११ माघ २०८२ आइतबार
image/svg+xml
कला/साहित्य

विज्ञापन

कथा

“तैँले थाहा पाइस् कान्छा सुबिदार्नी बूढी त बहुलाइन् अरे नि?” आमाले कार्यालयबाट फर्किनासाथ मलाई सुनाउनुभयो। ‘ए, हो र! मलाई त थाहा छैन’ भनेँ मैले।

“के थाहा पाउँथिस् त तँ, हेर्दै जा अब म पनि बहुलाउँछु,” आमाका वाक्य आज अनौठा थिए। आमाले आज एकाएक बहुलाउने घोषणा गर्नुभयो। कस्तो अचम्म! बहुलाउनु भनेको त एकाएक मस्तिष्क असन्तुलित भएर भाँडभैलो हुनु हो। मान्छे कोही पनि घोषणा गरेर बहुलाउँदैनन्। बहुलाउने रहर पनि हुने कुरै भएन। भन्न त भन्छन् नि– ‘मर्नुभन्दा त बहुलाउनु निको।’

यो भनेको पनि जीवनप्रतिको मोह हो। मान्छे मर्न चाहँदैन, बहुलाएरै भए पनि बाँच्न चाहन्छ। यही बाँच्ने सङ्घर्षमा कताकता हण्डर–ठक्कर खाएर मान्छे यथास्थितिमा थेगिन सक्दैन र असन्तुलित हुन्छ। बहुलाएपछि उसले जे पनि गर्छ।

डिप्रेसन भन्छन्, सायद मानसिक तनाव भन्नुपर्ला। मान्छेमा ज्यादा मानसिक तनाव भयो भने ऊ सामान्य अवस्थामा रहन सक्दैन। यसका परिणाम भयानक भएका पनि सुनिन्छन्। आमहत्या, आत्महत्या, बहुलाउनु लगायतका भयङ्कर कुराहरू आखिर मस्तिष्कको असन्तुलनकै कारण त भएका हुन् नि। सहज अवस्थामा चल्न नसकेपछि सन्तुलन बिग्रिन्छ तर सुबिदार्नी बूढी बहुलाउनु, त्यो पनि असी वर्ष काटिसकेकी बूढी कसरी बहुलाइन्? नहुनुपर्ने हो। फेरि उनी बहुलाउनुसँग मेरी आमाको के तादात्म्य? उनी नाताकी हुन् तर बसाई निक्कै टाढा छ र काठमाडौँ आएको तीन वर्ष भइसक्दा पनि आमाले ती बूढीसँग भेट गर्ने अवसर पाउनु भएको छैन। तैपनि आज तिनै बूढीसँग जोडिएर आमाले एकाएक बहुलाउने कुरो गर्नुभयो!

कार्यालयबाट थाकेर आएकोले कुरा लम्ब्याउन चाहिनँ र कारण बुझ्न पनि खोजिनँ। म आफ्नो कोठामा पसेँ। आमा पनि केके फतफताउँदै हो आफ्नो कोठामा पस्नुभयो। श्रीमतीजी भान्सामा थिइन्।

सोचेँ– सासू–बुहारीको ठाकठुक परेको होला र त्यसो भन्नुभएको हुन सक्छ। बाबुआमाको बीचमा त त्यस्तो केही हुने कुरै भएन। दुवै जना सल्लाहले नै वैष्णव बन्नुभएको हो र पूजापाठमै रमिरहनुभएको छ। यो उमेरमा पनि श्रीमान्–श्रीमती यस्तो मिलनका साथ जिउन पाउनु भनेको त ठूलै कुरा हो। कामको नाममा न त सिन्को भाँच्नुपरेको छ, न त ढलेको गिलास उठाउनु परेको छ। ठीक्कठीक्क समयमा चिया–दूध–खाना–खाजा–दवाई–फलफूल। लोग्नेस्वास्नीको साथ। जाडो भए घाम, बेलुका हिटर–आगो–अहँ कमी त केही भएकै छैन। तैपनि आमाले आज एकाएक बहुलाउने कुरो गर्नुभयो!

केही दिनदेखि निन्याउरो देखिएको आमाको अनुहारले उहाँ बेचैनीमा हुनुहुन्छ भन्ने सङ्केत नपाएको त होइन तर के भयो भनेर सोधिहाल्न पनि सकेको थिइनँ।

आमाले एकाएक त्यसो भनेपछि आमा काठमाडौँ आएपछिका उहाँका व्यवहारहरू लस्करै मेरा आँखामा आउन थाले। शङ्काले लङ्का पुर्‍याउँछ भन्थे, हो रहेछ जस्तै भयो। उहाँलाई अलिक सञ्चो छैन। स्पष्ट देखिएको कुनै रोग छैन तर सञ्चो पनि छैन! कहिले मुटु हल्लियो, मर्छु क्यार भन्नुहुन्छ। कहिले रातभर दुखेर निद्रा लागेन भन्नुहुन्छ। कहिले शरीरको सबै मासु–नसा कक्रिए, पेट पनि फुले जस्तो भयो माइती परिवारका सबै क्यान्सरले मरे, मलाई पनि क्यान्सरै भएजस्तो छ भन्नुहुन्छ। एक्सरे, इसीजी, सिटी स्क्यान, अल्ट्रासाउण्ड, भिडियो एक्सरे, एमआरआई सबै गर्दा पनि उहाँ पत्याउनु हुन्न र भन्नुहुन्छ– ती डाक्टर भनाउँदा मोराहरू केही जान्दैनन्। आफ्नो शरीरको मलाई थाहा हुँदैन? यी यसरी दुख्छ, केही न केही नभई यस्तो हुन्छ? कुनै मेसिनले केही नदेखाएपछि आयुर्वेदिक औषधि, धामीझाँक्री, होम–यज्ञ, आमाले इच्छाएजति गर्न बाँकी राखिएको छैन। वेदका ऋचा र भागवतका श्लोकहरू पढेर रातभर होमहाल्ने र मन्सिने, तातोपानीले पोल्नेसम्म गरिसकियो। अहँ, आमालाई बीसको उन्नाइस भएको होइन र सञ्चो पनि छैन। तीनतीन महिनासम्म अकुप्रेसर थेरापी गराउँदा पनि आमालाई छुँदै छोएन।

आमालाई देखिएको रोगै भन्नुपर्दा अल्सर थियो, अहिले निको भैसकेको छ, ग्याष्ट्रिक थियो, अहिले कन्ट्रोलमा छ। पत्थरी थियो, अप्रेसन भइसकेको छ। घुँडाका हड्डी खिएका छन्, त्यो त यो उमेरमा सामान्य नै हो। हुन त कुन जाडो, कुन गर्मी, बाह्रै महिना आमालाई उस्तै छ तर पनि मौसम बदली हुँदा, पानी पर्दा झन् साह्रै पार्छ भन्नुहुन्छ। त्यो पनि यहीँ हुनु पर्दैन उहाँको लागि। रेडियोको मौसमसम्बन्धी बुलेटिन र समाचारमा भनिएको कुनै जिल्लाको बाढीपहिरो, असिना अथवा भारत, चीन, अमेरिकामै परेको पानीको समाचारले पनि उहाँलाई असर गर्छ। समाचार सुनेर भन्नुहुन्छ ऊ फलानु ठाउँमा त्यस्तो भएको रहेछ अनि पो मलाई झन् कक्रयाएको रहेछ त! डाक्टरलाई यही कुरा सुनाउँदा – आमा त मौसमविद् पो हुनुहुँदोरहेछ भनेर हाँस्छन्।

आमाले कुन तेल दल्नुभएको छैन शरीरमा! रायोको तेल, सर्स्यूको तेल, तीलको तेल, तारपेनको तेल, राइफलको तेल, बिजुलीको तेल, स्यालको रक्सी, भालुको पित्त, सर्पको बोसो! अहँ, कुनैले पनि उहाँका हातखुट्टालाई तन्दुरुस्त पार्न सकेनन्, जीउलाई चङ्गा बनाउन सकेनन्। खानामा अरुचि छैन, बोल्नमा थकान छैन। केवल हिँड्न सक्दिन भन्नुहुन्छ र हिँड्नै चाहनु हुन्न।

यतिसम्म त भइरहेकै हो। अब त आमाले बहुलाउने नै घोषणा गर्नुभयो! कुनै औषधि, परीक्षण, धामी, केहीले पनि नछोइरहेको अवस्थामा झन् बहुलाउने नै कुराले त चिन्तित बनाउने नै भयो। अनि आमाका बोली र व्यवहारहरू विचार गर्न थालेँ। गफ गर्ने साथी पाउनुभयो भने उहाँ सद्देझैँ देखिनुहुन्छ। बोल्न थालेपछि त्यो सुन्नेलाई झर्को लाग्छ, उहाँ गल्नु हुन्न। सुन्नेले होमा हो मिलाएर बेलाबेलामा प्रश्न गरिदिए, उहाँलाई अघि दुःख गर्दाका कुरामा चुकचुकाइदिए प्रसन्न हुनुहुन्छ। सासूससुराका कुरा, माइतीका कुरा, बुहारीले काम र खानामा भोग्नुपरेका पीडा, पेट बोक्दाका, घाँसदाउराका, लगभग यिनैका सेरोफेरोमा हुन्छन् गफ। दिनमा एक जनासँग धक फुकाएर बोल्न पाउनुभयो भने आमा उज्याली देखिनुहुन्छ। अब यो काठमाडौँको ठाउँमा को छ र त्यस्तो फुर्सदिलो मान्छे। फुर्सद भएर मात्रै पनि नहुने, त्यस्ता कुरामा चाख पनि हुनैपर्‍यो। गफमा पनि स्थानविशेष मिल्नुपर्छ, सर्कल मिल्नुपर्छ, सोच मिल्नुपर्छ, तब न गफ मिल्छ। ती त सबै उतै छुटिगए। यहाँ साथमा त बा हुनुहुन्छ, म छु, बुहारी, नातिनातिनी छन्। मसम्म कहिले कहीँ फुर्सदमा सुन्छु तर फुर्सद नै कहिले हुन्छ र! बुहारीलाई यस्ता कुरामा कत्ति पनि रुचि छैन। के सुन्नु त्यस्ता थाङ्ने कुरा भन्छिन्। कसैलाई रुचि नभएपछि जबर्जस्ती सुन्नुपर्छ भन्न पनि भएन। ‘मेरा बाबुआमाले पनि दुःखै गरेका थिए होलान्, खै त हामीलाई केही सुनाउँदैनन्’ भन्छिन् उनी। पहिलो फुर्सद्, दोस्रो टिभी, पत्रपत्रिका, बच्चाबच्चीको पढाई, भातभान्सा आदिको धमाधम।

आमालाई भनेको पनि हो– बूढाबूढी हुनुहुन्छ, दुवैजना सँगसँगै हिँड्नु, दुई जना गफगाफ गर्नु तर बालाई रेडियो भए पुगिहाल्छ। उहाँले गफ गर्ने भनेको बिजुली छैन भने मात्र हो। नत्र कानमा रेडियो घन्केको धन्कियै हुन्छ। कान कम सुन्नहुन्छ, त्यसमाथि रेडियोको चर्को आवाजले गर्दा कानमा सानोनितो आवाजले छुँदै छुँदैन। त्यसमाथि पनि आमालाई भन्नहुन्छ– यो बूढीले बोलेको त झन् पिटिक्कै सुन्दिन र बुझ्दिन पनि।

उता आमा भन्नुहुन्छ– यी बूढालाई अचेल के भएको हो, कुरै बुझ्दैनन्। यसो बोलौँ भन्यो, अहँ कुरै बुझाउन सकिँदैन। फेरि कहिले कहीँ देख्छु– मसिनो बोलीमा पनि बूढाबूढी बसेर मज्जाले गफ गरिरहेकै अवस्थामा। यथार्थ त यही हो नि, बूढोलाई बूढी, बूढीलाई बूढो! बूढेसकालका साथी, पुस्ता, सोच सबै मिल्ने। व्यवहार, आनीबानी सबै भोगेको अभिन्न साथ भनेकै यही त हो।  

भर्खरै हो, बा बिरामी पर्नुभयो। निक्कै ठूलो विरामी र अस्पताल भर्ना गरेर एकहप्ता राख्नुपर्‍यो। राति अचानक विरामी परेकाले इमर्जेन्सी जानुपर्‍यो। दिउँसो अलिक सञ्चो भएपछि घर आउँदा आमा धमाधममा देखिनुहुन्थ्यो। पहेँलो कपडा र रामनामीलाई दुइटादुइटा बनाएर घाममा सुकाउनु भएको थियो। तील, जौ, कुश, तुलसी मञ्जरी सबै ठीक पार्नुभएको थियो। आमाले यसो गरेको देखेर छक्क परेँ। के गरेको यो सब तपाईँले आमा? ‘खै, के हो, के हो, सपना पनि नराम्रा देखेकी छु, त्यही भएर ठीक पारेकी’ भन्नुभयो। छक्क परेँ म तर केही भनिनँ त्यतिबेला र ती दुई भाग यथावत नै छन्। कसको भाग पहिले प्रयोगमा आउला, भन्न सकिन्न अहिल्यै र सँगसँगै त एकाधका मात्र हुन्छन्। तिनलाई समाजले भाग्यमानी जोडीको संज्ञा दिन्छ।

आमालाई शुरूशुरूमा त ट्याक्सी चढाईचढाई कहिले कसको घरमा, कहिले कसको घरमा लगेर दिनभर गफ गर्न छोडिदिएको पनि हुँ। आफन्त, चिनजानकाहरू वरिपरि भए सजिलो हुन्थ्यो, त्यो छैन। दुईचार पटक त पशुपति वृद्धाश्रममा लगेर दिनभर छोडिदिएर बेलुका ल्याएँ पनि। यसो गर्दा उहाँ निकै प्रसन्न देखिनुहुन्थ्यो। यो पनि कति दिन सम्भव हुन्थ्यो र! खर्च, फुर्सद सबै हुनैपर्‍यो। अनि एक्कासि सुबिदार्नी बूढी बहुलाएकी सुनाएर आफू पनि बहुलाउने कुरा गर्दा आमासँगै यो यथार्थ जान्नु राम्रो हो भन्ने निष्कर्षमा पुग्नैपर्थ्याे मैले।

सुबिदार बूढा स्वर्गे भएको त धेरै वर्ष भएको थाहै थियो मलाई। सुबिदार्नीलाई छोराले काठमाडौँमै ल्याएर राखेका छन्। धनसम्पत्तिको कुनै कमी छैन। ‘सुनको पलङ बनाएर सुत्छु’ भने पनि सुताउन सक्ने हैसियत छोराको छ। उच्च ओहदाबाट सेवानिवृत्त भएका र भ्रष्टाचारको मुद्दा लागेका भए पनि चोखिइसकेका वरिष्ठ व्यक्तित्वको थप बयान गर्नु आवश्यक छैन। उनले आमालाई सजिलो होस्, एकान्त होस्, पूजापाठमा सहज होस्, मन लागेका बेला आफैँ पकाएर खान सक्नुहोस्, लगायतका राम्रैराम्रा कुराहरु सोचेर छतमा छुट्टै कोठा बनाइदिएका थिए।

यसमा थप अरू पनि सोच्न सकिन्थ्यो– आफ्नो आधुनिक व्यवहारमा आमाबाट बाधा नपुगोस्, ठूलाबडाहरुसँग बोलिरहँदा, मिटिङ–भेटघाटमा बाधा नपुगोस्, आमालाई भेट्न आउनेहरुले छतमा गएर छुट्टै भेट्न सकुन् भनेर पनि छुट्टै र अलग्ग कोठा बनाइदिएको उपयुक्त नै ठहर्थ्याे। यसैलाई बढाईचढाई गर्नेहरुले अर्कैतिर मोडिदिएका पनि थिए। भनेको सुनिन्थ्यो– फलानाले बूढीआमालाई एक्लै कोठामा थुनेर राखेको छ अरे! त्यस्तो छोरो पनि के छोरो? बरु बृद्धाश्रममा लगेर राखिदिनु नि, कोठामा थुन्नुभन्दा त! यही एकान्त वासले सुबिदार्नी बहुलाएकी र ‘धक फुकाएर मान्छेले बोल्न पाएन भने गुम्सिएर बहुलाउँछ’ भन्ने निष्कर्षमा आमा पुग्नुभएको रहेछ।

वास्तवमा भन्नुपर्दा आमाको बोल्न पाउने अधिकारलाई मैले सुनिश्चित गर्नैपर्छ। सबै भौतिक सुख–सुविधाहरु पुर्‍याइदिन सक्छु भने बोल्न पाउनुपर्ने अर्थात् गफ गरिरहन पाउनुपर्ने उहाँको मागलाई मैले संवोधन गर्नैपर्छ। उहाँले भन्नुभएको ‘हेर्दै जा, अब म पनि बहुलाउँछु’ सँग जोडिएको मूल विषय नै यही पो रहेछ। सुबिदार्नी बहुलाउनु र मेरी आमाले आफू पनि बहुलाउने घोषणा गर्नुसँग उतिसारो तादात्म्य नदेखिए पनि म झसङ्ग चाहिँ भएको छु।

आमाको खुशीको लागि मैले थप केही व्ययभार व्यहोर्ने निर्णय गरेँ अब। श्रीमतीजीले ‘भाँडा मोल्न र लुगा धुन सकिनँ, एउटा मान्छे राख्नुपर्‍यो’ भन्दा बरु आफैँ सघाउनपट्टि लागेर थुमथुम्याएको थिएँ तर आमाले ‘बहुलाउँछु’ भनेपछि थामथुमले पनि नहुने देखियो। त्यसैले आमाकै लागि आजै एउटा विज्ञापन गरेको छु अर्थात् ‘वान्टेड।’

विज्ञापनको भाषा यस्तो छ - ‘एकजना वृद्ध महिलासँग गफ गर्ने कुशल महिला चाहियो। गफ गर्न र कुरा सुन्न झर्को नमान्ने स्वभाव हुन आवश्यक छ। उहाँले भयो अब आजलाई नभनी छुट्टी मिल्ने छैन। विशेषगरी पुराना पारिवारिक कुराहरूमा रुचि र दक्खल भएकालाई प्राथमिकता दिइनेछ। जुनसुकै उमेरकी महिला भए पनि हुन्छ। लाउन, खान, बस्न, दिएर थप के कति तलव सुविधा दिनुपर्ने हो? सोको टुङ्गो अन्तर्वार्ता क्रममै लगाइनेछ। सात दिनभित्र आफ्नो अनुभवको बायोडाटा, एकप्रति फोटो र नागरिकताको फोटोकपी निम्न ठेगानामा पठाउनुहोला। तपाईंलाई अनुकूल मिल्छ भने ईमेल ठेगानामा पठाउन पनि सक्नुहुनेछ। अन्तर्वार्ताचाहिँ आमा स्वयंले नै लिनुहुनेछ र एक हप्ताको परीक्षणकाल हुनेछ।’

प्रकाशित: ११ माघ २०८२ ०९:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App