै भएन भारतीय भूमिमा दौडिरहेको बसमा पनि।

बेलुकी करिब ४: ३० बजे गोरखपुर, गोरखनाथ मन्दिरको गेटमा बसले छोडिदियो। गाडीको सीटमा सँगै बस्ने हजुरबाले कि वनारस जाने भनेर पटकपटक सोध्नुभयो तर म मानिनँ। उता गएको भए मेरो जीवनको मोड अर्कै हुन्थ्यो होला। अचेल मनमा सोच्दछु कहिलेकहीं।

बसबाट त झरेँ एक्लो छु। मेरो साथी र भरोसा हातमा कागज छ जाने ठाउँको ठेगाना। बसबाट उत्रिएपछि रिक्सावालाले गिद्धले सिनु लुछालुछ गरे जस्तै लुछालुछ (तानातान) गरे। म अक्क न वक्क भएँ। भाषा पनि जान्दिनँ, जाने ठाउँ पनि थाहा छैन। मलाई कतै बेच्ने हुन् कि वा हराइन्छ कि भन्ने डर छ मनमा। जसो होला त दह्रो मुटु बनाएर एउटा बुढो चालक भएको रिक्सामा बसें। परिपक्व र अनुभवीले ठाउँसम्म पुऱ्याउँछन् भन्ने विश्वास थियो मेरो तर तन्नेरी रिक्सावालासँगको वादविवादपछि मलाई अर्को तन्नेरीकोमा रिक्सामा पठाइयो। सायद पालो उसको थियो होला र हो कि? त्यसपछि झन् डर लाग्यो। कतै यसले किड्नी निकाल्छ कि? मलाई कतै लगेर विक्री नै गरिहाल्छन् कि? तर डरलाई पन्छाएर गन्तव्यसम्म लैजान ठेगाना लेखेको कागज थमाएँ।

१५ मिनेटपछि आकर्षक गोरखनाथ मन्दिरको गेटबाटभित्र छिराए रिक्सा। झिलिमिली बत्ती बलेको। मेलाझैं लाग्ने मानिसको घुइँचो। दुवैतर्फ अशोकका रुख थिए लाइनले मिलेका। सफा प्रांगण। मूल मन्दिरको गेटबाट अघि बढ्दा केही अगाडि नेपाली र भारतीय विद्यार्थी बस्ने छात्रावास देखियो। वातावरण रिमरिम अँध्यारो। रुख प्रशस्त, काग कराई रहेका थिए। हाम्रो गाउँठाउँमा जस्तो रूपी, चिबे, गौंथली, भगेरा र अन्य चराचुरूंगीको आवाज कतै सुनिएको थिएन। मातृभूमिको जस्तो माटो र सुगन्ध पाइनँ मैले। चैतबैशाखको जस्तो उराठलाग्दो वातावरण। नयाँ ठाउँ भएकाले होला मेरो मन निराश र दिक्दारलाग्दो थियो।

रिक्सा गन्तव्यमा पुर्‍याएर रोक्न नपाउँदै एकजना नेपालीले रिक्सा रोकेर हिन्दीमा रिक्सावाल र मलाई नेपालीमा कहाँ जाने सोध्नुभयो। उमेर र उचाइले म जत्रो। गोरो वर्णको दुर्गा पंगेनी थर स्याङ्जाली विद्यार्थी हुनुहुँदो रहेछ। मैले मेरो गाउँले भतिजी खेमराज आचार्यको कुरा गरेपछि खुशी हुनुभयो। गुडुडुडु दौडिंदै खेमराजजीलाई लिएर आइपुग्नुभयो पंगेनीजी।

म खेमराजजीसँग बोल्न थालें कमिलोको गोलो धुरिए जसरी रिक्सावालालाई कुटे। मसँग उनले १० रुपैयाँ भारू भाडा लिनुपर्नेमा ५० लिएका रहेछन् ठगेर। उनले म अनजान मानिससँग ठगी गर्दै थिए। त्यसरी निर्घात नकुटेको भए पनि हुन्थ्यो। ठगलाई छोड्न पनि हुन्न हुन त। रिक्सावाला रगताम्ये भयो। पीडा भयो। सबै धुरिएर रिक्सावाललाई विद्यार्थीले रामधुलाइ गरे।

मलाई त गन्तव्यमा पुऱ्याएर गुन लगाएका थिए नि विचरा। म नयाँ मानिस के बोल्ने। तीन छक्क परें। अन्यायका विरूद्ध सामुहिक ऐक्यबद्धता रहेको पाएँ शुरूमा नै। भोलि आफूले गलत गरे रामधुलाइ खाइने चेतना आयो शुरूको झड्कामा नै।

नेपाली छात्रावासको २७ नं. कोठा लैजानुभयो। त्यहाँ झुल बाँधेको दुई खाट थिए। जाडो भए पनि मच्छड राम्रै लाग्दा रहेछन्। मलाई आधा घण्टा बस्दा राम्रै प्रेम गाँसे मच्छडले। केही भलाकुसारी चल्दै थियो टिंगटिंगटिंग घण्टी बज्यो। नियम अनुसार साँझको ७ बजे खाना खाने घण्टी लाग्दो रहेछ दिनहुँ। खेमराज र मोहन पोखरेलले स्टिलको थाली, अम्खोरा र हरियो खोर्सानी बोकेर खाना खान जाने विदा माग्नुभयो। मलाई बस्दै गर्न आग्रह गर्नुभयो। झापादेखि छात्रावाससम्मको यात्रा डायरीमा टिप्न थालें डायरीमा। सानैदेखि टिपोट गर्ने बानी थियो मेरो।

एक घण्टापछि दाल, साग र भात लिएर आउनुभयो मलाई पनि। हात धोएर खान बसें। भोकले होला जोड मीठो लाग्यो मेसको खाना। अरू नेपाली विद्यार्थी पनि मलाई भेट्न आए। नेपाली भेटेर आफ्नै देशमा भएको महशुस गरें।

खेमराजजीको साइनोले म काका पर्थें। त्यसैले मलाई सबैले काकाबाट सम्बोधन गरे। म सानो दारको तर तर भतिज र अन्य सबै शारीरिक बल भएका विद्यार्थी रहेछन् अधिकांश।

खेमराजजीलाई मेरो यात्राको उद्देश्य सुनाएँ। उहा धेरै बोल्नु भएन। मेरा कुरा मात्र सुनिरहनुभयो एकोहोरो। गोरखपुरमा उहाँलाई भेट्दा स्वर्ग पुगे जस्तै खुसी भएको थिएँ म। मेरो मुख्य सहारा र अभिभावक नै उहाँ हुनुहुन्थ्यो त्यहाँ। खेमजी र म अबेरसम्म गन्थन गरेर १० बजे एउटै खाटमा सुत्यौं। १६ वर्षको उमेरमा अर्को देशमा एक्लै सुतेको मेरो पहिलो रात थियो २०४६ पुस १४ गते। नयाँ सपना, उद्देश्यसॅगै जीवनलाई नयाँ मोड र गन्तव्य तर्फ पुऱ्याएको रात।

त्यसैले मेरा गाउँले भतिज खेमराज आचार्य र त्यो रात मेरो जीवन यात्राको ऐतिहासिक रात। म सधैं सम्झिरहन्छु त्यो रात र भतिज खेमराजलाई। थकानले होला, कुरा गर्दै गर्दा विदेशी भूमिमा भुसुक्कै निदाएँछु म।

(स्रष्टा भट्टराई दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख हुन्।)

प्रकाशित: ६ मंसिर २०८२ ०९:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App