``आज निकै हँसिली र फुर्तिली देखिन्छ्यौ। चिटिक्क परेर कता हो?´´ रितुको बाटो छेक्दै सविनाले सोधिन्।
रितु र सविना छिमेकी मात्र होइनन्, एक अर्काको दुखसुखका साथी पनि हुन्। रितुको श्रीमान बितेको दुई वर्ष भयो। सविनाले उनलाई ढाडस र साथ दिएकी छन्। उमेरले दुवै प्रौढ छन्। सविना हतारमा भए पनि बोल्न भ्याइन् ,`` उहिले त बुहार्तन गर्दै ठीक्क भयो। बल्ल त समयले साथ दिएको छ। पार्टीको मिटिङमा जान लागेकी! ´´
``एए , अबको चुनावमा उठ्ने होला नि? ´´
अलि चञ्चले स्वरमा रितुले भनिन्, ``राजनीति त पहिलेदेखि रहरको विषय थियो। बिहे भएपछि व्यवहारले बाँध्यो। अब त सन्तान पनि हुर्किए। श्रीमानको रोकटोक पनि भएन। दिलोज्यान दिएर देश र जनताका लागि काम गर्नेछु। ´´
सविनाले तीतो सत्य ओकलिन् ,`` उसो भए श्रीमानको मृत्यु पनि फलिफाप भयो कि, कसो? ´´
रितुले मलीन स्वरमा भनिन्, ``मृत्यु सबैले स्वीकार्नै पर्ने जीवनको एउटा सत्य हो। बाँच्नेले जिउनकै लागि साहस गर्नै पर्छ। यतिन्जेल अरूका लागि बाँचे पनि अबको बाँकी जीवन आफ्ना लागि बाँच्ने प्रयास गर्दै छु।´´
छुट्टिने अभिप्रायले कदम अघि बढाउँदै सबिनाले भनिन् ,``शोकलाई शक्तिमा बदल्ने तिम्रो साहसी कदमका लागि अथाह शुभकामना छ। ´´
२०८३-३-२४, तीनकुने, काठमाडौँ
प्रकाशित: २ श्रावण २०८३ ०८:०० शनिबार





