बलिउड अभिनेता सलमान खानसँग जोडिएको विवादास्पद फिल्म ‘काला हिरण’ नयाँ विवादमा परेको छ। फिल्मको ट्रेलर सार्वजनिक भएसँगै चर्चा बटुलेको यो फिल्मबाट मुख्य अभिनेता सोनु मिश्राले आफू अलगिएको घोषणा गरेका छन्।
सलमान खानको भूमिका निभाउन तय भएका अभिनेता मिश्राले फिल्मको उद्देश्य नै अभिनेता सलमान खानको छवि धमिल्याउने रहेको थाहा पाएपछि आफू परियोजनाबाट बाहिरिएको बताएका छन्। भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै उनले एक वरिष्ठ कलाकारविरुद्ध प्रचारात्मक उद्देश्यले बनाइएको फिल्मको हिस्सा बन्न नसक्ने स्पष्ट पारे।
मिश्राका अनुसार निर्माताले फिल्मको वास्तविक स्क्रिप्ट समेत उपलब्ध नगराएको र रचनात्मक मतभेदपछि फिल्म छोड्ने निर्णय गर्नुपरेको हो। उनले बिश्नोई समुदाय वा राजस्थानको संस्कृतिसँग जोडिएको सकारात्मक उद्देश्य भएको फिल्ममा भने आफूलाई कुनै आपत्ति नरहेको बताएका छन्। यता, फिल्ममाथि प्रतिबन्धको माग गर्दै सलमान खान अदालत पुगेका छन्। उनले ‘काला हिरण’ ले आफ्नो व्यक्तित्वको अधिकार उल्लंघन गर्नुका साथै प्रतिष्ठामा क्षति पुर्याउने दाबी गरेका छन्।
दिल्ली उच्च अदालतमा दायर गरिएको मुद्दामा सलमानका तर्फबाट वरिष्ठ अधिवक्ता सन्दीप सेठीले फिल्म निर्माताले अनुमति बिना अभिनेताको जीवन र पहिचानलाई व्यावसायिक रूपमा प्रयोग गर्न खोजेको तर्क राखेका छन्।
सुनुवाइका क्रममा फिल्म निर्माताका पक्षले भने आफूहरूलाई ज्यान मार्ने धम्कीसमेत आइरहेको जानकारी अदालतलाई दिएका छन्। यस सम्बन्धी मुद्दाको अर्को सुनुवाइ जुलाई १ मा हुने तय भएको छ। फिल्मको ट्रेलर सार्वजनिक भएयता बलिउडमा यसको विषयवस्तु, कानुनी जटिलता र सलमान खानसँग जोडिएको पुरानो ‘कालो हरिण’ प्रकरणलाई लिएर बहस तीव्र बनेको छ।
प्रकाशित: १४ असार २०८३ १७:०० आइतबार





