३२ असार २०८३ बिहीबार
image/svg+xml
कला/साहित्य

‘एभरेस्ट टुरिजम अवार्ड’ सम्पन्न, पेर्टेम्बालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’

<br>

मुलुकको पर्यटन प्रवर्द्धन र साहसिक पर्यटनमा योगदान पुऱ्याउने व्यक्तित्वहरूलाई सम्मान गर्दै ‘एभरेस्ट टुरिजम अवार्ड २०२६’ राजधानीमा भव्य रूपमा सम्पन्न भएको छ।

पूर्व राष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यमा आयोजित एक विशेष समारोहका बिच पर्यटन क्षेत्रका विभिन्न विधामा उत्कृष्ट योगदान पुऱ्याउने स्वदेशी तथा विदेशी नागरिकलाई पुरस्कृत गरिएको हो।

अवार्ड समारोहमा सन् १९७५ मा दक्षिण–पश्चिम मार्गबाट सगरमाथाको शिखरमा पहिलो सफल आरोहण गर्ने टोलीका सदस्य एवं कीर्तिमानी आरोही पेर्टेम्बा शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ बाट विभूषित गरियो।

पूर्व राष्ट्रपति यादवले शेर्पालाई ५१ हजार १ सय ५१ रुपैयाँ नगद, दोसल्ला र सम्मान पत्रसहित पर्यटन क्षेत्रमा उनले पुऱ्याएको ऐतिहासिक योगदानको कदर गरे।

समारोहलाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति यादवले जलवायु परिवर्तनका कारण सङ्कटमा पर्दै गएका हिमालहरूको संरक्षणमा विश्व समुदाय एकजुट हुनुपर्नेमा जोड दिए।

‘यो देशमा हामीले हिमाल बचाउनुपर्छ। यदि हामीले हिमाल बचाएनौं भने हाम्रो पृथ्वीको अस्तित्व नै रहँदैन,’ उनले भने, ‘त्यसैले हामी सबै-तपाईं, हामी र विश्व एकजुट भएर हिमाल बचाउने अभियानमा लाग्नुपर्ने आवश्यकता छ।’

उनले पर्यटन नेपालको अर्थतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै प्रकृति र संस्कृतिको जगेर्ना गर्न सके मात्र पर्यटन दिगो हुने धारणा राखे।

त्यसैगरी, सामाजिक योगदान, मानवीय सेवा र शान्ति स्थापनाका क्षेत्रमा उल्लेखनीय कार्य गरेबापत ‘पीस हिरो अवार्ड २०२६’ बाट पप्पु यादव (राजेश रञ्जन) लाई सम्मान गरिएको छ।

कार्यक्रममा पर्यटन क्षेत्रका विज्ञ तथा अभियन्ताहरू यज्ञप्रसाद गौतम, सुनार बहादुर गुरुङ, बुद्धि नारायण श्रेष्ठ, थाइल्यान्डका विटिद्नान रोजानापनिच र पोर्चुगलका जोआओ गार्सियालाई ‘एभरेस्ट टुरिजम सम्मान’ प्रदान गरियो।

साहसिक पर्यटनतर्फ पर्वतारोहण विधामा ‘एड्भेन्चर टुरिज्म एक्सिलेन्स अवार्ड’ बाट साउदी अरबका राजकुमार प्रिन्स फैसल अल साउद, रुसकी निकोल कोवाल्चुक, बेलायतकी एड्रियाना ब्राउनली र अष्ट्रेलियाकी जो हार्भे सम्मानित भएका छन्। साथै नेपालका पुरुषोत्तम सानु, कल्पना महर्जन, कुञ्जाङ छोपेल शेर्पा, किशोर साहि (क्यानियोनिङ), आङ छिरिङ शेर्पा र सानो बाबु सुनुवार (प्याराग्लाइडिङ) लाई पनि साहसिक क्षेत्रमा पुऱ्याएको योगदानका लागि सम्मान गरिएको छ।

विश्वविख्यात पर्वतारोही निर्मल पुर्जालाई ‘ग्लोबल माउन्टेनियरिङ एक्सिलेन्स अवार्ड’ प्रदान गरिएको छ। पर्यटन क्षेत्रको विशिष्ट व्यक्तित्वका रूपमा डा. रवि शर्मा अर्याल, डा. रमेशराज कुँवर, बेलायतका एन्ट मिडलटन, कलाकार अनमोल केसी, कविता नेपाली र माननीय नीलम पौडेललाई ‘टुरिज्म एक्सिलेन्स पर्सनालिटी अवार्ड’ बाट सम्मानित गरियो।

समारोहमा स्लोभेनियाका पर्वतारोही भिक्टर ग्रोशेल्ज, रेस्क्यु पेम्बा फ्रेन्च शेर्पा, पोखरा अल्ट्रा लाइट, काठमाडौँ वातावरण शिक्षा परियोजना, र नेपाल पर्वतारोहण संघलाई पनि अवार्ड प्रदान गरियो।

संस्थागत विधातर्फ दवारिकाज होटल, वेलनेसमा रमेश सापकोटा, रोषा टुर एन्ड ट्राभल्स, उद्धारमा अशोक लामा, वन्यजन्तु संरक्षणमा मानशान्त घिमिरे, खेलकुदमा रामजी बहादुर श्रेष्ठ, पत्रकारितामा नारायण भण्डारी र बञ्जी जम्पतर्फ ‘द क्लिफ नेपाल’ सम्मानित भएका छन्।

कार्यक्रमकी अध्यक्ष सत्यकला लामाले प्रमुख अतिथि लगायत सम्पूर्ण सहभागी तथा सहयोगीहरूलाई धन्यवाद दिँदै नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय जगतमा थप उचाइमा पुऱ्याउन यस्ता अवार्डले ऊर्जा थप्ने विश्वास व्यक्त गरिन्।

प्रकाशित: १६ जेष्ठ २०८३ १६:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App