मनभरि फूल बोकेर
मुटु पत्थर बनेको बेला
छाती भरी खोला बगाएर
दिल बगर बनेको बेला।
भेटियौ तिमी
स्नेहको वर्षात बनेर
सम्बोधन गरौं खै के भनेर?
आँखाभरि सपना सजाएर
जीवन खण्डहर बनेको बेला
बाँच्ने रहर सकिएपछि
बाँच्नु कहर बनेको बेला
भेटियौ तिमी एक सुन्दर
जिजीविषा बनेर
सम्बोधन गरौँ खै के भनेर?
वर्तन सकिएको दियो जस्तै
ज्योति धिपधिप भएको बेला
उज्यालो सकिएर हरदम
अन्धार समीप भएको बेला
भेटियौ तिमी प्रेमको नैनी बनेर
सम्बोधन गरौँ खै के भनेर?
चितामा जलेको लासजस्तै
दन्दनी मन जलेको बेला
लतपत गरी लेखिएको भाग्य
मनलाग्दी कसैले पढेको बेला
भेटियौ तिमी सग्लो अक्षर बनेर
सम्बोधन गरौँ खै के भनेर?
ध्वस्त भैसकेपछि
आत्मसम्मानका मुनाहरू
चर्किएपछि मुटुका हर कुनाहरू
भेटियौ तिमी आँट बनेर
सम्बोधन गरौँ खै के भनेर?
आउँदैन रहेछौ सधैँ तिमी
अवरुद्ध गला बनेर
ए! चोट यो पटक आयौ
जिउन सिकाउने नौलो
कला बनेर
सम्बोधन गरौं खै के भनेर?
- अनु विज्ञाति
प्रकाशित: ६ श्रावण २०८३ १३:१९ बुधबार





