११ चैत्र २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इरानी सैन्य प्रवक्ताको ट्रम्पलाई व्यङ्ग्य : के तपाईं आफैँसँग वार्ता गर्दै हुनुहुन्छ ?

इरानी सेनाका एक शीर्ष प्रवक्ताले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘के उनी आफैँसँग वार्ता गरिरहेका छन्?’ भनी प्रश्न गरेका छन्। 

ड्रोन र क्षेप्यास्त्र आदानप्रदानपछि युद्धविराम सम्झौतामा पुग्ने भनी ट्रम्पले दिएका बयानहरूको आलोचना गर्दै उनले यस्तो बताएका हुन्। 

इरानी सेनाको खातम अल-अन्बिया केन्द्रीय मुख्यालयका प्रवक्ता लेफ्टिनेन्ट कर्नल इब्राहिम जोल्फाघारीले सरकारी टेलिभिजनमार्फत ट्रम्पको खिल्ली उडाएको भिडियो जारी भएको छ। उनले ट्रम्पको रणनीतिक शक्ति असफलतामा परिणत भएको र खोक्रो वाचाहरूको युग सकिएको दाबी गरेका छन्।

‘आफ्नो हारलाई सम्झौताको रूपमा नबनाउनुहोस्। के तपाईंहरूको आन्तरिक द्वन्द्व त्यस्तो बिन्दुमा पुगेको छ जहाँ तपाईंहरू आफैँसँग वार्ता गर्दै हुनुहुन्छ?’ उनले भनेका छन्। ट्रम्प प्रशासनले पाकिस्तानमार्फत १५ बुँदे युद्धविराम योजना पठाएको खबर आएलगत्तै जोल्फाघारीको यो बयान आएको हो। उनले इरान कहिल्यै सम्झौतामा नआउने प्रस्ट पारेका छन्।

ट्रम्पले ४८ घण्टे अल्टिमेटमपछि इरानसँगको युद्धमा पाँच दिनको विराम र ‘उत्पादक वार्ता’ भएको दाबी गरेपछि इरानी पक्षबाट उनको ट्रोलिङ भइरहेको छ। यसअघि एक भिडियो सन्देशमा जोल्फाघारीले अंग्रेजीमा भनेका थिए, ‘हे ट्रम्प, यू आर फायर्ड! यू आर फेमिलियर विथ दिस सेन्टेन्स’ अर्थात् ‘हे ट्रम्प- तपाईंलाई बर्खास्त गरियो। तपाईं यो वाक्यसँग परिचित हुनुहुन्छ।’

सो अवसरमा जोल्फाघारीले हर्मुज जलमार्ग इरानको पूर्ण नियन्त्रणमा रहेको भन्दै शत्रुका लागि बन्द रहने स्पष्ट पारेका छन्। उनले ट्रम्पको ‘एपिक फ्युरी’ अभियानलाई ‘एपिक फियर’ भनेर पनि व्यङ्ग्य गरेका थिए। उनले युद्धको परिणाम सामाजिक सञ्जालमा होइन, मैदानमा निर्धारण हुने बताएका थिए। एजेन्सी

प्रकाशित: ११ चैत्र २०८२ १३:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App