कुहिरोले ढाकिएको छ आकाशको रंग। देखिदैनन् वरपरका रुखका हाँगाहरू तर संगीत भरेर स्वरहरूमा चिर्बिराहट सुनिन्छ चराको परपरसम्म। भर्खरै उड्न सिकेको चिवे चरोको बचेरो गराको डिलमा बसेर एकोहोरो घाँटी उचालिरहेछ। आमाको अपार न्यानो पाउनका लागि। सायद निकै पर पुगिहोला उसकी आमा र त बच्चाको चिच्याहट सुन्दैन उसका चलाख कानले।
फुस्फुसाइरहेछ माघे झरी। कहिले आँखामा पट्टी बाँधेर त कहिले लजाएर हलुका घुम्टो खोलेर। कहिलेकाहीँ धेरै रिस उठेझैँ फिँजाउँछ कालो लट्टा अनि झ्याप्प छोप्छ औँसीको रात बनेर। डराउँछन् साना नानीहरू र त खेल्न छोडेर लेपासिन्छन् आमाको काखमा। वर्षौ भेट नभएको झैं।
मसिना बाछिटा झरेको पिँढीमा लमतन्न सुतेको छ बुढो कुकुर। झण्डै बीस वर्ष भयो ऊ यो घरको पिँढीमा सुत्न थालेको। ऊ यहाँ सुत्दा सुत्दै हजुरबाको हातको एक गाँस गुमायो। केही दिन छटपटाए जस्तो गर्यो। फेरि भुल्यो त्यो पीडालाई। कहिलेकाहीँ उसलाई हजुरबाको याद धेरै आउँथ्यो कि क्या हो, कहिले गाउँ त कहिले बेँसीको गोठमा धाउँथ्यो।
उसको शरीरका लामा रौँ अब झर्न छोडेका थिए। हजुरआमाको हातमा नसा गाँठा परे जस्तै जेलिएका थिए रौँ एक आपसमा। ऊ धेरै समय सुतेर बिताउँथ्यो। पहिला रातको समयमा बरण्डाको छेउमा बसेर रखवाली गर्थ्याे घरको। अहिले चोयाको कोठोमा खुम्लेकिरा जस्तै गुडुल्किएर सुत्छ। निर्जीव जस्तै छ ऊ। उसको निर्भयता हराइसकेको छ। हातको पञ्जामा शक्ति छैन। दाँतले नटोकेर नै हुनुपर्छ अचेल शाकाहारी भएको छ।
बुढो कुकुर जस्तै चलायमान हुन छोडेको छ हजुर आमाको हात। सुतेर मात्र टाउकोमा पुर्याउनुहुन्छ कन्याउनका लागि। कुहिरोले छेकेको आकाश जस्तै धुमिल भएका छन् आँखा। पुसको तुषारो दुवोको टुप्पाका टल्किएझैं बोकिरहन्छ आँखाले कचेरा। कुनै बेला आँखा चिलाउँछ क्यारे घुँडामा ल्याएर दल्नुहुन्छ। अब भातको गाँस खोसिने हो वा पिँढीको शून्यता यही चिन्तामा छ सिङ्गो परिवार।
दुवैमा शक्ति क्षण भएको छ। आफैँ पकाएका खाने हजुर आमालाई खुवाइदिनुपर्ने भयो। बाहिर धेरै खाने र घरमा कम खाने स्वभावको कुकुर घरी थालमा घरी हजुर आमालाई हेर्न थाल्यो। उभिएर थालको भातमा पुग्न छोडेको छ उसको घाँटी। भासिँदै गएको घरको ढोका जस्तै आधा मात्र खुल्न थाल्यो उसको मुख। भैंसीको सिङ्गै घुँडा चिउरा जस्तै चपाउने उसका दाँतले भातको सिता जिब्रो घुमाएर निल्छ।
सारा गाउँ डुलेर खबर ल्याउने उसको तागत हरायो। ल्याइदिए पनि उसलाई कुनै चाह छैन। पहिला कन्सुत्ली लागेर सुनेर जहाँको कुरा गरेको हो त्यहाँ पुग्थ्यो। अहिले जे सुकै बोलून् केही सुन्न चाहँदैन। तिथि, श्रद्धा, कुनै कार्जेमा उसलाई निम्ता गर्नु पर्दैनथ्यो। आफैँ जान्थ्यो र निम्ता मानेर आउँथ्यो। अचेल घरकै कार्जेमा आएका साथीलाई पनि कोको आए भनेर हाजिरी दिँदैन। ऊ निस्लोट जरोको रोगीझैं कुनै परवाह नगरी सुतिरहन्छ।
वर्गत हुँदा आफ्नो र परको साथी छुट्याउँथ्यो। चिनेको साथीको भव्य स्वागत हुन्थ्यो। पुच्छर हल्लाएर। बाँडेर खान्थ्यो टपरीको भात। नचिनेकालाई दलिदिन्थ्यो आफ्नो पुच्छर। बुढाहरू भन्थे आफ्नो इलाकामा आएका नयाँ कुकुरलाई यसरी हेप्छन् घर गाउँकाले, यो उनीहरूको स्वभाव हो। आफूभन्दा सानालाई उनीहरू यस्तो व्यवहार गर्छन्। ता की अन्त भेट्दा उसले हेप्न नसकोस्।
यस्तो सानले बसेको ऊ अहिले कतै जान सक्दैन। कहीँ नगएपछि पुच्छर दलि माग्नुपर्ने झन्झट पनि छैन उसलाई। घर नै संसार भएको छ उसको। दिसापिसावका लागि भन्दा अरू समय ऊ घर छोड्दैन। भुत्ला गह्रुँगो हुन्छ भनेर होला पानी पर्न लाग्यो कि कोठाभित्र पसिहाल्छ। त्यसो त पहिला जस्तो झड्कारेर झार्न सक्दैन भुत्लामा अडेको पानी पनि।
बतास चल्दा कतै केही झर्छ कि भनेर चराका गुँड भएकोतिर एकटकले हेरिरहन्थ्यो। अहिले अगाडिका दुवै खुट्टाले आँखा छोप्छ। दृश्य हेर्न नपरोस् भनेर हो वा हावाले आँखामा धुलो पार्छ भनेर हो। अहिले कुनै लोभलालचा बाँकी छैन। बोका, पाठाले उसको थालमा मुख लान खोजे डहाडेर भगाउँथ्यो। अहिले शान्त भावले हेरिरहन्छ बुद्धत्व प्राप्तपछिको आत्मज्ञान पाएझैं।
कसैले बोलाए उठाउँछ अलिकति टाउको। चिनेको नचिनेको केही प्रत्युत्तर दिँदैन। फेरि उसैगरी रमाउँछ आनन्दमा। कलिला पाठाले शरीरमा टेके पनि कुनै प्रतिक्रिया दिँदैन। कुनै बेला तन्काउँछ तनक्क पारेर शरीर। कुँजिन्छु भन्ने डरले होला पालो गरीगरी तन्काउँछ चारैवटा खुट्टा। शरीर थाम्न छोडेका खुट्टालाई बेलाबेला चाट्छ, मासुको गन्ध सम्झेर हो वा कन्याउन काम लाग्छ भन्ने भान बोकेर।
आफैँलाई थाहा होला कमजोर बन्दै गएको छु भनेर। कुनै बेला भेट्न आउँछन् उसका साथीहरू। त्यो बेला अगाडिको खुट्टा टेकेर साथी बसुनज्याल टाउको उठाउँछ। स्वजातीय धर्म निभाउनका लागि। घरप्रतिको दायित्व सकिएझैं मुक्त छ। खाना दिए खान्छ। नदिए पहिला जस्तो आशा राख्दैन तर सबैको माया पाएको छ। मृत्युको अन्तिम दिन कुरेर।
उसका लागि बाटो सजिलो बनाइएको छ। बुबाको तर्क छ – कुकुर घरमा मर्दैन, मर्छु भन्ने ज्ञान प्राप्त भएपछि ऊ घर छोडेर निस्कन्छ। बाटोमा हिँड्दा नलडोस् भनेर नै बाटो सम्याइदिनुपर्छ। आखिर बुढ्यौली कसलाई लाग्दैन र? यत्रो वर्ष सेवा गर्यो। आनन्दले मरोस्, घरमै मरे पनि उसको सद्गत राम्रो हुनुपर्छ। गहिरो र सजिलो खाल्डोमा गाड्नुपर्छ। बाह्य रूपमा फाल्नु हुँदैन। बुबाको इच्छा सकारात्मक छ।
कुकुरको कुराले निन्द्रा खुलेझैं हजुरआमाले आँखालाई निधारमा हात राखेर छहारी दिँदै हेर्नुभयो र भन्नुभयो - कुकुर मरेको हो?
हैन, जिउँदै छ। सायद यो माघे झरी थेग्दैन होला। बुबाको मुखबाट अनायासै फुत्कियो। खाना खाँदैछ, कि छोड्यो? चाख बढ्यो हजुरआमामा रातिको साथीप्रति। यत्रो वर्षको सहयात्रा आफूभन्दा पहिला नहोस् भन्ने चाह होला मनभरि। हामीलाई अचम्म लाग्यो मुखमा नपुग्ने हात एकाएक निधारमा पुगेकोमा।
कुहिरोको मादकता हट्यो। हप्ता दिनसम्म छोपिएको उँभुले यता हाम्रो गाउँलाई मायालु नजरले हेर्यो। खुसीले रमाए गुँडका बचेरा। हावामा कावा खानका लागि बचेरा छोडेर बाहिर आए चराहरू। धोद्रो रुखको गुँडमा रहेको लोखर्केले बाहिरको मलिन सूर्योदय हेर्यो। सबै उस्तै छ केही परिवर्तन छैन।
अस्ति गराको डिलमा बसेर टिठलाग्दो गरेर घाँटी तान्ने बचेराले पनि आमा भेट्टाएछ। आज आमासँगै हाम्रै आँगनीमा तोरीका दाना टिपिरहेको थियो। भाग्य सबैको जोखेर बराबर कसरी हुन्छ र? बचेरो आमासँगै हर्षविभोर छ।
माघको ठिहिरोले तात्न छोडेको छ, हजुरआमाको शरीर। पुरानो कम्मलमा छोपिदिएपछि कुकुर पनि खुसीले पुच्छर हल्लाउँछ। शरीर तात्ला भन्ने आशामा। भित्रबाट तातो बाहिर नआएपछि कम्मलले कसरी जाडो छेक्छ र? यही सोचेर बुबाले कोठाको बाहिर नै हावा नछिर्ने गरी कपडाले बेरेर भित्र खर पराल ओछ्याइदिनुभयो। थोरै तातोमा पनि खर तात्छ भन्ने बुबाको विश्वास छ। यो प्यार हजुरआमा र कुकुर दुवैको प्राण जोगाउन बराबर गरिएको छ। हजुरआमामा कुनै प्रतिक्रिया छैन तर कुकुर दिनदिन निन्याउरो देखिन थाल्यो। कुकुर दुर्भाग्य ठहरियो। अब उसले हजुरआमाको हातबाट कुनै खाना खान पाउने छैन।
(निबन्धकार पाैडेलकाे ‘धमिराकाे देवल ’मा सङ्गृहीत।)
प्रकाशित: १७ माघ २०८२ १२:२४ शनिबार





