उसले कैले भर्याङ ठानेन तिमीलाई
तिमीले तर
टेक्यौ छातीमा
काँध र उसको टाउकोमा
कुल्च्यौ उसैको मेरुदण्ड
उसले कैले भकुन्डो मानेन तिमीलाई
तिमीले तर
उफार्यौ आफ्नो उचाइभन्दा माथि
खेलायौ दाँया र बाँया खुट्टाहरूमा
तोड्यौ गोलपोष्टतिर उसलाई
र जित्यौ कथित प्रजातान्त्रिक राष्ट्रिय खेल
उसले कैले भगवानभन्दा कम ठानेन तिमीलाई
तिमीले तर
चुपचाप हेरि मात्र रह्यौ उसको लाचारता
मुस्कुराएरै टार्यौ उसको आधारभूत सम्बोधन
फकाएर धकेलिरह्यौ यथास्थितिको भिरतिर
र पायौ केन्द्रिकृत शीर्षासन
ऊ भने आजभोलि
विरक्तिएर विद्रोही स्वरूपमा
सोध्दैछ आफैँसँग आफ्नो परिचय
ऊ भर्याङ नै हो कि
भकुन्डो हो
वा ऊ भक्त मात्र हो
खोज्दैछ जवाफ संविधान र धर्मग्रन्थहरूमा
पीडाबोधको अन्तिम रूप
आँसु नभएर आक्रोश पोख्दैछ ऊ
र चिप्लो हुँदै छ
तिम्रो आँगन र सिकुवा दिनानुदिन
ठिक त्यही समय
लड्यौ भने शिखरबाट तिमी
हार्यौ भने अर्को राष्ट्रिय खेल
गुमायौ भने प्रमुख आतिथ्य
त्यहाँ तिम्रै मूलढोकामा उभिनेछ
तिम्रै साइजको प्रश्नवाचक चिन्ह
तसर्थ डर पैदा हुनुपर्छ अब तिमीमा
अलिकता डर!
प्रकाशित: २८ वैशाख २०८३ ०८:११ सोमबार





