जीवनको उच्चता र विचारको सम्मान कायम गर्दै संसारलाई आश्चर्यचकित पारेर साहित्यका लागि दिइएको नोबेल पुरस्कार बहिष्कार गर्ने उपन्यासकार, नाटककार एवं चिन्तक ज्याँ पल सार्त्रले एउटै कुरा भनेका थिए - ती बगाल जो उता हिँडिरहेका छन्, ती नर्क गइरहेका छन्।
सार्त्रले पुरस्कार थापेर ठुल्ठुला अन्तर्वार्ता दिने र ठुल्ठुला फोटा छपाउने ती लेखकलाई यस्तो दनक दिए, जुन सालौंसालसम्म एउटा मापदण्ड बनेर रह्यो।
सात्र्रेले आफ्ना साथी अल्बेयर क्यामुले साहित्यका लागि नोबेल पुरस्कार पाउँदा उनको नाममा एक सम्मानजनक लेख लेखेका थिए। त्यो लेखमा उनले क्यामुलाई पुरस्कारका लागि लेखक नबन्न पनि आग्रह गरेका थिए। यो लेखले यी दुईबिच भयानक तनाव ल्यायो। सायद यसपछि यी दुई मौन सम्बन्धमा रहे।
साहित्यमा ठुलो क्षति
नोबेल पुरस्कार पाएको केही वर्षपछि अल्बेयर क्यामु कार दुर्घटनामा मरे वा मारिए। धेरै वर्षपछि बिबिसी रेडियो सर्भिसको अनुसन्धानले ‘यो कार दुर्घटना एउटा षड्यन्त्र हो’ भन्ने समाचार पनि ल्यायो तर पुष्टि भएको छैन।
‘दि आउटसाइडर’ जस्तो कृतिका लेखक क्यामुले संसारका लेखकलाई उपन्यास लेखनमा आकर्षित गरे। हाम्रो जस्तो मुलुकमा पनि यसको भयावह असर पर्यो।
सन् १९६० मा कार दुर्घटनामा उनको मृत्यु भएपछि ज्याँ पल सात्र्रले पुनः क्यामुका विषयमा एउटा लेख लेखे। त्यो लेख सन् १९६० जनवरी ७ मा फ्रान्स अब्जरभेट्युरमा छापियो। सार्त्र लेख्छन्, ‘हाम्रा झगडाहरू थिए, क्यामु र मेरा। विवाद केही थिएन, यतिसम्म कि हामी एकले अर्कालाई फेरि हेर्ने छैनौं। फगत अर्को तरिकाले सँगै जिउने एउटा शैली, जीवनको एउटा कुनामा रहेको आफ्नो अस्तित्वलाई केही नगुमाईकन बाँच्ने। तर यसले उसको बारेमा सोच्ने मेरो क्रम बन्द भएन।’
दुवै साथी थिए, घनिष्ठ साथी।
दुवैले एकअर्कालाई अति आदर गरेका थिए।सार्त्रले क्यामुको अघिल्लो पुस्तक ‘रिबेल’ प्रकाशित भएपछि सन् १९५२ मा लेखेको ‘रिप्लाई टु अल्बेयर क्यामु’मा लेखेका छन्–‘यो सन् १९४५ को कुरा हो। हामीले क्यामुलाई आविष्कार गर्यौं। प्रतिरोधात्मक कर्मीका रूपमा जसरी हामीले ‘दि आउटसाइडर’का क्यामुलाई आविष्कार गर्यौं।’
सार्त्रले क्यामुबारे बहस गर्दा विशेषतः रिबेलको प्रसङ्गमा भनेका छन् - इतिहासलाई तिमी बहिष्कार नगर।
आज सार्त्र छैनन् र क्यामु पनि। दुवैलाई मित्रका रूपमा सम्झिने धेरै छन्।
सार्त्रलाई पनि नोबेल पुरस्कार दिइयो, सन् १९६४ मा। उनले त्यो नोबेल पुरस्कार अस्वीकार गरे। नोबेल पुरस्कार अस्वीकार गरेपछि उनका दुई टिप्पणी चर्चामा आए। पहिलो, नोबेल पुरस्कार मेरा निम्ति आलुको बोरा बराबर हो। यो टिप्पणी उनको आधिकारिक हो वा होइन, उनले स्पष्ट गरेका छैनन्।
त्यसपछि उनको दोस्रो टिप्पणी आयो, प्रेसका विज्ञप्तिका रूपमा। त्यो प्रेस विज्ञप्तिमा उनले स्पष्ट भनेका छन्, ‘मैले हमेसा नै अफिसियल पुरस्कार (सम्मान) लिन इन्कार गरेको छु। सारा सम्मान जो उसलाई (लेखकलाई) दिइन्छ, त्यसले उनका पाठकमाथि दबाब सिर्जना गर्छ। जुन मलाई लाग्छ, सही होइन। यदि म ज्याँ पल सार्त्र भनेर हस्ताक्षर गरूँ या ज्याँ पल सार्त्र, नोबेल पुरस्कार विजेता भनेर हस्ताक्षर गरूँ। यी दुवै चिज एउटै होइनन्।’
सार्त्रको यो निर्णयले फ्रान्सेली साहित्य जगत्मा हलचल ल्यायो। यद्यपि सार्त्रभन्दा पहिले पनि सन् १९२५ मा जर्ज बर्नाड शा र सन् १९५४ मा बोरिर पास्तरनाकले नोबेल पुरस्कार बहिष्कार गरिसकेका थिए।
हंगेरीमा जन्मेका लेखक ऐली विशेललाई सन् १९८६ मात्र नोबेल पुरस्कार दिइयो। उनले तीनपटक यो प्रस्ताव अस्वीकार गरिसकेका थिए।
नोबेल पुरस्कार विजेता क्यामु र नोबेल पुरस्कार बहिष्कार गर्ने सात्र्र यी दुवै आज पर्यन्त आफ्नै कृति, यश र नामका कारण चिनिन्छन्। पुरस्कार घोषणा गरेको वर्ष क्यामुका कृति बजारमा अलि बढी बिकेका होलान्, जसरी पुरस्कारै नपाएको नोबाकोफको लोलिटा नोबेल पुरस्कार विजेता कृति भनेर किन्ने पनि धेरै छन्।
साठी वर्षपछिको आजको यो इतिहास हेर्दा पनि सार्त्र र क्यामु दुवै समतुल्य छन् वा सार्त्र नै बढी चर्चामा छन्, पुरस्कार बहिष्कार गर्ने लेखक भनेर।
अर्को सन्दर्भ यहाँ आयो, सिनेमाको। सार्त्र जस्तै सिनेमामा पनि यस्ता एक कलाकार छन्, मार्लन ब्रान्डो। हलिउडका एक प्रसिद्ध अभिनेता एवं फिल्म निर्देशक। हलिउडको सर्वाधिक चर्चित फिल्म ‘द गडफादर’ का नायक।
सिनेमामा मेथड एक्टिङका प्रणेता भनेर चिनिने ब्रान्डोलाई अकादमी अफ ओस्कारले सम्मानपूर्वक सर्वश्रेष्ठ अभिनेताका रूपमा ओस्कार पुरस्कार दिने घोषणा गर्यो। उनले पुरस्कार वितरण समारोहस्थल, कोडाक थिएटरमा आफू नआएर एउटी महिला प्रतिनिधि पठाए। ती महिला प्रतिनिधिले पढेको पत्रमा भनिएको थियो, ‘रेड इन्डियनहरूलाई विशेष रूपमा सिनेमामा खलनायक बनाइने कारणले त्यस्ता सिनेमालाई प्रोत्साहित गरिरहुन्जेल म यो पुरस्कार ग्रहण गर्न सक्दिनँ।’

सायद ब्रान्डो सही थिए। उनले सही समयमा यो कुरा घोषणा गरे। एउटा पुरस्कारको तलमाथिले उनको क्यारिअरमा केही फरक परेन। उनको यो विरोधपत्र ओस्कार पुरस्कार वितरण समारोहको हलमा गुञ्जायमान भयो तर यसबारे अकादमी अफ ओस्कारले केही बोलेन।
पचास वर्षपछि यसै वर्ष ओस्कार समितिले ब्रान्डोको त्यो असहमति (पुरस्कार बहिष्कार घोषणा) मा क्षमा मागेको छ। ओस्कारको यो स्वीकारोक्ति सम्माननीय छ तर यो निर्णय सुन्नुपर्ने प्रमुख व्यक्ति मार्लन ब्रान्डो यो जगत्मा अब छैनन् तर उनले उठाएको त्यो आवाज गुन्जिरहनेछ।
ब्रान्डोले जस्तै जर्ज सी स्कटले पहिलो पटक ओस्कार बहिष्कार गरेर ओस्कार पुरस्कारको सूचीमा पहिलो नाम बनेका थिए ।
बहिष्कार गर्नेको लहरमा मैले किन नपाएको भनेर उभिने लस्कर पनि कम छैन हलिउडमा।अल्फ्रेड पचिनो जो अल पचिनो भनेर चिनिन्छन्, उनले आफ्नो भर्खरै प्रकाशित आत्मकथा ‘सोन्नी ब्वाय’मा गुनासो पोखेका छन्, ‘मलाई किन ढिलो ओस्कार दिइयो। म कति पटक ओस्कार पुरस्कार वितरण समारोह स्थलबाट लाजले उभिएर फर्केको छु।’
भारतमै यस्तै कलाकार छन्, धर्मेन्द्र। उनले बारम्बार भनेका छन्, ‘मैले सत्य काम, अनुपमा, चुपके चुपके जस्ता राम्रा फिल्ममा काम गर्दा पनि मलाई फिल्मफेअर अवार्ड दिइएन। खै अब त आशा पनि छैन।’
अभिनेता धर्मेन्द्रलाई पछि आफ्ना छोरा सन्नी देओल अभिनीत फिल्म ‘घायल’ का निम्ति निर्माताका रूपमा फिल्मफेअर अवार्ड दिइयो। त्यो अवार्ड पाउने दिनको घटना उनले रोचक ढङ्गले सुनाएका छन्, ‘म कैयौं पटक फिल्मफेअर अवार्ड कार्यक्रममा गएको छु तर खाली हात फर्केको छु। मेरो छोराले यसपालि त हजुरलाई पुरस्कार दिन्छ भने। म सुटबुट लगाएर तयार भएर बसेँ। उनले कार्यक्रमस्थलबाट संकेत मिल्नेबित्तिकै फोन गर्छु भनेका थिए। राति ढिलोसम्म फोन नआएपछि मेरो रातिको पेग थपिँदै गयो। मैले बिस्तारै जुत्ता खोलेँ। अर्को पेगमा मोजा खोलेँ। त्यसपछि कोट खोलेँ। टिभी हेर्दै थिएँ। निर्मातालाई दिइने पुरस्कारमा मेरो नाम आउनुअगि मलाई छोराले फोन गर्यो। म टुन्न भएर लडिसकेको थिएँ। म गइनँ पुरस्कार लिन।’
धर्मेन्द्रको यो दुःखद कथासित मिल्दोजुल्दो कथा नेपालको सिने सङ्गीत क्षेत्रको छ। नेपालमा पहिलो पटक सिनेमाको पुरस्कार दिने घोषणा भयो, जसलाई व्यापारीहरूको समूह ‘विशाल बजार व्यवसायी समिति’ र ‘लायन्स क्लब’ले आयोजना गरेका थिए। पुरस्कार घोषणा गर्नुअगि नै सर्वश्रेष्ठ गायकमा नारायणगोपालको नाम आयो।
प्रस्ताव नारायणगोपालको निवास महाराजगन्ज पुग्यो। उनलाई पुरस्कार स्वीकार गर्न आग्रह गरियो तर एउटा गीत पनि गाउनुपर्ने सर्तमा।
नारायणगोपालले विनम्रतापूर्वक भने, ‘म गीत गाएको पारिश्रमिक लिन्छु। पुरस्कार लिए वापत म निः शुल्क गीत गाउँदिनँ।
यो विवाद आयोजक र निर्माताबिच करिब एक महिना चल्यो। कार्यक्रम हुने दिन प्रज्ञा भवनको प्रेक्षालयमा नारायणगोपाल पुरस्कार लिन पनि आएनन्। उनको गीत पनि गुन्जिएन।
कान्छी फिल्मको पार्श्व गायनका निम्ति उनलाई सर्वोत्कृष्ट गायकको पुरस्कार दिइएको थियो।त्यो पुरस्कार अझै उनकै नाममा सुरक्षित छ। उनलाई भनेर दिइएको त्यो पुरस्कार अरू कसैले माग्न जाँदा पनि दिइएन। आयोजक संस्थाले हामी भरिया लगाएर पुरस्कार दिन चाहँदैनौं भने।
देशमै पहिलो पटक दिइएको सर्वोत्कृष्ट गायकको त्यो पुरस्कार बहिष्कार गर्दा नारायणगोपालप्रति धेरैले व्यङ्ग्य गरेका थिए। अहिले पनि पुरस्कार दिएबापत फोकटमा गीत गाउन लगाउने चलन नेपालमा कायमै छ।
नारायणगोपालको भनाइ स्पष्ट छ, ‘यदि त्यो व्यावसायिक प्रयोजनको कार्यक्रम हो भने हामीले निःशुल्कमा किन गाउने?’
यही प्रश्न आजको पुस्ताले पनि बुझ्नुपर्छ।
लेखक, कलाकार, स्रष्टा, साधकलाई पुरस्कार वा सम्मानले जीवित राख्ने होइन, उसको आफ्नो कृतिले जीवित बनाउने हो। उन्नाइसौं शदीका महाकवि गालिबले भनेका छन्, ‘स्रष्टालाई आफ्ना सन्तानले होइन, आफ्नो कृतिले चिनाउने हो।’
गालिबका कुनै सन्तान छैनन् तर उनलाई बिसौं र एक्काइसौं शदीसम्म मानिसहरू पढिरहेका छन्, गाइरहेका छन्। त्यसैले त गालिब लेख्छन्–
‘न था कुछ, तो खुदा था, कुछ न होता, तो खुदा होता
डुबोया मुझको होने ने, न होता मैं, तो क्या होता’
गालिब सही थिए। सायद नारायणगोपाल पनि यसरी नै भविष्यको भाषा पढ्दै थिए।
पुरस्कार केही होइन। पुरस्कारका लागि लेख्ने–गाउने र पुरस्कारकै लागि मरिहत्ते गर्ने स्रष्टा-साधकलाई गालिब, सार्त्र, ब्रान्डो वा नारायणगोपालले सन्देश दिएका हुन् कि?
प्रकाशित: ७ भाद्र २०८२ १०:४८ शनिबार




