३ फाल्गुन २०८२ आइतबार
image/svg+xml
कला/साहित्य

स्याङ्जामा उपन्यासकार छवि वैरागीकाे ‘विविशारा’ काे विमर्श

स्याङ्जामा उपन्यासकार छवि वैरागी घिमिरेको ‘विविशारा’ उपन्यासको विमर्श एवम् सिर्जना वाचन भएको छ।

स्याङ्जामा साहित्यिक पुनर्जागरणको छैटौं वर्षोत्सवको सन्दर्भमा वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाको ३७ औं पाइलाको रूपमा आयोजना गरिएको औपन्यासिक कृति विमर्श एवं सिर्जना वाचन वालिङ-६, मिर्दीस्थित नेचुरल भ्यू प्वाइन्ट रेष्टुरेन्टमा भएको थियो।

कार्यक्रमको पहिलो चरणमा लक्ष्मीप्रसाद रेग्मी र शान्ता थापाले ‘विविशारा’ काे औपन्यासिकबारे समीक्षात्मक मन्तव्य प्रस्तुत गरेका थिए। उपन्यासकार छवि वैरागी घिमिरेले लेखकीय मन्तव्य प्रस्तुत गरेका थिए।

संस्कृतमा आचार्यसम्मको पढाइ पूरा गरेका उपन्यासकार घिमिरे हालको टेम्केमयुँ गाउँपालिका - ६, भोजपुरमा जन्मिएका थिए। छन्द कविता एवं आख्यानमा सशक्त घिमिरे सुन्दरहरैँचा नगरपालिका - ९, विराटचोक, मोरङमा रही सिर्जना कर्ममा क्रियाशील छन्।

‘विविशारा’ उपन्यासकार घिमिरेको दोस्रो औपन्यासिक कृति हो। रेडियो सञ्चारकर्मीका रूपमा एक दशक काम गरिसकेका घिमिरे हाल एक दर्जन हाराहारी साहित्यिक संस्थाको नेतृत्वदायी भूमिकामा रहेका छन्। साधकका रूपमा समेत परिचित उनका दर्जन हाराहारीमै विभिन्न साहित्यिक कृति प्रकाशित छन्। उनी स्थानीयदेखि लिएर राष्ट्रियस्तरका विभिन्न पुरस्कार तथा सम्मानबाट पुरस्कृत तथा सम्मानित छन्।

संसारमा अलौकिक प्रेम अझै मरेको छैन, विश्वास गर्न सकियो भने त्योभन्दा मजबुत अर्को खुशीको जीवन पनि छ भन्ने विषयलाई मूल कथ्य बनाइएको ‘विविशारा’ उपन्यास फिनिक्स बुक्स, काठमाडौंले प्रकाशित गरेको हो।

अनौपचारिक रूपमा आयोजना गरिएको कार्यक्रमको संयोजन वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाका संस्थापक संयोजक कविमिलन समीरले गरेका थिए। अभियानका संस्थापक अभियन्ता कवि युवराज सुवेदीले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए।

कार्यक्रमको दोस्रो चरणमा स्याङ्जाली स्रष्टाहरु विष्णु पङ्गेनी पाण्डे, बोधराज न्यौपाने, राजु गैह्रे, लीलाप्रसाद रेग्मी, अग्निकुमार रेग्मी पल्लव, कमलप्रसाद बगाले, इन्द्रप्रसाद पाठक, झवनाथ बस्याल, दमकुमारी बगाले, युवराज सुवेदी, वसन्त खनाल, प्रेमप्रसाद सुवेदी, दिलीप तिवारी, ढालबहादुर केसी, लेखनाथ काफ्ले, शम्भु अर्याल, अनन्त अर्याल, ध्रुवप्रसाद शर्मा पङ्गेनी लगायतले रचना वाचेका थिए। 

प्रकाशित: १४ मंसिर २०८२ १३:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App