२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

१६०औँ मोती जयन्ती : नेपाली साहित्यका शिरोमणिको सम्झना

आज राष्ट्रिय विभूति र युवाकवि मोतीराम भट्टको १६०औँ जन्मजयन्ती मनाइँदै छ। यसै अवसरमा आज नेपाली शिक्षा परिषद्, नेपाल प्रज्ञा प्रतिष्ठानलगायत विभिन्न साहित्यिक संस्थाले कार्यक्रम आयोजना गरिँदैछ।  

विसं १९२३ साल भाद्रकृष्ण कुशे औँसीमा जन्मेर विसं १९५३ साल भाद्रकृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा मृत्यु भएका मोतीराम भट्टले नेपाली साहित्यमा बृहत् योगदान पुर्‍याएका थिए। नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका युवाकवि मोतीराम भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनाका साथै नेपालमा छापाखाना भित्र्याएका थिए। यही छापाखानामार्फत नेपालमा पत्रकारिताको सुरुवात भएको हो।  

मोतीराम भट्टलाई विशेष गरी नेपाली साहित्यमा युवाकवि र गजलका शिरोमणि भनेर चिनिन्छ। मोतीराम भट्टले नेपाली साहित्यमा फारसी शैलीको गजल विधा भित्र्याएका थिए। उनले भानुभक्त आचार्यको रामायणलाई सम्पादन गरी प्रकाशित गरेपछि गजल लेखन सुरु गरेका थिए। उनको यो योगदानले नेपाली साहित्यमा गजल लेखनको परम्परा सुरु भयो, जुन वर्तमान समयमा झनै रुचिको विधा बन्दै आएको छ।  

भानुभक्त आचार्यको रामायणलाई नेपाली समाजमा लोकप्रिय बनाउने काम पनि मोतीराम भट्टले गरेका थिए।  

मोतीराम भट्टले शृङ्गार रसमा आधारित कविता र गद्यमा रचना गरेका थिए। विशेष गरी उनका रचनामा प्रेम, विरह, र प्राकृतिक सौन्दर्यको चित्रण छ। समग्रमा, मोतीराम भट्ट नेपाली साहित्यका एक प्रभावशाली व्यक्ति हुन्। उनले छोटो समयमै साहित्यिक क्षेत्रमा ठूलो प्रभाव छोडेकाले उनलाई आजसम्म पनि उच्च सम्मानका साथ स्मरण गरिन्छ।

प्रकाशित: ७ भाद्र २०८२ ०७:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App