विभिन्न कार्यक्रमकाे साथ १८औं पुस्तकालय दिवस मनाइएकाे छ। कल्पलता साहित्य परिवार, नेपाल लाइब्रेरी फाउन्डेसन गृहपुस्तकालय अभियान बागमती प्रदेश समन्वय समिति र काठमाडौं जिल्ला समन्वय समितिले १८औं पुस्तकालय दिवस टोखा - ८ स्थित जालपा पुस्तकालयमा पुस्तकालय दिवस मनाएकाे हाे।
कार्यक्रममा कल्पलता द्वैमासिक पूर्णाङ्क १७ लोकार्पण गरिएकाे थियाे। कल्पलता साप्ताहिक काव्यवाचन १८४औं श्रृङ्खला अन्तर्गत केही साहित्यकारले पठन संस्कृति र पुस्तकालय सम्बन्धी रचना वाचन गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथि नेपाल लाइब्रेरी फाउन्डेसनका अध्यक्ष डा. छायादत्त न्यौपाने 'बगर'ले पठनसंस्कृति कुनै पनि समाजको बौद्धिकता, सिर्जनशीलता र नैतिक चेतनासँग प्रत्यक्ष सम्बन्ध राख्ने विचार व्यक्त गरेका थिए। उनले पठनसंस्कृति नै सचेत, सिर्जनशील र नैतिक समाज निर्माणको आधार भएकाले बाल्यकालदेखि नै पढ्ने संस्कार रोप्न सके सचेत, सिर्जनशील र नैतिक समाज निर्माण गर्न ठूलो आधार बन्न सक्ने बताए।
उक्त अवसरमा डा. मेघराज ढकालले पुस्तकालयको इतिहासबारे जानकारी राख्न सुझाव दिंदै पुस्तक पढ्ने बानी ज्ञान प्राप्तिको माध्यम मात्र नभएर जीवन दृष्टिकोण विकास गर्ने महत्त्वपूर्ण अभ्यास भएकाे बताए।
कार्यक्रमको सटिक समीक्षा गर्दै डा. प्रेमराज सिलवालले हालको सन्दर्भमा पठनसंस्कृति पर्याप्त र सशक्त नभए पनि भविष्यकाे सम्भावना प्रचुर रहेको बताए।
उक्त अवसरमा नेपाल लाइब्रेरी फाउन्डेसन गृहपुस्तकालय अभियान बागमती प्रदेश समन्वय समितिका संयोजक देवराज सिंखडाले पठन संस्कृति प्रवर्द्धन, सम्भावना र चुनौतीबारे बोल्दै गृहपुस्तकालय अभियानका सम्बन्धमा प्रकाश पारेका थिए।
जापला पुस्तकालयका सल्लाहकार तथा कल्पलता साहित्य परिवारका उपाध्यक्ष दिपक बानियाँको सभाध्यक्षता, नेपाल लाइब्रेरी फाउन्डेसन गृहपुस्तकालय अभियान काठमाडौं जिल्ला समन्वय समितिका संयोजक घनबहादुर थापाकाे संचालन र कल्पलता साहित्य परिवारका सदस्य जे.पी. नेपालले स्वागत मन्तव्यकाे साथ कार्यक्रम भएकाे थियाे।
उक्त कार्यक्रममा डा. मेघराज ढकाल, मेघनाथ गौतम, देवराज सिंखडा, घन थापा, जे.पी. नेपाल, सुदर्शन अधिकारी, रामप्रसाद पौडेल, बेनीबहादुर थापा, गोविन्दराज पौडेल, सुशील आचार्य, टंकबहादुर खत्री, अर्जुनबाबु तिवारी, दिपक बानियाँ, माया बस्नेत थापा, रमिता थापा लगायतका स्रष्टाहरूले पठनसंस्कृति र पुस्तकालयसम्बन्धी रचना वाचन गरेका थिए।
नेपालमा पुस्तकालय दिवस हरेक वर्ष भाद्र १५ गते मनाइने गरिएको छ। यस वर्ष १८औं पुस्तकालय दिवस “हाम्रो पुस्तकालय, हाम्रो भविष्य” आदर्श वाक्यका साथ केन्द्र, प्रदेश र पालिका तहमा विभिन्न कार्यक्रमकाे साथ भव्य रूपमा मनाइँदै छ।
प्रकाशित: १५ भाद्र २०८२ ०९:३० आइतबार





