२०२७ को अस्कार अवार्डको लागि एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एण्ड साइन्सेसले अन्तर्राष्ट्रिय फिचर श्रेणीको नियमहरू परिवर्तन गरेको छ।
अन्तर्राष्ट्रिय फिल्म पुरस्कार ‘अस्कर अवार्ड्स’ को नियममा गरिएको नयाँ परिवर्तनले सिनेमालाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ। झन्डै सय वर्षको इतिहासमा यी परिवर्तनलाई सबैभन्दा ठूला निर्णयमध्ये एक मानिएको छ।
नयाँ व्यवस्था अनुसार अब कुनै पनि फिल्मलाई आफ्नो देशबाट आधिकारिक एन्ट्री बन्नु अनिवार्य नरहेको बताइएको छ। अब कुनै पनि फिल्म कान्स फिल्म फेस्टिवल, भेनिस फिल्म फेस्टिवल, टोरन्टो इन्टरनेशनल फिल्म फेस्टिवल, बर्लिन इन्टरनेशनल फिल्म फेस्टिवल, सनडान्स फिल्म फेस्टिवल वा बुसान इन्टरनेशनल फिल्म फेस्टिवल जस्ता प्रतिष्ठित महोत्सवहरूमा शीर्ष अवार्ड जित्छ भने सो फिल्म सिधै ऑस्करको प्रतिस्पर्धामा सहभागी हुन पाउनेछ।
विगत केही वर्षदेखि यसको छनोट प्रक्रियामाथि प्रश्न उठ्दै आएका थिए। सन् २०१३ मा इरफान खान अभिनित बलिउड फिल्म ‘द लंच बॉक्स’ लाई लिएर विवाद भएको थियो।
कान्स फिल्म फेस्टिवलमा प्रशंसा पाए पनि यसलाई आधिकारिक एन्ट्री दिइएको थिएन। यसको सट्टा ‘द गुड रोड’ पठाइएको थियो। त्यसबेला अनुराग कश्यप लगायतले यसबारे आलोचना गरेका थिए।
नयाँ नियम अनुसार अब इन्टरनेशनल फिचर अवार्डको श्रेय देशभन्दा पनि फिल्मका निर्देशकलाई दिइनेछ। साथै, एउटै देशबाट एकभन्दा बढी फिल्महरू पनि प्रतिस्पर्धामा पुग्न सक्ने सम्भावना बढेको छ।
प्रकाशित: १९ वैशाख २०८३ १७:३३ शनिबार





