भेषजराज साहित्य प्रतिष्ठानले स्रष्टा भेषजराज शर्माकाे ९३ औं जन्मजयन्तीकाे अवसरमा साहित्यकार अनन्त अर्याल र अग्निकुमार रेग्मी ‘पल्लव’ लाई सम्मान अर्पिएकाे छ।
प्रतिष्ठानका अध्यक्ष यमकान्त खनालकाे अध्यक्षता तथा वालिङ बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख तेजप्रसाद काफ्लेकाे प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे हाे।
भेषजराज साहित्य प्रतिष्ठानका सल्लाहकार प्रेमराज लुइँटेलकाे संयाेजकत्वमा गठित तीन सदस्यीय (गङ्गा कर्माचार्य पौडेल र रीना राना) भेषजबिन्दु साहित्यिक पुरस्कार छनोट समितिले सम्मानित स्रष्टाहरूकाे चयन गरेकाे थियाे।
उक्त पुरस्कार स्याङ्जाका साहित्यकार भेषजराज शर्माको नाममा २०६३ सालमा स्थापना भएको हाे। प्रतिष्ठानले नेपाली भाषा र साहित्यका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएका स्रष्टाहरूलाई २०७४ सालदेखि उक्त सम्मान अर्पिंदै आएकाे छ।
वालिङ नगरपालिकाकाे सभाहलमा सम्पन्न कार्यक्रम प्रतिष्ठानकाे मासिक नियमित रचना वाचन ९० औं शृङ्खला पनि सम्पन्न भएकाे छ।
प्रकाशित: ९ कार्तिक २०८२ ११:२३ आइतबार





