२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
कला/साहित्य

निर्देशक त्रिवेणी राईको ‘सेप अफ मोमो’ प्रदर्शन हुँदै

सिक्किमकी युवा फिल्म निर्देशक त्रिवेणी राईको डेब्यू फिचर फिल्म ‘सेप अफ मोमो’ यही जेठ १५ गते शुक्रबारदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउने भएको छ।

भारतीय अभिनेता तथा निर्माता राना दगुबत्तीको को स्प्रिट मिडियाले फिल्मको प्रदर्शनमा सहयोग गरिरहेको छ भने फिल्ममा भारतीय फिल्मकर्मी जोया अख्तर, रिमा काग्ती, र पायल कपाडीया कार्यकारी निर्माताको रूपमा छन्।

डल्ली खोरसानी प्रोडक्सनको निर्माण तथा कथकला फिल्म्सको सहनिर्माणमा बनेको फिल्मले सिक्किमको हिमाली गाउँको पृष्ठभूमिमा एउटै परिवारका तीन पुस्ताका महिलाको जीवन, सम्बन्ध, मौनता, भावनात्मक विरासत र पहिचानको कथा प्रस्तुत गर्छ।

फिल्मले ‘घर’ भन्ने भावनात्मक अवधारणालाई समेत गहिराइमा नियाल्ने प्रयास गरेको बताइएको छ।

फिल्ममा स्वर्गीय भानुमाया राई, गौमाया गुरुङ, पशुपति राई, राहुल मुखिया र श्यामाश्री शेर्पाको अभिनय छ। निर्देशनसँगै त्रिवेणी राईले किस्ले राईसँग मिलेर पटकथा लेखेकी हुन्। फिल्मको छायांकन अर्चना घाङ्ग्रेकरले गरेकी छन् भने सम्पादन अनिल आलायम र किस्लेले गरेका छन्। ध्वनि डिजाइन अंकिता पुर्कायस्थाको रहेको छ।

निर्देशक राईले ‘शेप अफ मोमो’ व्यक्तिगत अनुभव र वरपरका महिलाहरूको जीवनबाट प्रेरित भएर बनाइएको बताएकी छन्। “मेरो पहिलो फिल्म आफूले नजिकबाट देखेको संसारबाट आउनुपर्छ भन्ने लाग्थ्यो,” उनले भनेकी छन्।

उनका अनुसार स्वतन्त्र फिल्महरूलाई हलसम्म ल्याउन चुनौतीपूर्ण हुने भए पनि फिल्म भारत र नेपालमा प्रदर्शन हुन लाग्नु टोलीका लागि महत्त्त्वपूर्ण उपलब्धि हो।

यो फिल्म ‘बुसान इन्टरनेशनल फिल्म फेस्टिभल र सन सेबेस्टियन इन्टरनेसनल फिल्म फेस्टिभललगायत प्रतिष्ठित अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरूमा प्रदर्शन भइसकेको छ। ती महोत्सवमा फिल्मले पुरस्कारसँगै प्रशंसासमेत पाएको छ।

राना दगुबत्तीले फिल्मलाई “शान्त तर गहिरो प्रभाव छोड्ने कथा” को संज्ञा दिएका छन्। उनका अनुसार ‘स्पिरिट मिडिया’ भावनात्मक इमान्दारितासहित आफ्नै परिवेशमा गहिरो जरा गाडेका कथाहरूलाई प्राथमिकता दिने गर्छ।

कार्यकारी निर्माता जोया अख्तरले फिल्मले सिक्किमेली महिलाहरूको जीवनलाई अत्यन्त आत्मीय र प्रामाणिक ढंगले प्रस्तुत गरेको बताएकी छन्।

त्यस्तै रिमा काग्तीले नयाँ क्षेत्र र नयाँ पुस्ताका फिल्मकर्मीहरूबाट भारतीय स्वतन्त्र फिल्ममा रोचक कामहरू भइरहेको उल्लेख गर्दै ‘शेप अफ मोमो’ त्यसै यात्राको हिस्सा बनेको प्रतिक्रिया दिएकी छन्।

अर्की कार्यकारी निर्माता पायल कपाडियाले भने फिल्मलाई “घरको खोजीमा रहेकी युवतीको भावनात्मक यात्रामाथिको संवेदनशील कथा” भनेकी छन्। उनका अनुसार फिल्म समकालीन भए पनि भावनात्मक रूपमा गहिरो र प्रभावशाली बनेको छ।

प्रकाशित: १४ जेष्ठ २०८३ ०९:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App