लघुकथा समाज, नेपालले यतिबेला उन्नाइसाैं लघुकथा दिवस मनाइरहेकाे छ। लघुकथा समाजका अध्यक्ष तुलसीहरि कोइरालाको अध्यक्षतामा लघुकथा गाेष्ठी भएकाे छ।
काठमाडाैंस्थित ठमेल, चिबहालमा लघुकथा समाज, नेपालकाे संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ रोदनकाे प्रमुख आतिथ्यमा गाेष्ठी भएकाे हाे।
कार्यक्रममा राेदनले लघुकथा लेखन संख्यामा बृहत्तर रहे पनि यसको सर्वमान्य सिद्धान्त बन्न नसक्नु दुःखद् भए पनि लघुकथा दिवसलाई सबैतिर स्विकारिनु सुखद रहेको बताए।
लघुकथा समाज स्थापना भएको १९ वर्ष पुगेको छ। नेपाली लघुकथाको संस्थागत विकास र सम्वर्द्धनमा लघुकथा समाजले स्थापनाकालदेखि नै भूमिका खेलेको बताए।
कार्यक्रमका अतिथि लघुकथाविद् डा. हरिप्रसाद भण्डारीले गोष्ठीमा वाचित लघुकथाहरूमाथि प्रतिक्रिया राख्दै अधिकांश लघुकथा वर्तमान समयका विकृति र विसंगतितिर व्यङ्ग्य गरिएको बताए। उनले लघुकथाका मापदण्डमाथि निजी धारणा व्यक्त गर्दै आफ्नो लघुकथा वाचन गरेका थिए।
त्यस्तै अतिथि लघुकथा केन्द्रका संस्थापक अध्यक्ष लता केसीले वर्तमान समयमा लघुकथाको क्षेत्रमा देखिएका समस्या र चुनौतिहरूको समाधान खोज्न सबै लघुकथाप्रेमी संस्थागत वा व्यक्तिगत रूपमा एक हुनुपर्ने आवश्यकता औल्याउँदै आफ्नो लघुकथा वाचन गरेकी थिइन्।
कार्यक्रमका सभाध्यक्ष कोइरालाले १९ औँ लघुकथा दिवसका अवसरमा विगतमा झैं लघुकथा गोष्ठी, लघुकथाको नाटक मञ्चन, सम्मान समर्पण आदि कार्यक्रम गरेर मनाइने बताए।
कार्यक्रममा श्रीबाबु कार्कीले अतिथिजनप्रति शब्द स्वागत गरेका थिए। समाजका सदस्य तारा केसीले सञ्चालन गरेकाे उक्त कार्यक्रममा सुमन सौरभ, दीपक लोहनी, ध्रुवराज थापा पुरुष, सत्या अधिकारी, मन्दिरा मधुश्री, शोभा अधिकारी लगायत दर्जनौँ लघुकथाकारले आआफ्ना लघुकथा वाचन गरेका थिए।
प्रकाशित: ५ भाद्र २०८३ ११:३९ शुक्रबार





