मैले अनुनयपूर्वक भनें, “डाक्टर मलाई बचाउनोस्। म बाँच्न चाहन्छु।”
“म कोसिस गरिरहेको छु। नआत्तिनोस, ठिक हुन्छ। डाक्टर भगवान होइन नि।” डाक्टरले सान्त्वनाको जवाफ फर्काए।
म तीन वर्षदेखि पाठेघरको क्यान्सरले पीडित छु। निर्जला मेरो उपचारमा खटिरहेकी छे। मलाई उपचारमा कुदाउँदाकुदाउँदै उसको पढाइ बिग्रिने हो कि? मलाई चिन्तामाथि चिन्ता थपिएको छ।
निर्जला विविएस तेस्रो वर्षकी विद्यार्थी हो। मेरो उपचारमा खट्ने कोही नभएपछि निर्जलाले पढाइलाई निरन्तरता दिन सकिरहेकी छैन। प्रवेश क्यानडा बस्छ। प्रवेशको उपस्थिति नभए पनि उपचार खर्चको चाँजोपाँजो उसैले मिलाइरहेको छ।
प्रवेश र निर्जला मेरा छोराछोरी हुन्। श्रीमानको गाडी दुर्घटनामा मृत्यु भएको पाँच वर्ष नाघिसक्यो। सासू आमा बितेको पनि डेढ वर्ष नाघ्यो। ससुरालाई मैले देख्नै पाइनँ। नन्दआमाजूसँग पनि त्यति हिमचिम हुन पाएन। देवर जेठाजु छुट्टफुट्ट भैसक्नभएको छ।
मेरो जीवनमा पटकपटक बज्रपात भएको छ। श्रीमान बित्ने, सासू आमा बित्ने, बुवा, आमा बित्ने, भाइ बित्ने। एउटा बिछोडको पीडा सेलाउन नपाउँदै अर्को बिछोड बेहोर्नु पर्दा विक्षिप्त बन्न बाध्य भएकी छु। घाउहरू खाटा नबस्दै मलाई समेत क्यानसरले गाँज्यो। म तलमाथि परे भने छोराछोरीको भविष्य के होला? म चिन्तित बनेकी छु।
चिन्तित बन्नु तिम्रो धर्म हो पार्वता। चिन्ता नगर। छोराछोरी ठुला भैसके। आफ्नो जिन्दगी चलाउन सक्छन् अब। बाँकी रह्यो छोराछोरीको विहादानको कुरा। त्यो पनि समय सालमा गरौली। तिम्रो अप्रेशन सफल हुने नै छ। तिमीले पुनर्जीवन पाउने नै छौ। यद्यपि पार्वता निश्चिन्त बन्न सकेकी छैन। उसलाई मृत्युको भयले सताइरहेको छ।
प्रकाशित: ८ श्रावण २०८३ ०९:१५ शुक्रबार





