एटलान्टिक महासागरको किनारमा फैलिएको ‘लास अमेरिकास’ ब्युँझिसकेको थियो। महासागरको निलो छालसँग बैंसालु घामले खेलिरहेको थियो। लन्डनको माइनस चार डिग्री तापक्रमबाट बाइस डिग्री तापक्रम भएको टेनरिफमा पुग्दा त्यस बैंसालु घामसँग लोभिएको छु। महासागरतिर फर्काएर राखिएका कुर्सीहरू, क्याफेबाट उँडिरहेका कफीको सुगन्ध र सडक छेउमा लहरै उभिएका ‘पाम ट्री’हरूले मलाई आमन्त्रण गरिरहेका छन्। तिनले मलाई दिनभर यहीं अलमलाउन चाहन्छन् तर समुद्र किनारको चहलपहल र जलक्रीडाको आनन्दबाट केही टाढा, एउटा शान्त र गम्भीर रहस्यलाई नियाल्न जाने योजनामा छु।
‘एल ड्रागो मिलेनारियो’ अर्थात् सहस्राब्दी ड्रागन रुखको रहस्यले तानेको छ मलाई। रहस्यमय रुखसँग साक्षात्कार गर्न लास अमेरिकासबाट उत्तरतर्फ रहेको ‘इकोड डे लोस भिनोस’ भन्ने ठाउँमा कारबाट पुग्नु छ। थाहा पाउनु छ, एक हजार वर्ष बाँचेको रुखको रहस्य। त्यो रुख मात्र होइन, टेनेरिफको जीवित इतिहास पनि हो। चियाउनु छ मैले अलिकति त्यहाँको पुरानो इतिहासलाई।
आजको यात्रामा म, कारमेन र नताशा छौं। यस यात्रामा अरू सहभागी छैनन्। हामी कारमा बस्यौं। कारको स्टेरिङ समाएकी छिन् कारमेनले। कारमेनले कारको इन्जिन स्टार्ट गर्नासाथ रेडियोबाट स्पेनिस गिटारको हल्का मधुर धुन बज्न थाल्यो। मेरो मन खुसीले नाच्न थाल्यो।
कार दौडिन थाल्यो। पछाडि छुट्यो लास अमेरिकास। सहरको कोलाहल क्रमशः शान्तिमा रूपान्तरण हुन थाल्यो। टेनरिफको दक्षिणमा पर्ने सुक्खा र घामले पोलिरहने क्षेत्रबाट हरियालीतर्फ कार अगि बढिरहेको छ। छोटो दुरीमा प्रकृतिको विभिन्न रूप देखिरहेको छु।
‘कार चलाउनेलाई कारमेन भन्छन् हो?’ ठट्टा गर्दै कारमेनलाई जिस्काउँछु। ‘बगैंचा वा देवताको अङ्गुरको बगैंचालाई स्पेनिस भाषामा कारमेन भन्छन्,’ उनले मलाई प्रस्ट्याइन्।
रिटायर्ड जीवन बिताइरहेकी पत्रकार, प्राध्यापक तथा लेखिका कारमेनको संस्थासँग गत वर्षदेखि एक विशेषज्ञका रूपमा म जोडिएको छु। कारमेन उक्त संस्थाको उनी अध्यक्ष हुन् भने नताशा संस्थाकी उपाध्यक्ष। उनको संस्थाले स्पेन, फ्रान्स, पोल्यान्ड, रोमानिया, नर्वे आदि देशमा विभिन्न प्रोजेक्ट सञ्चालनमा ल्याएको छ। ती देशमा विभिन्न कार्यक्रम भइरहन्छन्। त्यसैले यो भ्रमणको अवसर जुरेको हो। सायद भविष्यमा पनि यस्तो अवसर जुर्ला। संस्थाको कार्यक्रम सकिएपछि बचेको फुर्सदको समयमा घुम्न निस्किहाल्छु। त्यसो त आयोजकहरूले पनि घुम्ने चाँजोपाँजो मिलाइरहेका छन्। उनीहरूकै संयोजनमा आज अवलोकन गर्ने अवसर जुरेको छ।
समुद्रको किनाराबाट पहाडमा उक्लिन थाल्यो कार। टेनेरिफको दक्षिणमा पर्ने पर्यटकीय स्थलहरू आँखाबाट ओझेल भए। समुद्रतटीय इलाकाको उज्यालो सफा रङ उतै छुट्यो। पहाडी क्षेत्रको हरियो र गाढा खैरो रङलाई आँखाले स्वाद मानेर हेरिरहेको छ।
बाटामा देखिए ससाना गाउँहरू। रातो छाना भएका साना घरका झ्यालमा झुन्डिएका छन् रंगीन फूलहरू। तिनले अनुपम सुन्दरता थपेका छन्। सडकका किनारमा ठाउँठाउँमा देखिरहेको छु बुढा क्याक्टसहरू। पहाडको हरियालीसँगै शीतल सुगन्ध फैलिएका छन् निकै परसम्म। ती दृश्यहरू मेरो आँखाले खिचेर हृदयमा भण्डार गरिरहेका छन्।
हामी उत्तरतर्फ उक्लिँदै जाँदा सडक अलिक साँघुरो हुन थाल्यो। कारले सयौं नागबेली घुम्ती पार गर्यौं। ती घुम्ती ठ्याक्कै धरान–धनकुटा सडकका जस्तै थिए। अनायसै जन्मभूमिको स्मृतिले स्पर्श गरेर गयो। मनमा गुन्जिन थाल्यो मिठो गीत।
घुम्तीमा नआऊ है तिमी
आँखा तिमी जुधाउन...
‘यो घुम्ती देख्दा नेपालको सम्झना आयो,’ मनमा गुन्जिरहेको गीतलाई रोक्दै मैले भनेँ।
‘नेपालको पहाडमा पनि यस्तै सडक छन् र?’ नताशाको प्रश्न थियो।
‘सबै पहाडमा त होइन तर मुख्यमुख्य पहाडमा सडक पुगेका छन्। अरू पहाडमा सडक बिस्तारै पुग्ने क्रममा छन्,’ मैले जानकारी दिएँ।
उनलाई लागेको थियो नेपाल पहाडै पहाडको देश हो। त्यहाँ बाटो पुगेको छैन। मैले नेपालका पहाड, हिमाल र तराईबारे बताएँ। नेपालको कछुवा चालको विकास र निमार्णको जानकारी दिएँ। कारमेन र नताशाले नेपाल घुम्न जाने रुचि देखाए। मलाई एकदम खुसी लाग्यो। नेपाल यात्राबारे आवश्यक जानकारी दिने र सकेको सहयोग गर्नेछु भन्दा उनीहरूले खुसी माने।
भूपरिवेष्ठित देश नेपालमा जन्मेको मलाई सानो टापु टेनरिफको समुद्र, पहाड र समथर भूगोलले आश्चर्यमा पारेको छ। यदि नेपाल समुद्रसँग जोडिएको भए त स्वर्ग नै हुने रहेछ जस्तो लाग्यो। यो टेनरिफ स्पेनको क्यानारी टापुमध्येको सबैभन्दा ठुलो र बढी जनसङ्ख्या भएको टापु हो।
यो टापु अफ्रिकाको उत्तर–पश्चिमी तटनजिक एटलान्टिक महासागरमा अवस्थित छ। वर्षैभरि १८ डिग्री सेल्सियसभन्दा कम तापक्रम नहुने भएकाले टेनरिफ पर्यटकका लागि लोकप्रिय स्थल बनेको हो। मेरा आँखाले केही दिनदेखि देखिरहेका छन् घाम खोज्दै आएका पर्यटकका भिड।
कार दौडिरहेको मूल सडकबाट टेनेरिफको मुटुमा रहेका माउन्ट टेइडी जाने सडक छुट्टियो। झ्यालबाट बाहिर चिहाउँछु। सुतिरहेको ज्वालामुखीमाथि बसेको माउन्ट टेइडी बादलसँग लुकामारी खेलिरहेको छ।
अन्तिम पटक सन् १९०९ मा माउन्ट टेइडीमा ज्वालामुखी विष्फोट भएको थियो। त्यसले केही क्षति पनि पुर्याएको थियो। ज्वालामुखी विष्फोटको प्रमाणका रूपमा ज्वालामुखी ढुंगाहरू र अनौठा भूआकृतिहरू मेरा सामुन्ने थिए।
‘माउन्ट टेइडीमुनि सक्रिय तर सुतिरहेको ज्वालामुखी छ। कुनै पनि बेला विष्फोट हुनसक्ने बताइएको छ,’ कारमेनले भनिन्। ज्वालामुखी विष्फोट हुँदा जमिनबाट निस्कने ताता लाभाहरू बग्दै गरेको दृश्य टिभीमा देखेको छु। कारमेनको कुरा सुनेर सातो गयो। म डराए पनि लाखौं पर्यटकहरू सुतिरहेको ज्वालामुखीमाथि बसेको पहाडलाई हेर्न गइरहन्छन्। माउन्ट टेइडी पर्यटकको आकर्षण केन्द्र बनेको कुरा त्यतातिर हुँइकिँदै गरेका कार र पर्यटक बोकेका बसले बताइरहेका थिए। युनेस्कोले माउन्ट टेइडीलाई विश्वसम्पदा सूचीमा सूचीकृत गरेको छ।
कारमेनले सावधानीपूर्वक कारलाई एउटा साँघुरो घुम्तीमा मोडेपछि भनिन्, ‘टेनेरिफ टापु केवल समुद्र र रिसोर्ट मात्र होइन, यहाँ ज्वालामुखी, गुआन्चे सभ्यता र बुढा रुखहरूमा इतिहास भेटिन्छ,’ उनको कुरा सुन्दा यो भौगोलिक यात्रा मात्र होइन, इतिहास र समयको यात्रा जस्तो लाग्यो मलाई।
करिब एक घण्टाको यात्रापछि एउटा सानो तथा शान्त सहर इकोड डे लोस भिनोसको एउटा पार्किङमा कार रोकियो। कारबाट बाहिर निस्कनेबित्तिकै अनौठो हावाले स्पर्श गर्यो मलाई।
उक्त हावा नै फरक थियो - अलि चिसो, एटलान्टिक महासागरको वाष्प बोकेकाले अलि भिजेको र अलिकति इतिहासको गन्ध मिसिएको। यो ठाउँ लास अमेरिकासको कोलाहलभन्दा शान्त थियो। यहाँ आवाज भनेको चराचुरुङ्गीको चिरबिर, केही पर्यटकको गुनगुन र हावाको सुसाई मात्र थियो। त्यसले मेरो मनमा अपार शान्ति ल्यायो।
पार्किङबाट हिँडेर हामी एउटा सानो टिकट काउन्टर अगाडि पुग्छौं। टिकट लिएपछि हरियालीले भरिएको एउटा उद्यानभित्र प्रवेश गर्छौं। स्याहार पुगेका बगैंचा, फुल्दै गरेका फूलहरू र सुन्तला रुखहरूले हाम्रो बाटो छेके। हामी त्यहाँ अलमलिएनौं। हाम्रो गन्तव्य थियो एउटा बुढो रुख।
टाढैबाट हामीले ‘एल ड्रागो मिलेनारिया’को आकृति देख्यौं। हतारिँदै हामी त्यस अद्भुत रुखको नजिकमा पुग्छौं। पहिलो नजरमा त्यो रूखजस्तो लागेन मलाई। त्यो रुख एउटा विशाल रहस्यमय प्राणीजस्तो देखिन्थ्यो। त्यसले जमिनबाट उठेर धरती र आकाशसँग एकसाथ संवाद गरिरहेकोजस्तो महसुस भयो मलाई। अरू रूखभन्दा बिलकुलै फरक त्यस रुखको टाउको जराजस्तो देखिने हाँगाहरूले बनेको निकै ठुलो थियो। ‘ड्रागन रुख’ नाम दिइएको करिब २० मिटर अग्लो रुखको टुप्पातिरका हाँगामात्र फैलिँदै गएर एउटा विशाल छाता जस्तो बनेको छ।
यस्तो लाग्थ्यो - अरूतिरका हाँगा काटेर त्यस्तो आकार दिइएको हो। रुखको प्राकृतिक आकार देखेर चकित हुन्छु म।
चकित हुँदै बुढो रुखलाई नियालिरहेको छु। यसको नाम ‘ड्रागन रुख’ सार्थक लागिरहेको छ मलाई। झट्ट हेर्दा यो एउटा शान्त र हलचल गर्न नसक्ने ड्रागनजस्तै ठिङ्ग उभिएकोजस्तो देखिन्थ्यो। यसको बोक्रा ढुंगाजस्तो कठोर र खस्रा खस्रा परेको देखिन्थे। तिनले त्यस रुखको दीर्घ आयुको गाथा सुनाइरहेका थिए। ती बोक्रामा समयका तहहरू पढ्न खोज्छु म। यस घरतीमा हजार वर्षमा कति पुस्ता आए, कति गए, कति आँधी, कति ज्वालामुखी विस्फोट, कति उपनिवेश र सत्ता परिवर्तन भए, ती सबैलाई चुपचाप हेर्दै यो रुख ठिङ्ग उभिएको छ।
ड्रागन रुखको फेद निकै मोटो छ। केही स्थानमा बोक्रा फुटेर खोपिल्टो परेको छ। त्यसबाट रगतजस्तो देखिने रातो रस निस्केको देखिन्छ। यस क्षेत्रमा प्रचलित किंवदन्तीअनुसार त्यो रातो रङको रस नै ड्रागनको रगत हो। त्यस रसमा औषधीय गुणहरू रहेको विश्वास गरिन्छ। धेरै पहिलेदेखि मानिसहरूले त्यस ड्रागनको रगतलाई औषधिका रूपमा र धार्मिक अनुष्ठानमा प्रयोग गर्थे। यस ड्रागन रुखलाई त्यस क्षेत्रका आदिवासी गुआन्चेहरूले अति पवित्र मान्थे। गुआन्चे सभ्यताको साक्षी यस रुखको रातो रसबारे थुप्रै कथा प्रचलित छन्। ती कथा पढ्दा त्यो बुढो रुख झन् रहस्यमय लाग्यो मलाई।
एल ड्रागो मिलेनारियोको ठिक अगाडि उभिएर नियालिरहँदा मेरो चञ्चल मन शान्त भइसकेको थियो। यस रुखबाट कुनै रहस्यमय तर अदृश्य ऊर्जा प्रवाह भइरहेको जस्तो अनुभूति भयो मलाई। म रुखअगाडि निकैबेरदेखि मौन भएर उभिइरहेको थिएँ। कारमेन र नताशा पनि मौन थिए। यस्तो लाग्थ्यो, मानौं रुख र हामी मौन संवाद गरिरहेका छौं।
पहाडको काखमा रहेको बुढो रुखका पातलाई नजिकै रहेको एटलान्टिक महासागरबाट आएको हावाले हल्का हल्लाइरहेको थियो। यस रुखले हजार वर्षमा कति कुराहरू देख्यो होला? टेनरिफको धरतीमा कति सभ्यताहरू आए र गए? कति मानिस यसको छायामा उभिए होलान्? यस रुखले रोमन साम्राज्यको पतनदेखि आधुनिक संसारको केके उतारचढाव देख्यो होला? यस्तै कुरा मनमा कल्पिँदै इतिहासको साक्षी बुढो रुखको छायामा उभिरहेको थिएँ। समय बिस्तारै बगिरहेको अनुभूति भइरहेको थियो मलाई। रुखअगाडि पर्यटकहरू आइरहे र केही फर्केर गए। मचाहिँ अझै बुढो रुखअगाडि शान्तसँग उभिइरहेको छु। मलाई यस्तो लाग्यो कि म बुद्धिमान पुर्खाको अगाडि उभिएका छु। पुर्खारूपी बुढो रुखबाट उपदेश सुनिरहेको छु।
हामी यस धरतीमा छोटो समयका लागि आएका यात्रु हौं तर प्रकृति त स्थायी हो। हजार वर्ष पुरानो रुखले यो सत्य अत्यन्त शान्त तर गहिरो स्वरमा सुनाइरहेको थियो। जीवनको सार केवल गतिशील हुनु मात्र होइन, ठोस र अडिग रहनु पनि हो।
परिवर्तन संसारको नियम हो तर कहिलेकाहीं कुनै चिजको स्थिरताले हामीलाई शान्ति र एक प्रकारको अमरत्वको भावना जगाउन सक्छ। यस बुढो रुखको यस्तै मौन उपदेश चुपचाप सुनिरहेको छु। यस रुखले मलाई मानिसका अहंकारबारे पनि सोच्न बाध्य बनायो। बलिया र शक्तिवान् मानिसहरू, सत्तामा पुगेका शासक र तानाशाहहरू आफूलाई शक्तिशाली मान्छन्। अमर र अजर ठान्छन् तर यो रुख हामीभन्दा धेरै पहिलादेखि थियो र हामीपछि पनि धेरै समयसम्म बाँचिरहनेछ। यस रुखले मानिसलाई घमन्ड त्यागेर विनम्र हुन सिकाइरहेजस्तो लाग्यो।
हजार वर्ष पुरानो भनिने यस रुखबारे इतिहासकार र वैज्ञानिकहरूले विभिन्न उमेर बताएका छन्। कसैले तीन हजार वर्ष पुरानो त कसैले एक हजार वर्षभन्दा कम उमेरको रुख हो भनेका छन्। जसले जेजस्ता तर्क दिए पनि एक हजार वर्ष पुरानो रुख भनेर यसले नाम पाएको छ।
पहाडको नागबेली घुम्ती हुँदै कार ओरालो झरिरहेको छ। मनमा अद्भूत अनुभूतिहरू सम्हालेर उही हल्लाको संसारमा फर्किंदै छु तर मेरो मन अझै पनि त्यो शान्त उद्यानमा रहेको विशाल मौन ड्रागन रुखसँग संवाद गरिरहेको थियो।
प्रकाशित: ९ फाल्गुन २०८२ ०९:४० शनिबार





