माघ महिना, चिसो ओछ्यान छोड्न मन थिएन। दोधार थियो, के गर्दा ठिक हुन्छ भन्ने सोच्न सकिरहेको थिइनँ। मेरो विवाह भएको महिना दिन पनि भएको थिएन। घरको जग्गे अझै निकालिएको थिएन। त्यसमा सजिएका फूलका पातहरू सुकिसकेका थिएनन्, भितामा टाँसिएका राता टीकाहरू अझै सुकिसकेका थिएनन्। अझै चम्किरहेका थिए तर चमकभन्दा भित्र कतै एक अदृश्य डर पलाइरहेको थियो । त्यो डरले गर्दा म ओछ्यानमै एउटा जिउँदो लासजस्तो पल्टिरहेको थिएँ । त्यत्तिकैमा ढोकामा ढ्याङ ढ्याङ आवाज आयो। म झसङ्ङ भएँ। ढोका खोल्न उठेँ। बाहिर माहिलो थियो, मेरो बच्चैदेखिको साथी। सँगै हुर्केको साथी। हामी बिहान उठेदेखि राति नसुतुन्जेल प्राय सँगै नै हुन्थ्यौं।
‘होइन, दश बजिसक्यो । तिमी किन सुतिरहेको अहिलेसम्म?’ भन्दै माहिलो पलङको छेउमा गएर बस्यो। ओछ्यानमा पल्टिरहेको कृष्णलाई हेर्छु, आँखामा बाध्यता, निराशा। अनि सम्झिन थालेँ, उनीहरूको विवाह कुनै भव्यतासाथ भएको थिएन। कृष्ण बच्चैदेखि इमानदार, राम्रो सोच अनि अलि भावुक। आमाले सधैं हामीलाई हेरेर ‘तिमीहरू ठुला भयौ, जिम्मेवार हुनुपर्छ’ भन्नुहुन्थ्यो। जिम्मेवारीको अर्थ कृष्णलाई थाहा थियो। त्यो मायाभन्दा ठुलो शब्द थियो। सपना सानो थियो, देशमै बसेर केही गर्ने कृष्णले कहिल्यै विदेश जाने सपना देखेको थिएन।
उसको सपना यही माटोमा सीमित थियो। यहीं केही गर्छु भन्ने आँट अनि आकांक्षा थियो। आमाबुबाको छेउ, पत्नीको साथमा आफ्नै देश अनि यहींको माटोका रम्ने इच्छा छ भनिरहन्थ्यो। कृष्ण सबै कुरामा राम्रो थियो। पढाइमा त्यति राम्रो थिएन। मेरो प्यारो साथी भएको नाताले उसलाई धेरै सम्झाउँथेँ, शिक्षाको महत्त्वबारे पनि बुझाउँथेँ। मैले बोलुन्जेल टाउको हल्लाउँथ्यो। गाउँलेलाई माया गर्ने र समाजसेवा गर्ने काममा सबैलाई जितेर ऊ व्यस्त हुन्थ्यो तर जीवन चलाउन सिप र शिक्षाको त्यत्तिकै महत्त्व हुन्छ। जीवन बित्दै गइरहेको थियो।
म पनि पढाइका लागि काठमाडौं आएको थिएँ अनि ओभरसियर भएर गाउँकै विकास योजनामा काम गर्न व्यस्थ भएँ। कृष्णको चार जनाको परिवार। कृष्ण, उसकी बहिनी र आमा–बाबा। साधारण तरिकाले घरको खर्च चलिहेको थियो। बहिनी पढ्नमा अब्बल। उनमा डाक्टर बन्ने चाहना थियो। कृष्णको विवाहमा बहिनीसित भेट भएको थियो। बहिनीको पढाइ तथा घरखर्च व्यवस्थित गर्नका लागि उसले बाहिर काम गर्नुपर्ने अवस्था थियो। ऊ कामको खोजीमा बिहान जान्थ्यो, साँझ निराश भएर फकिन्थ्यो। ऊ दोषी थिएन, जे काम पनि गर्छु भन्ने उत्साह थियो तर परिस्थिति अनुकूल थिएन। वास्तवमा काम खोज्दा भेटिएको मौनता दोषी थियो।
विवाहपछि ऊ दिनहुँ कामको खोजीमा सहर जान्थ्यो। होटल, निर्माण साइट, गोदाम पसल, जहाँ काम छ भन्ने थाहा पाउँथ्यो, त्यहीं पुग्थ्यो । तर काम माग्दा उसले अपमानका शब्द मात्र पाउँथ्यो। ‘अनुभव छैन? सिप छैन? योग्यता छैन? हामीले राख्न सक्दैनौं’ यस्तो जवाफ पाउँथ्यो। सुरु सुरुमा त हाँस्दै फर्कन्थ्यो तर पछि उसको हाँसो मौनतामा परिवर्तन भयो। ऊ थाकिसकेको थियो। आफ्नो परिवारप्रतिको जिम्मेवारी पूरा गर्न नसक्दा ऊ जीवनदेखि नै निराश थियो। जीवनमा यस्तो मोड आउँछ भन्ने सोचेको पनि थिएन। उता सन्ध्या, नयाँ दुलही, आमासँग व्यस्त हुन्थी। घरको संस्कार, कामकाज, आउना–पाउनाको स्वागतमै व्यस्त थिई। म एकदुई चोटि जाँदा खुसी देखिन्थी। मसँग भेट हुँदा कृष्ण पहिला पहिला काम नपाएको कुरा हाँसेरै भन्थ्यो। पछि उसमा मौनता बढ्दै गयो। एक दिनको कुरा हो, चिया खाँदै एउटा नेताको भाषण सुनिरहेको थियो– ‘युवा देशमै बस्नुपर्छ। यो वातावरण हामीले बनाएका छौं। अब देश विकासको बाटोमा दौडिरहेको छ। हामी निश्चय पनि विदेश जानुपर्दैन। हामी आफ्नो परिवारसँग बसेर आफ्नै घरआँगनमा काम गर्छौं। अब विदेश जानु पर्दैन। युवा नै देशका भविष्य हुन्।’
कुरा सुन्दा कृष्ण हाँसिरहेको थियो किनभने उसलाई यो देशका युवाको अवस्था कस्तो छ, काम माग्न जाँदा कति लज्जित हुनुपर्छ, युवाको जिन्दगी कति उदास छ, परिवार अनि समाजसँग कति झुटो बोल्नुपर्छ, कति निराश मौनतामा जिन्दगी बिताउनुपर्छ भन्ने थाहा थियो। यस्तो अनुभव आफैंले भोगेको थियो।
कृष्णले भनिरहेको थियो– जाऊँ साथी, यस्तो झुटो आश्वासन नसुनौं। यदि युवा यो देशको भविष्य हो भने हामी किन बेरोजगार छौं? म किन रातभरि निदाउन सक्दिनँ? किन मलाई भोलिको डरले सताउँछ? बुबाले साहुको ऋण तिर्न सकिरहनुभएको छैन। पढाइमा अब्बल भएकी बहिनीलाई पढाउन वा निरन्तरता दिन कठिन भइरहेको छ। अब हेर साथी, म विदेश जान्छु। बहिनीको पढाइ, आमाबुबाको औषधी र घरखर्चका लागि। भर्खरै विवाह गरेकी श्रीमतीलाई छोडेर म जानुपर्छ विदेश।
केही पर बसेर एउटा युवकले कुरो सुनिरहेका थिए। ती युवकले अगाडि आएर भन्न थाले– ‘तपाईंहरूको सपनाको समाधान छ। यो अवस्थामा विदेश नै सर्वोत्तम उपाय हो। विदेशमा काम र कमाइ दुवै राम्रो छ। म तपाईंलाई तुरुन्तै उडाइदिन्छु। काम पनि सुनिश्चित गरिदिन्छु।’
कृष्णले अचम्म मानेर ती व्यक्तिको अनुहार हेर्यो। मैले कृष्णका चम्किला आँखा हेरेँ । कृष्णमा धेरै पछि आशा पलाएको देखेँ तर, मलाई थाहा थियो, विदेश त्यसमा पनि कठोर कर्म गर्न जाने खाडी मुलुकमा काम गर्न सोचेजस्तो सजिलो हुँदैन। यहाँ बाध्यता हाबी भइरहेको थियो।
हुन त कृष्णले आफ्नो जन्मभूमिमै बस्न र काम गर्न धेरै प्रयास गरेको हो तर यो देशको विडम्बना, देशको नेतृत्व लिएका व्यक्तिहरू राम्रा नभएर देशका युवा भविष्य खोज्न हरेक दिनबाहिर जान बाध्य छन्। राज्यले देशमा उद्यमशीलताभन्दा रेमिटेन्सलाई अपनाएको छ। ‘ल साथी, घर जाऔं । परिवारलाई पनि भन्छु म। अब विदेश जान्छु दाइ। म भोलि नै सबै डकुमेन्ट दिन्छु,’ कृष्णले भन्यो।
उसले भर्खरै विवाह गरेकी सन्ध्यालाई विदेश जाने कुरा सुनायो। सन्ध्याले सबै सुनिन्, आफ्ना श्रीमान्को बाध्यता पनि बुझिन्। एक छिन चुप लागिन् अनि आँखामा भरिएका आँसु पुछिन्। आफ्नो मनलाई बलियो बनाइन्। मुटु सम्हालेर सुखदुःखको जीवनसाथी श्रीमान्लाई भनिन्– ‘यहाँ बस्दा हामी बाँच्न सक्दैनौं। तपाईं विदेश जानुपर्छ। म आमाबाबा र बहिनीसँग बस्छु।’
कृष्णले सन्ध्याले मन दरो पारेर एक्लै बस्न तयार भइन् भन्ने बुझ्यो। उसलाई भक्कानिएर रुन मन लाग्यो। सन्ध्यालाई एकछिन पनि नछोडौंजस्तो भयो।
भोलिपल्टदेखि आमाले रुँदै सुटकेस तयार पार्न थाल्नुभयो। सन्ध्या मेरा हरेक कपडा सुमसुम्याउँदै सुटकेसमा राख्न थालिन्। बाबाले आफ्नो मनको पीडा देखाइरहनुभएको थिएन। बहिनी म पनि डक्टर पढ्न दादा भएकै ठाउँमा आउँछु भन्दै थिई। घरको वातावरण अर्कै भएको थियो।
‘ओई कृष्ण, केमा टोलाइस्? एयरपोर्ट कुन बेला हिँड्ने? बेला भएन त? अझै ओछ्यानमा, के हो यस्तो? कृष्णले लामो श्वास फेर्यो। ‘बाध्यताले विदेश जानुपर्ने भयो, जुन जन्मेदखि अहिलेसम्म सोचेको थिइनँ। देशले युवा विदेशका लागि जन्माएको रहेछ। तँ भाग्यमानी भइस्, थोरै प्रतिशत देशमा बस्न पाउने युवामध्ये तँ पनि परिस्,’ उसले भन्यो। अनि लुगा लगाउन गयो।
एयरपोर्टमा हजारौं युवा विदेश जान तयार थिए। कोही रोइरहेका थिए, कोही फकाइरहेका थिए। एयरपोर्टमा हजाराैं पीडाको संगम थियो। त्यहाँ एउटा मात्र कथा थिएन, धेरैको पीडा उस्तै थियो। सबैको अनुहार उस्तै थियो– लज्जित, त्रस्त, थकित, मौन। कोही खुसी थिएनन्। भित्र जाँदै गर्दा सन्ध्याको हात छोड्नुपर्यो। उसलाई आफू आधा भएकोजस्तो लाग्यो। ‘सन्ध्या, म छिटै फर्किन्छु, तिमी राम्ररी बस्नु,’ उसले भन्दै थियो।
विदेश, जहाँ श्रमले मान्छे चिनिन्छ। उसका वृद्ध आमाबाबा, महिना दिन पनि सँगै नबसेकी दुलही, बहिनीको पढाइको खर्च कसैले महसुस गर्दैन। उसको पीडाको कुनै अर्थ छैन। थकित भएर राति सुत्दा नेपाल सम्झियो, परिवारको सामीप्य सम्झियो। जीवन थियो त केवल मेसिनजस्तो थियो, अनि जीवन श्रममा थियो।
यो कथा कृष्णको मात्र होइन, नेपालका धेरै युवाहरूको हो, जहाँ मायाले निर्णय गदैन, रोजगारीले निर्णय गर्छ। यो कथा देशलाई दोष दिन लेखिएको होइन, केवल प्रश्न गर्न लेखिएको हो। यो देशमा बिहेपछि सिन्दूरभन्दा पहिला पासपोट रातो हुन्छ। म जान चाहन्नथेँ तर देशले बस्न दिएन!
प्रकाशित: १० माघ २०८२ ०७:०२ शनिबार





