नेपाली सिनेमा क्षेत्रमा चकलेटी नायकका रूपमा परिचित आर्यन सिग्देलको नयाँ म्युजिकल फिल्म ‘बानी’ सार्वजनिक गरिएको छ।
अभिनय मात्र होइन, भावनात्मक अभिव्यक्तिमा केन्द्रित यो भिडियोले प्रेम, दूरी र बिछोडको कथा कलात्मक रूपमा प्रस्तुत गरेको छ। फिल्म ओएसआर डिजिटल युट्युव मार्फत सार्वजनिक गरिएको हो।
दिनेश क्षेत्रीको शब्द, संगीत र स्वरमा तयार ‘बानी’ को कन्सेप्ट पनि उनकै हो। ओएसआर डिजिटलबाट सार्वजनिक भिडियोमा आर्यनसँगै करुणा श्रेष्ठ रोमान्टिक भावमा देखिएका छन्।
भिडियोले नेपालको एक युवक र सिक्किमकी एक युवतीको प्रेम सम्बन्धलाई कथावस्तु बनाएको छ, जहाँ प्रेमपछि आउने उतारचढाव र वियोगान्त मोडले दर्शकलाई भावुक बनाउने प्रयास गरिएको छ। भिडियोमा आर्यनलाई फरक लुक्समा देख्न सकिन्छ। उनी रिसाहा र मायालु दुवै लुक्समा देखिएका छन्।
यसअघि सार्वजनिक पोस्टर र टिजरले चासो बढाएको ‘बानी’ मा संवाद लेखन दिनेश क्षेत्री र केशव भट्टराईले गरेका छन्। आर्यन र करुणासँगै सविन कट्टेल र सुस्मिता श्रेष्ठको अभिनयले कथालाई थप जीवन्त बनाएको छ।
उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन र सुव्रत आचार्यको निर्देशनमा तयार ‘बानी’ लाई प्रेमकथा मात्र नभई भावनात्मक म्युजिकल अनुभवका रूपमा प्रस्तुत गरिएको छ।
प्रकाशित: १४ पुस २०८२ १३:५१ सोमबार





