बिहीबार साँझ काठमाडौंमा चलचित्र ‘लालीबजार’को प्रिमियर कार्यक्रमका लागि हल खचाखच थियो। बरिष्ठ हाँस्य कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश अचार्य र सन्तोष पन्त, नायिका गौरी मल्ल, चलचित्र विकास बोर्डका अध्यक्ष एवं निर्देशक दिनेश डिसीसहित दर्जनौं कलाकारहरु लालीबजारको प्रिमियर शो हेर्न उपस्थित थिए।
सोही कार्यक्रममा तस्बिर खिच्ने क्रममा स्वस्तिमाले आफ्ना श्रीमान् तथा निर्देशक निश्चल बस्नेतलाई सँगै तस्बिर खिच्न बोलाइन्। स्वस्तिमाले बस्नेतलाई जिस्काउँदै “ओ खरानी ग्याङको लिडर, यता आऊ न” भनेकी थिइन्।
भदौको जेनजी आन्दोलनपछि सामाजिक सञ्जालमा केही प्रयोगकर्ताले निश्चललाई ‘खरानी ग्याङ’सँग जोड्ने गरेका छन् । तर, निश्चलले उक्त आरोप अस्वीकार गर्दै आएका छन् । बिहीबारकै कार्यक्रममा पनि सञ्चारकर्मीको प्रश्नमा उनले आरोप सत्य नभएको बताएका थिए ।
बादी समूदायको विषयबस्तुमा बनेको उक्त चलचित्र प्रदर्शनमाथि लागेको प्रतिबन्ध फुकुवा भएलगत्तै निर्माण पक्षले प्रिमियर शो राखेको थियो। चलचित्र शुक्रबार (आज) देखि देशैभर प्रदर्शनमा आएको छ।
प्रकाशित: २५ वैशाख २०८३ १८:२१ शुक्रबार





