नियात्राकार डा. रामदयाल राकेशकाे ‘देश-विदेशका सम्झना’ नियात्रासंग्रहकाे लाेकार्पण भएकाे छ। काठमाडौंस्थित अक्टूबर क्याफेमा आयोजित समारोहमा नियात्राविद् घनश्याम राजकर्णिकारले नियात्रासंग्रहकाे लाेकार्पण गरेका हुन्।
नेपाल नियात्रा समाजका अध्यक्ष मोहन चापागाईको अध्यक्षतामा भएकाे कार्यक्रममा समालोचक डा. कृष्णप्रसाद दाहालले नियात्राकार राकेशको व्यक्तित्व र कृतित्वबारे बाेलेका थिए।
नेपाली नियात्रा साहित्यमा डा. राकेशको अहिलेसम्म आधा दर्जन पुस्तक प्रकाशित भइसकेका छन् र उनले स्वदेश र विदेशको भ्रमण गर्दा नियात्रा संस्मरण नियमित रूपमा लेख्दै आएका छन्। उनको नियात्रा साहित्यमा निकै योगदान छ।
त्यस्तै उक्त कार्यक्रममा रामहरि जोशी स्मृति प्रतिष्ठानका अध्यक्ष बद्रिमान मास्केले डा. राकेशको साहित्यिक योगदानको चर्चा गरेका थिए। नियात्राकार राकेश सर्लाहीको मात्र होइन नेपाली साहित्यको एक असल व्यक्तित्व भएकाे र उनको लेखन रूचिकर भएकाे बताए।
अध्यक्षको आसनबाट नियात्राकार मोहन चापागाईले उनको नियात्राबारे विस्तृत विवेचना गरे।
सोही समारोहमा सिर्जनशील लेखककुञ्जका अध्यक्ष कमल ढकालले पनि डा. राकेशको साहित्यिक योगदानको चर्चा गर्दै लेखनकुञ्जले प्रत्येक वर्ष उनकाे एकएक कृति प्रकाशन गर्ने प्रतिबद्धता पनि जनाए।
प्रकाशित: १२ श्रावण २०८२ ११:३४ सोमबार





