९ माघ २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

झर्नुस्-झर्नुस् चौरासी आइपुग्यो!

निबन्ध

खोलाले बगायो। खोलाले कि धाराले? अर्को स्वर थपियो। त्यही धारा खोलामा मिसियो र त बगायो, अर्कोले कुराको अर्थ खोल्यो। मैले कुरा बुझिन, तपाईं सुनलाई लसुन र लसुनलाई सुन बनाउने कुरा नगर्नुस्। यो संवाद सुनेर गाडीमा भएका सबै यात्रु हाँसे।

म त हिरालाई किरा र किरालाई हिरा पनि बनाउन सक्छु। एयरपोर्टतिर काम गरेर आएको मान्छे हुँ। चानचुने नसोच्नुस्। तर, यहाँ केलाई के बनाउने भन्ने कुरा होइन। समस्याले समस्यालाई नै कसरी निल्यो भन्ने हो। हुन त हाम्रोमा सुन त पित्तल हुन्छ। संवाद बढ्दै गयो। कुरा के हो त्यो त भन्नुस्? महोदय, पहिला पार्टी बग्यो। अहिले मन्दिरको गजुर।

कहाँको पार्टी बग्यो। त्यो क्या त भैंसेपाटी। अनि त्यहाँ के भो। सजाय हुने भो। कस्तो सजाय? किनेको बारी, अहिले अल्झियो पारी। छ्या तपाईंको कुरा हो कि सुरुङ? छेउटुप्पो केही भेटिन्न । त्यत्रो प्लेन त स्वाट्ट निले। तपाईं बाज हो र टाढाको कुरा देख्नलाई।

अनि बार्दलीमा बसेर गिरीबन्धुको चिया प्यूँदै यति, ओम्नीको समाचार पढ्नुको मजा कस्तो हुन्छ थाहा छ? यो संवाद सुनेर गाडीमा भएको एउटा यात्रुले मुख छोप्यो। बाँकीले हाँसोको फोहोरा बर्साए।

छ्या तपाईं त अचम्मको मान्छे हुनुहुँदो रहेछ। होलीवाइनको मात छुटेको छैन कि क्या हो? बेतुकको कुरा नगर्नुुस्। तपाईंलाई सर्प लाएर खेदाउनु नपरोस्। लायो सर्प। चुच्चे नक्शाले छेडेको छाती अहिले माछाको काँडा भो। गुरुजीले हर्न बजाए।

भो त्यो कुरा छोड्नुस्। हारेका र पूर्वको गतिविधि के छ? कसैले नदिएको चुनौती दिए भन्दै थिए। खै रसुवागढी नाका झैं हुन्छ कि! हैन आयात निर्यात नै बन्द भएको हो? थापागाउँ बागमती नतर्ने रे। ए हो? बागमतीमा पानी अझैं छ। हैन ट्याङ्कीको राख्ने रे। हैट! च्यासलमा ग्यास सिलिन्डर अड्केर पनि बग्यो। थापागाउँलाई कब्जियत छ, पेप्सी पिउँदा कसो होला?

भुटानी अमेरिकन भए तपाईं धेरै फुटानी नगर्नुस्। गुरुजीले ब्रेक लाए सबै अगाडि हुत्तिए। भाउजू मन्त्री भइँन्, नत्र। नत्र के? नत्र बाहिरबाट कसैले नदेखुन् भनेर झ्यालमा प्लाइ ठोक्ने थिए। ठोक्यो प्लाई एमसीसीले दिएको बत्तीले भित्र कति उज्यालो छ। त्यो बाहिरको गनगन को सहन्थ्यो र। तपाईं बढ्ता नबोल्नुस्। कति फ्याउँफ्याउँ गरेको। तपाईंले जे भन्यो त्यही हुन्छ? यहाँ हामीलाई कति गाह्रो छ। भित्रभित्र अलि सरेर बस्नुस्। तपाईं यता फर्किनुस्। ओ! दाजु तपाईं उता फर्किनुस्। गुरुजीले यात्रुलाई मिलाए।

ऐया हो कति ठेलेको। म च्यापिएँ। तपाईं त च्यापिनु मात्र भो म लड्न लागे। भात खाइरहेको थाल बोकेर हिँडेपछि लड्दैन त? जनताको हाल देख्नुभएको छ? दुई पूर्व प्रधानमन्त्री भए बहुमतको प्रधानमन्त्री बन्ने सपना आखिर राष्ट्रिय पार्टी नभएर तुहियो। तपाईंलाई त च्याप्नुमात्र होइन पछाडि नै पुर्‍याउनुपर्ने हो। बरु पछाडि नै राख्नुस् तर कुर्सी दिनुस् गुरुजी। तपाईंलाई कुर्सी हुँदैन। पन्ध्र वर्ष त्यही कुर्सीमा बसेर थाक्नुभएको छैन। कुर्सीबाहिर त गाह्रो हुँदो रहेछ है गुरुजी।

देश त सिङ्गापुर नै भयो नि हैन? गाउँगाउँमा सिंहदरबार पुग्यो। सिंहदरबार त पुग्यो, भवन बन्यो।  गाडी चढ्यो तर स्वभाव मात्र सर्यो। सुविधा सरेन। नागरिकको सास्ती हरेन। कर्मचारीले टेरेन, नेताले नागरिकलाई हेरेन।

एए मेरो खल्तीमा हात हाल्ने को हो? ए गुरु रोक्नुस् रोक्नुस्। मेरो पकेट मारियो। यहाँ रोक्न मिल्दैन, पख्नुस् स्टेशन आउन दिनुस्। चोरचोर। भाग्यो भाग्यो। यहाँ तपाईंहरूले देशै लुटेर खाइसक्नुभो जाबो पकेट मारेकोमा कति चिच्याएको। गुरुजी तपाईं पनि त्यो चोरसँग मिलेको हुनुपर्छ। तपाईं मलाई आपूmजस्तो नसोच्नुहोस्। तपाईंहरूको जस्तो ढोका लाएर झ्याल खोल्ने मेरो बानी छैन।

कहिले राष्ट्रिय परिचय पत्रको नाममा जनतालाई दुख दिएर कमिसन कुम्ल्यायो। सवारी अनुमति पत्रको खेल अझैं चलिरहेको छ। अहिले इम्बोस्ट नम्बर प्लेटमा खाइरहनुभएको छ। खाने ठाउँ कहीँ नपाएपछि सडकमा रातो पोतेर पनि खानुभो। तपाईंले नखाएको के छ?

नदी खानुभो। पहाड बाँकी छैन। कलकारखाना सकिए। हुँदाहुँदा युवा विदेश पठाएर कमिसन खाएर पान चपाएजस्तै थुकिरहनुभएको छ। हैन यो सबै पचाउन सक्ने तपाईं मान्छे हो कि मेसिन? मेसिन पनि स्वीच थिचेपछि बन्द हुन्छ। केही अड्कियो भने आफैं रोकिन्छ। तर, तपाईं त ...।

यता साइड लाउनुस् म झर्छु। तपाईंको कचकच कति सुन्नु। लु झर्नुस्। यहाँ त खाल्डो छ। ए खाल्डो देख्नुभो? यो खाल्डो बनाउन कसले सहयोग गरेको? ठेकेदारसँग मिलेर कमिसन र स्थानीय गुण्डा भत्ता कस्ले खाएको। जनतालाई वर्षात्मा हिलो र हिउँदमा धुलो कसले खुवाएको? वर्षौसम्म काम नसक्ने ठेकेदारलाई तपाईंले किन कारवाही नगरेको? तपाईं यही झर्नुस्।

गुरुजी माफ गर्नुस् म बैठकमा हिँडेको मेरो कपडा बिग्रिन्छ, म यहाँ झर्न सक्दिन। ए यहाँ युवाको भविष्य बिग्रियो। नागरिकको अवस्था बिग्रियो। राम्रो शिक्षा छैन। स्वास्थ्य गुणस्तरीय भएन। रोजगारी छैन यीबारेमा चिन्ता छैन। जाबो कपडाको चिन्ता? तपाईं जनताको सहयोगी हो कि मालिक?

गुड्दै गरेको गाडी बन्द भयो। किन गाडी बन्द भयो। कस्तो थोत्रो गाडी। यो तपाईंभन्दा अलि राम्रो कन्डिसनमा नै छ। तपाईं त अब ग्यारेजमा थन्किेने बेला भयो। यो गाडी अझैं पन्ध्र वर्ष चल्छ। त्यसपछि राज्यले अतिरिक्त शुल्क लगाउँछ बुढो भएकोमा। तपाईं खुसी हुनुस् अर्को वर्षबाट वृद्धभत्ता पाउँदै हुनुहुन्छ।

तपाईं धेर बुढोबुढोको रटान नलगाउनुस्। कोही पनि व्यक्ति लगातार ४० वर्ष पार्टी अध्यक्ष हुँदैमा बुढो हुँदैन। बुढो त ती हुन् जसले आफू नेतृत्व गर्न चाहँदाचाहँदै अरूलाई ४० वर्षसम्म लगातार पार्टी अध्यक्ष बनाउँछन्। कोही दाह्री पाल्नेले म नेतृत्व लिन्छु भन्दैमा खरक्क दिनलाई त पहिला मलाई अध्यक्ष बनाउनु परेन?

आउनुस् आउनुस् सिट खाली। ए गुरुजी सिट चैँ कहाँ खाली छ हँ? यहाँ च्यापिएर मर्ने बेला भयो। माफ गर्नुस् महोदय तपाईं नेपालमा सार्वजनिक यातायातमा यात्रा गर्दै हुनुहुन्छ। यहाँ जे पनि लाइनमा राख्नुपर्छ। सरकारी कार्यालयले नागरिकलाई लाइनमा राखेपछि सार्वजनिक यातायातमा पनि बानी पार्नु परेन! विदेश हो र अनलाइनबाट काम गर्नका लागि। नेपालमा त अनलाइनमा भरेको विवरण पुष्टि गर्न पनि कागजात बोकेर नै जानुपर्छ। पर्खनुस् चौरासीमा भेटौँला। चौरासीमा पनि यही बस यही रुटमा चलिरहेको हुन्छ।

झर्नुस् झर्नुस्। भाँडा दिनुस्। चौरासी आइपुग्यो। यो अन्तिम स्टेसन हो। यहाँभन्दा उता मेरो रोड परमिट छैन। झर्दै गर्दा एउटा बोल्यो तपाईं चौरासीमा के पूजा गर्ने? वा योगी बन्ने? भैंसी पूजा त पहिले नै गरिसकिएको छ। अब जेलबाट कृष्ण जन्मेपछि पनि खोजी गर्ने कङ्शको नै हो। गुरुजी मेरो फिर्ता खै! खुल्ला छैन भोलि मिलाउँला। ट्राफिक आइपुग्यो, झर्नुस् झर्नुस् छिटो झर्नुस्।

(निबन्धकार पाैडेलकाे धमिराकाे देवल निबन्धसङ्ग्रहमा सङ्गृहीत।)   

प्रकाशित: १५ कार्तिक २०८२ १४:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App