बलिउड अभिनेता आमिर खानका भाञ्जा इमरान खान, उनकी प्रेमिका लेखा वाशिङ्टन र जैन खान मुम्बईमा भएको प्रदर्शनका क्रममा हिरासतमा परेपछि रिहा भएका छन्। मुम्बई प्रहरीले शनिबार उनीहरूलाई हिरासतमा लिएको थियो। केही घण्टापछि तीनै जना रिहा भएका हुन्।
उनीहरू मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै क्रकोच जनता पार्टी (सीजेपी) ले आयोजना गरेको प्रदर्शनमा सहभागी भएका थिए। मुम्बईको अगस्त क्रान्ति मैदानबाहिर भएको प्रदर्शनमा ठुलो संख्यामा मानिसहरू सहभागी थिए।
लेखा वाशिङ्टनले शनिबार राति सामाजिक सञ्जाल इन्स्टाग्राममा भिडियो साझा गर्दै आफूहरू सुरक्षित रहेको र हिरासतबाट रिहा भइसकेको जानकारी दिएकी थिइन्। उनको इन्स्टाग्राम स्टोरीमा इमरान, लेखा र जैन घर पुगेपछि एक अर्कालाई अँगालो हालिरहेको देखिएको थियो।
लेखाका अनुसार रिहा भएपछि घर फर्किन ट्याक्सी पाउनसमेत कठिन भएको थियो। मुम्बई प्रहरीले ट्याक्सी चालकहरूलाई धम्क्याएको उनले आरोप लगाएकी छन्।
जैन खानले पनि इन्स्टाग्राम स्टोरीमार्फत हिरासतका क्रममा भएका घटनाबारे जानकारी दिएकी छन्। उनले साझा गरेको भिडियोमा प्रहरीले उनीहरूलाई जबर्जस्ती प्रहरी भ्यानमा राखेर लगेको देखिन्छ।
जैनका अनुसार, प्रहरीले उनीहरूलाई कहाँ लैजान लागेको हो भन्ने जानकारीसमेत दिएको थिएन। प्रहरी भ्यानभित्र रहँदा उनले प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहविरुद्ध नारा लगाउँदै मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गरेकी थिइन्। सडकमा हिँडिरहेका केही व्यक्तिले पनि उनीहरूको नारामा साथ दिएका थिए।
प्रदर्शनमा सहभागी अन्य व्यक्तिहरूले पनि सामाजिक सञ्जालमा विभिन्न भिडियो साझा गरेका छन्। तीमध्ये एउटा भिडियोमा इमरान खानले आफू, लेखा र जैनलाई करिब दुई घण्टासम्म प्रहरी भ्यानमा यताउता घुमाइएको बताएका छन्।
उनका अनुसार हिरासतमा लिनुको कारणबारे उनीहरूलाई स्पष्ट जानकारी दिइएको थिएन।
प्रकाशित: २५ आश्विन २०८३ ११:०१ आइतबार





