८ असार २०८३ सोमबार
image/svg+xml
कला/साहित्य

कोरा कागज

कथा

"किन र आज पनि तिम्रो बाबा तिमीलाई भेट्न आउनु भएन?" गृहकार्य गरिरहेकी निशालाई हेर्दै मैले सोधेँ।

"हैन, आउनुभएको त थियो तर एकछिनमै फर्किनुभयो" भन्दै निशा मलाई पुलुक्क हेरी र फेरि आफ्नो कापीमा कलम चलाउन थाली।

कुनै बेला रविनबिना म रहनै नसक्ने थिएँ। म बिना त ऊ पानीबिनाको माछाझैं छटपटाउँन्थ्यो। जागिरको सिलसिलामा तिन महिनाका लागि रविनलाई झापा पठाइएको थियो। एक महिना पनि नबिताउँदै फर्कियो।

"बरु जागिर नै छोडिदिन्छु रोमा! तिमीबिना यति टाढा बस्न नसकिने भएँ" भन्दै रविनले रुने हाँस्ने भावमा भन्यो। मलाई पनि उ बिना बस्न मन त कहाँ थियो र?

"हत्तेरिका मान्छेले के भन्लान्? तपाईं त विदेशै गएको त होइन नि। जाबो ६ महिना कटाउन पनि यति गाह्राे भएको?" म पनि तपाईको साथमा आउँथें तर यो सानी नानीलाई लिएर कसरी आउनु?" दुधे छोरीलाई देखाउँदै मैले रविनको मन बुझाउन खोजें।

दुई दिन बसेर रविन फेरि झापा फर्कियो तर ६ महिना कटाउन मलाई पनि ६ वर्ष जस्तै लाग्न थाले। म आफैँ पनि उसलाई भेट्न आत्तुर थिएँ।

हाम्रो माया पनि कस्तो थियो। त्यसकाे सम्झना मात्रले पनि मन रोमाञ्चित हुन्थ्यो तर समय सोचे जस्तो सधैं कहाँ हुँदो रहेछ र? झापाको काज सकेर रविन फर्किएपछि मैले उसमा परिवर्तन देख्न थालें। उसकाे ममाथि हेर्ने  दृष्टि नै फरक भएको थियो। म अचम्ममा परें। एकदिन उसकाे पर्समा युवतीको एउटा तस्वीर भेटें। त्यसपछि मात्र बुझें - उसकाे चाहनाको रेखा किन मोडिदैं थियो? मेरो कमजोर मुटु चर्कियो। केही दिनसम्म हामी बिच रूखो सम्बाद चलिरह्यो। अन्तत: म आफ्नो कलेजोको टुक्रो लिएर माइती गएँ। आखिर ऊ त्यो केटीको मोहमा यति डुबिसकेको रहेछ ऊ मलाई सम्बन्धविच्छेद माग्न पनि पछि परेन।

यता मेरा दाइहरूले उसको यस्तो निर्लज्ज व्यवहार देखेर मेरो र छोरीको भविष्य सुरक्षित गर्न सम्बन्धबिच्छेदमा सहमत गराए। अन्तत: हाम्रो सम्बन्ध टुट्यो।

यो माया भन्ने चिज पनि अचम्मको रहेछ तैपनि मैले उसले जाहेर गरेको माया भुल्न सकेकी थिइनँ। कहिलेकाहीँ उसलाई बाटोमा देख्छु उसँग आँखा जुझे पनि नदेखेजस्तै गरेर अघि बढ्छु। उसको प्रेमको एउटा निशानी मसँग अझै छ - निशा।

उनी बोर्डिङमा पढ्छिन्। रविन कहिलेकाहीँ भेट्न आउँछ भन्ने खबरले मेरो मनभित्र कताकता पुरानो प्रेम अझै जिउँदो छ जस्तो लाग्छ।

सायद कुनै दिन त्यो अनजान  केटीलाई छाडेर ऊ फेरि फर्किने छ र यो हाम्रो भावनात्मक प्रेमको मूल्य एक दिन उसले बुझ्नेछ। यस्ता अनेकौं आशा मनमा पालेर बसेकी थिएँ। फगत कोरा कागजमा लेखिएका अधुरो भावना जस्तै तर अझै मेरो विश्वास मरेको छैन। एकदिन ऊ आफ्नो गल्तीहरूमा पछुताउँदै मेरोसामु फर्किनेछ भन्ने विश्वास पलाउँदै थियो।

एक्कासि म अतीतबाट बिउँझिएँ, हेर्दा निशा अझै आफ्नै धुनमा गृहकार्य गरिरहेकी थिई। म भने उसको कपीको खाली पानातिर हेरिरहें - ठ्याक्कै आफ्नो जीवनको कोरा कागज जस्तै।

प्रकाशित: ८ असार २०८३ १२:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App