२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

अरनिको युवा कला पुरस्कार सुरेम देसारलाई

राष्ट्रिय युवा सेवा कोषले यस वर्षको अरनिको युवा कला पुरस्कार कलाकार सुरेम देशारलाई प्रदान गर्ने भएको छ। कोषले शुक्रबार एक विज्ञप्ति जारी गरेर त्यसबारे जानकारी गराएको हो। कोषद्वारा हरेक वर्ष यो पुरस्कार प्रदान गर्दै आएकोमा २०८२ सालका लागि देशार छनोटमा परेका हुन्।

वरिष्ठ चित्रकार प्राज्ञ विजय थापाको संयोजकत्वको मूल्यांकन समितिले उक्त पुरस्कार कलाकार देशारलाई दिने निर्णय गरेको हो। कोषका सदस्य सचिव डा. विष्णुबहादुर भण्डारीले कलाको विकास र विस्तारमा निरन्तर योगदान दिएबापत कलाकार देशारलाई उक्त पुरस्का प्रदान गर्न लागिएको जानकारी दिए।

ललितपुर जिल्ला चापागाउँका सुरेम देशार दुई दशकभन्दा बढी समयदेखि नेपाली आधुनिक चित्रकला कर्ममा सक्रिय छन्। कला विषयमा स्नातकोत्तर गरी कलाशिक्षणका साथै ग्रामीण क्षेत्रमा पुगेर चित्रकलाको प्रवर्धन र शिक्षामा काम गर्दै आएका छन्।

नेपाली जनजीवन, प्राकृतिक सौन्दर्य, संस्कृति र सांस्कृतिक सम्पदाका विषयमा यथार्थवादी कला सिर्जना गर्ने कलाकार देशारले समसामयिक विषयवस्तुमा समेत चित्र बनाउँदै आएका छन्। गहिरो अवलोकन शक्ति, प्रकृति–प्रेम र मानवीय संवेदनालाई क्यानभासमा रूपान्तरण गर्ने कलाकार देशारका चित्रहरू रंग–रेखाको समष्टि मात्र होइन, भाव, स्मृति र समयका कथा बोकेर आउने जीवन्त अनुभूति हुन्।

नारायणगोपाल युवा संगीत पुरस्कार रीतालाई

यसैगरी कोषले नारायणगोपाल युवा संगीत पुरस्कार गायिका रीता केसीलाई प्रदान गर्ने भएको छ। वरिष्ठ संगीतकार प्राध्यापक डा. दीपक जंगमको मूल्यांकन समितिले गायिका केसीलाई नउक्त पुरस्कारका लागि सिफरिस गरेको कोषका सदस्य सचिव भण्डारीले बताए।

दाङ घर भएकी केसी करिब दुई दशकदेखि गायन क्षेत्रमा सक्रिय रहेको र हाल उनले संगीतमै विद्यावारिधि पनि गरिरहेको भण्डारीले बताए। यही मंसिर २० गते यो पुरस्कार केसीलाई प्रदान गरिनेछ। अरनिको युवा कला पुरस्कार भने आगामी माघमा मात्र हस्तान्तरण गरिनेछ। यी दुवै पुरस्कारको राशि ४०/४० हजार रुपैयाँ रहेको सदस्य सचिव भण्डारीले जानकारी दिए।

प्रकाशित: १४ मंसिर २०८२ १०:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App