२ वैशाख २०८३ बुधबार
image/svg+xml
कला/साहित्य

आशा भोसलेको संघर्षदेखि विश्वस्तरको ख्यातिसम्मको जीवनयात्रा

भारतीय संगीत क्षेत्रकी चर्चित गायिका आशा भोसलेको जीवनयात्रा संघर्ष, निरन्तर साधना र असाधारण सफलताको उदाहरणका रूपमा लिइन्छ। ८ सेप्टेम्बर १९३३ मा भारतको महाराष्ट्र राज्यको सांगलीमा जन्मिएकी उनी संगीतकार परिवारमा हुर्किएकी थिइन्। उनका पिता दीनानाथ मंगेशकर प्रख्यात शास्त्रीय गायक तथा रंगमञ्च कलाकार थिए।

बाल्यकालमै संगीतप्रति झुकाव देखाएकी आशाले नौ वर्षको उमेरमै आफ्नो पिताको निधनपछि परिवारको आर्थिक भार थेग्न गायन सुरु गरेकी थिइन्। उनी आफ्नी दिदी लता मंगेशकरसँगै मुम्बई आएर फिल्मी संगीतमा प्रवेश गरिन्।

सुरुआती दिनहरूमा उनीले बी–ग्रेड फिल्महरूमा गीत गाउने अवसर पाएकी थिइन्। तर उनको प्रतिभाले क्रमशः ठूला संगीतकारहरूको ध्यान खिच्दै गयो। विशेषगरी ओपी नय्यरसँगको सहकार्यले उनको करियरलाई नयाँ उचाइमा पुर्‍यायो। त्यसपछि आरडी बुरमनसँगको सहकार्य झनै ऐतिहासिक बन्यो, जससँग उनले पछि विवाह समेत गरिन्।

आशा भोसलेले हजारौँ हिन्दी, मराठी, बंगाली, नेपालीलगायत विभिन्न भाषाका गीतहरूमा स्वर दिएकी छन्। उनको गायन शैली अत्यन्तै बहुआयामिक मानिन्छ: क्लासिकलदेखि पप, गजलदेखि क्याबरेसम्म उनले आफ्नो विशेष छाप छोडेकी छन्। ‘पिया तू अब तो आजा’, ‘दम मारो दम’, ‘इन आँखे की मस्ती’ जस्ता गीतहरूले उनलाई अन्तर्राष्ट्रिय स्तरमै लोकप्रिय बनाएका छन्।

उनले आफ्नो करियरमा धेरै प्रतिष्ठित पुरस्कार प्राप्त गरेकी छन्, जसमा पद्मा विभूषण, पद्माश्री तथा राष्ट्रिय फिल्म पुरस्कारहरू पर्छन्। उनलाई गिनिजबुक वल्ड रेकर्डले सबैभन्दा धेरै गीत रेकर्ड गर्ने कलाकारका रूपमा समेत उल्लेख गरेको छ ।  

व्यक्तिगत जीवनमा उनले कम उमेरमै पहिलो विवाह गरेकी थिइन्, जुन सफल हुन सकेन। पछि उनले आर. डी. बर्मनसँग विवाह गरिन्। जीवनका विभिन्न उतारचढावका बीच पनि उनले आफ्नो गायन यात्रालाई निरन्तरता दिइरहिन्।

संगीतप्रेमीहरूका लागि प्रेरणाको स्रोतका रूपमा रहेकी भोसलेको ९२ वर्षको उमेरमा आइतबार निधन भएको छ । उनको जीवनलाई हेर्दा संघर्ष, परिश्रम र प्रतिभाले कसरी एक साधारण बालिकालाई विश्वप्रसिद्ध गायिकामा रूपान्तरण गर्न सक्छ भन्ने सन्देश पाउन सकिन्छ । २० भाषामा १२ हजार गीत गागएकी आशा भोसलेप्रति हार्दिक श्रद्धाञ्जली । 

प्रकाशित: २९ चैत्र २०८२ १५:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App