पछिल्लो समय भारतीय मनोरञ्जन उद्योग अर्थात् बलिउड र दक्षिण भारतीय सिनेमा क्षेत्रमा स्थापित कलाकारहरूले करिअरको उत्कर्षमा रहँदा नै संन्यास लिने वा विश्राम लिने क्रम बढेको छ।
उमेर ढल्किएर वा काम नपाएर भन्दा पनि लोकप्रियताको शिखरमा रहँदा नै कलाकारहरूले यस्तो अप्रत्याशित निर्णय लिन थालेका हुन्।
केही समयअघि दक्षिण भारतीय सुपरस्टार विजय थलपतिले अभिनयबाट संन्यास लिएको घोषणा सेलाउन नपाउँदै अहिले बलिउडका सर्वाधिक लोकप्रिय गायक अरिजित सिंहले पार्श्व गायनबाट संन्यास लिने घोषणा गरेका छन्।
उनको यस अप्रत्याशित निर्णयले करोडौं प्रशंसक स्तब्ध बनेका छन्।
बलिउडमा सलमान खान, शाहरुख खान, अमिताभ बच्चनजस्ता कलाकारहरू ६० वर्ष नाघिसक्दा पनि मुख्य भूमिकामा सक्रिय रहेका बेला युवा पुस्ताका ढुकढुकी मानिने कलाकारहरूले भने विश्राम लिने क्रम बढि देखिएको हो।
दक्षिण भारतीय सिनेमाका सुपरस्टार विजयले गत वर्ष अर्थात् सन् २०२५ को डिसेम्बरमा चलचित्र अभिनयबाट संन्यास लिएको घोषणा गरेका थिए।
५० वर्षको उमेरमा उनले ६९ वटा चलचित्रमा काम गरिसकेपछि अबको जीवन पूर्ण रूपमा राजनीति र समाजसेवामा बिताउने निर्णय गरेका हुन्।
तमिल सिनेमाका सबैभन्दा सफल र महँगा अभिनेतामध्ये एक मानिने विजयको यो निर्णयले उनका समर्थकहरूलाई निराश बनाएको थियो। उनको अन्तिम चलचित्र ‘जन नायकन’ हाल सिनेमा घरहरूमा प्रदर्शनरत छ। यस चलचित्रले बक्स अफिसमा राम्रै व्यापार गरिरहेको छ।
विजयको सन्याससँगै बलिउडका ‘मेलोडी किङ’ अरिजित सिंहले पनि मंगलबार साँझ आफ्नो सामाजिक संजालमार्फत् पार्श्व गायनबाट संन्यास लिने घोषणा गरे।
आफ्नो जादुमय स्वरले करोडौं श्रोताको मनमा बस्न सफल ३८ वर्षीय गायक सिंहले अबदेखि चलचित्रका लागि प्लेब्याक सिङगिङ नगर्ने घोषणा गरेका हुन्।
मंगलबार सामाजिक सञ्जाल इन्स्टाग्राम र एक्स (ट्विटर) मार्फत नयाँ वर्ष २०२६ को शुभकामना दिँदै उनले लेखेका छन्, ‘नमस्कार, सबैलाई नयाँ वर्षको शुभकामना। श्रोताका रूपमा वर्षौंदेखि मलाई यति धेरै माया र साथ दिनुभएकोमा म सबैलाई धन्यवाद दिन चाहन्छु। अबदेखि म प्लेब्याक भोकलिस्टका रूपमा कुनै पनि नयाँ काम वा प्रोजेक्ट लिने छैन। म यो यात्रालाई यहीँ समाप्त गर्दैछु। यो एक सुन्दर अनुभव रह्यो।’
करिअरको शिखरमा रहेका र एउटा गीत गाएको ८ देखि १० लाख भारु तथा एउटा कन्सर्टको २ देखि १४ करोड भारुसम्म पारिश्रमिक लिने गायकले किन यस्तो निर्णय लिए भन्ने विषयमा सर्वत्र चासो बढेको छ।
सामाजिक सञ्जालमा आफ्ना फ्यानहरूसँगको अन्तरक्रिया र अन्य पोस्टमार्फत उनले यो निर्णय लिनुका पछाडि एउटा मात्र नभई धेरै कारणहरू रहेको प्रस्ट्याएका छन्।
अरिजितले आफू एउटै शैलीको कामबाट छिट्टै बोर हुने स्वभावको भएको बताएका छन्।
‘मलाई एउटै कुरा गरिरहँदा दिक्क लाग्छ, त्यसैले म कन्सर्टहरूमा आफ्नै गीतका एरेन्जमेन्टहरू परिवर्तन गरिरहन्छु। तर सत्य के हो भने, म अब थाकेको छु। मलाई बाँच्नका लागि अब फरक खालको संगीत चाहिन्छ,’ उनले लेखेका छन्।
पार्श्व गायनबाट बिदा लिए पनि उनले संगीतबाटै संन्यास लिएको भने होइनन्। उनले अब आफ्नो ध्यान भारतीय शास्त्रीय संगीत र स्वतन्त्र संगीतमा केन्द्रित गर्ने बताएका छन्।
‘म फेरि संगीत सिक्न चाहन्छु। म एउटा सानो कलाकारका रूपमा आफ्नै संगीत सिर्जना गर्न चाहन्छु। जब म तयार हुन्छु, म आफ्नै संगीत लिएर आउनेछु,’ उनले भनेका छन्।
अरिजितले आफूले नयाँ गायकहरूलाई सुन्न चाहेको र उनीहरूबाट प्रभावित हुन चाहेको बताएका छन्। आफूले ओगटेको स्थान खाली गरिदिएपछि नयाँ प्रतिभाहरूले अवसर पाउने र त्यसले आफूलाई पनि नयाँ ऊर्जा दिने उनको विश्वास छ।
अरिजित सिंहको लोकप्रियता नेपालमा पनि उत्तिकै छ। करिब दुई वर्षअघि काठमाडौंमा भएको उनको कन्सर्टमा उर्लिएको जनसागरले उनको क्रेज पुष्टि गरेको थियो।
उनको यस निर्णयले नेपाली फ्यानहरू पनि दुखी भएका छन्। नेपाली गायकहरूले सामाजिक सञ्जालमार्फत उनको योगदानको कदर गर्दै आगामी यात्राको शुभकामना दिएका छन्।
गायक प्रताप दासले अरिजितको प्रशंसा गर्दै शुभकामना व्यक्त गरेका छन् भने गायक पुष्पण प्रधानले पार्श्व गायनबाट संन्यास लिए पनि संगीतमा उनको योगदान अतुलनीय रहने टिप्पणी गरेका छन्।
पश्चिम बंगालको मुर्शिदाबादमा सन् १९८७ अप्रिल २५ मा जन्मिएका अरिजित सिंहले सन् २००५ मा रियालिटी शो फेम गुरुकुलबाट आफ्नो यात्रा सुरु गरेका थिए।
यद्यपि, उनले सन् २०११ मा चलचित्र ‘मर्डर २’ को ‘फिर मोहब्बत’ गीतबाट बलिउडमा औपचारिक डेब्यु गरे। तर, सन् २०१३ मा आएको चलचित्र आशिकी २ को ‘तुम ही हो’ गीतले उनलाई रातारात स्टार बनायो। यही गीतका लागि उनले आफ्नो पहिलो फिल्मफेयर अवार्ड जितेका थिए।
झन्डै दुई दशक लामो सांगीतिक यात्रामा उनले चन्ना मेरेया, अगर तुम साथ हो, केसरिया, मुस्कुराने की वजह, खैरियत जस्ता कालजयी गीतहरू गाएका छन्।
उनले हालसम्म एउटा राष्ट्रिय चलचित्र पुरस्कार, आठ फिल्मफेयर पुरस्कारसहित पद्म श्री सम्मान समेत प्राप्त गरिसकेका छन्।
करोडौंको कमाइ र विश्वव्यापी ख्याति भए पनि अरिजित आफ्नो अत्यन्तै साधारण जीवनशैलीका कारण परिचित छन्। महँगा पहिरन र तडकभडकभन्दा टाढा रहने अरिजितको यही सरलताले दर्शकको मन जितेको छ।
उनी प्रायः चप्पल र सामान्य लुगामा देखिन्छन् र आफ्नो गृहनगरमा स्कुटर चलाउँदै गरेको भेटिन्छन्।
अरिजितले सन्यासको घोषणा गरे पनि उनका केही रेकर्ड भइसकेका गीतहरू सार्वजनिक हुन बाँकी छन्। सलमान खानको आगामी चलचित्र ‘ब्याटल अफ गलवान’ मा समावेश ‘मातृभूमि’ र विशाल भारद्वाजको संगीत रहेको ‘ओ रोमियो’ को गीत उनको अन्तिम फिल्म प्रोजेक्टहरूमध्ये हुन सक्छन्।
उनले आफ्ना बाँकी रहेका प्रतिबद्धताहरू पूरा गर्ने स्पष्ट पारेका छन्।
व्यावसायिक सफलतालाई तिलाञ्जली दिएर आत्मसन्तुष्टि र शुद्ध संगीतको खोजीमा निस्कने उनको यो आँटलाई धेरैले सम्मानका साथ हेरेका छन्।
उनले भनेजस्तै, अब उनी फिल्मको पर्दा पछाडि नभई आफ्नै स्वतन्त्र संगीतको दुनियाँमा भेटिनेछन्।
-एजेन्सीको सहयोगमा
प्रकाशित: १४ माघ २०८२ १८:२३ बुधबार





