दश वर्षपछि फिल्म ‘पीआर’ निर्देशन गरेका निर्देशक शोभित बस्नेत अष्ट्रेलिया उडेका छन्। उनले नयाँ बानेश्वरको एक होटलमा पत्रकार सम्मेलन गर्दै फिल्म रिलिजको लागि आफू अष्ट्रेलिया र न्युजिल्याण्ड उड्न लागेको बताए।
उनले अष्ट्रेलियामा मात्र नभएर न्युजिल्याण्डमा पनि बक्स अफिस मार्फत नै फिल्म प्रदर्शन गर्न लागेको बताए। उनले त्यसैको चाँजोपाँजो मिलाउन आफू जान लागेको बताए।
‘म अहिले अष्ट्रेलिया र न्युजल्याण्ड जाँदै छु, यही ‘पिआर’ को सम्बन्धमा,’ उनले भने,‘१०–१२ दिनका लागि। न्युजिल्याण्डमा पनि बक्स अफिस मार्फत नै फिल्म लगाउ भनेर त्यसैको तयारीमा म निस्किन लागेको हो।’
उनले तीन महिनाअघि नै अष्ट्रेलियाका विभिन्न शहरमा यो फिल्म प्रदर्शन गरिसकेका छन्। जहाँ यो फिल्म हेरेका दर्शकले आफ्नै घरको कथा भएको प्रतिक्रिया दिएका थिए।
उनले थपे,‘अष्ट्रेलिया, न्युजिल्याण्डपछि पोर्चुगल लगायत देशमा पनि यो फिल्म प्रदर्शनका लागि तयारी हुँदै छ। योबाहेक अन्य देशमा पनि केही दिनमा नै फिल्म प्रदर्शनको टुङ्गो लाग्नेछ।’
शोभित बस्नेतले आफ्नै घरको कथा हेरेर अरूको कथा भन्न पीआर तयार पारेको बताए।
उनले थपे, ‘एक त मैले छोरी (सलिना) बाट नै पीआरको कथा पाएको हो। जब एउटा बच्चा विदेश जाँदा हामी बाउआमा नेपालमा बसेर हाम्रो दिमागमा के हुन्छ भने हरेक अष्ट्रेलिया, क्यानडा, जापानमा पैसाको रुख फल्छ र त्यो पैसा टिपेर हामीलाई पठाउनुपर्याे भन्ने सोच हुन्थ्यो। मलाई पनि हुन्थ्यो। पछि मलाई थाहा भयो त्याे होइन रहेछ।’
उनले आफ्नो छोरी अष्ट्रेलिया जाँदा र आफू पनि त्यहाँ पुगेर हेर्दा पैसा बोटमा हैन रहेछ। मेहनतले मात्रै हुने रहेछ भन्ने देखेको र सोही कथा आफूले फिल्म ‘पीआर’ मार्फत भन्न लागेको बताए। उनी आफ्नो फिल्म ‘पीआर’ नेपाली दर्शकले मन पराइदिनेमा ढुक्क देखिए। केही दिनअघि यो फिल्ममा समावेश गीत ‘टाटा बाइबाई’ लाई दर्शकले अत्यधिक मनपराइदिएको र सोहीअनुसार फिल्म हेर्न दर्शक उत्सुक रहेको उनको भनाइ थियो।
प्रकाशित: ३ मंसिर २०८२ १०:५३ बुधबार





