३२ असार २०८३ बिहीबार
image/svg+xml
कला/साहित्य

मनाइयाे ‘महालक्ष्मी साहित्य उत्सव’

महालक्ष्मी साहित्य समाज, ललितपुरले 'महालक्ष्मी साहित्य उत्सव तथा स्रष्टा सम्मान' कार्यक्रम-२०८३ सम्पन्न गरेकाे छ।

सहआयोजनामा महालक्ष्मी नगरपालिका वर्डा न-९ र मिडिया पार्टनरमा फोटोज बाइ चेल्सीको भूमिका रह्यो।

प्रमुख अतिथि महालक्ष्मी नगरपालिकाका उपप्रमुख लक्ष्मी महर्जनले मानसमा बत्ती बालेर कार्यक्रमको समुद्घाटन गरेका थिए। ट्रिबोन्स रिसोर्ट, लामाटारमा कार्यक्रम आयोजना गरिएकाे हाे।

महालक्ष्मी साहित्य उत्सव तथा स्रष्टा सम्मान' कार्यक्रम-२०८३ लाई सम्बोधन गर्दै प्रमुख अतिथि महर्जनले आफ्नो जीवन भोगाइ र सङ्घर्षबारे पुस्तक प्रकाशन गर्न लागेको बताउँदै जीवन जिउने कला र समाज परिवर्तनका लागि कविहरूको योगदान महत्त्वपूर्ण रहेको चर्चा गर्दै संस्थापक अध्यक्ष श्रीराम पौडेललाई लगायतलाई सम्मान गरेका थिए।

विशिष्ट अतिथि महालक्ष्मी नगरपालिका वडा नं.-९ का अध्यक्ष जयकृष्ण बोगटीले कविहरू भनेका समाजका अग्रणी व्यक्तित्वहरू भएकाे बताए। उनीहरूले जीवन र जगतलाई व्यक्त गर्ने सामर्थ्य राख्ने बताउँदै भौतिक विकास मात्र नभएर मानसिक र बौद्धिक विकास पनि हुनुपर्नेमा जोड दिए।

कार्यक्रमका विशेष अतिथि वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलले मन्तव्यसहित गजल वाचन गरेका थिए। त्यस्तै प्राज्ञ अगिब बनेपाली, प्राज्ञ चेतनाथ धमला र प्राज्ञ पञ्चकुमारी परियारले मन्तव्यकाे साथ कविता वाचन गरेका थिए।

चलचित्र लेखक रामशरण पाठक, कवि भक्तबहादुर पण्डित, कलाकार नरेन्द्र थापाले आआफ्नो धारणा प्रस्तुत गरेका थिए।कार्यक्रममा कवि तथा आख्यानकार प्रोल्लास सिन्धुलीयले कविता र कवि रञ्जु दाहालले मन्तव्यसहित कविता वाचेका थिए।

रुविना रानाका अनुसार यस 'महालक्ष्मी साहित्य उत्सव तथा स्रष्टा सम्मान' कार्यक्रममा कविहरू गोविन्दबहादुर खड्का, राजेशमान केसी, तारा केसी, विभरा किराती, कैलाशकुमार मल्ल, रविन्द्रकुमार थापा, शेखर आचार्य, नारायण सिलवाल, बिर्खे अञ्जान, वसन्त ओली वसन्ती, माधव विडारी चेतनपथ, सुनिता चौलागाईं, विकास केसी, सञ्जय सोती, लक्ष्मी दास महर्जन, चन्दा सुनार, चन्द्रलाल तामाङ,लीलाराज दाहाल, बसुन्धरा चौहान ,नानीराम बस्नेत,रोमा लम्साल, एकता केसी, रमेश बलामी,आवेश मिश्र,भद्रध्वज गौतम र त्रिपुरा पौडेल आदि स्रष्टाहरूले कविता लगायतका रचना वाचन गरेका थिए।

यसैगरी बाँसुरीवादक मातृकाप्रसाद सङ्गौलाले नाकले बाँसुरीधुन प्रस्तुत गरेका थिए। समाजका संस्थापक सदस्य तथा महालक्ष्मी- -९ का पूर्व अध्यक्ष बासु गौतमले संस्थाको परिचयसहित कविता वाचन र संस्थाका सदस्य विष्णु थापाले स्वागत मन्तव्य राखेका थिए।

कार्यक्रमका सभाध्यक्ष तथा महालक्ष्मी साहित्य समाज,  ललितपुरका अध्यक्ष विनोद खत्री 'आकाश' ले गजल वाचन गरेर कार्यक्रमको समापन र उद्घोषण संस्थाका उपाध्यक्ष जुमन किरणले गरेका थिए। महालक्ष्मी साहित्य उत्सवमा विभिन्न जिल्लाका स्रष्टाहरूको उपस्थिति रह्यो।

प्रकाशित: २४ जेष्ठ २०८३ ०६:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App