आगामी हलिउड चलचित्र ‘रेसिडेन्ट इभिल’ को छायांकनका क्रममा अभिनेता अस्टिन अब्राम्स ठूलो दुर्घटनाबाट जोगिएका छन्। निर्देशक ज्याक क्रेगरले एक अन्तर्वार्तामा उक्त घटनाबारे खुलासा गर्दै, केही सेकेन्डको फरकले अभिनेताको ज्यान जान सक्ने अवस्था आएको बताएका हुन्।
निर्देशकका अनुसार चलचित्रको एक महत्वपूर्ण एक्सन दृश्य छायांकन गर्दा करिब १५० पाउन्ड ९झन्डै ६८ किलोग्राम० तौल भएको मानिसको शरीरजस्तो देखिने माथिबाट खसालिएको थियो। यदि अस्टिन एक कदम मात्रै दायाँतर्फ सरेका भए, उनीमाथि उक्त वस्तु खस्ने र ज्यानै जान सक्ने अवस्था आउने थियो।
क्रेगरले भने, ‘यदि उनी एक कदम मात्रै दायाँतर्फ भएका भए, उनी बाँच्ने थिएनन्। त्यो दृश्य अहिले पनि चलचित्रमा राखिएको छ, तर त्यो क्षण निकै डरलाग्दो थियो।’
निर्देशकले दृश्यलाई कम्प्युटरबाट बनाइने भिजुअल इफेक्ट भन्दा पनि वास्तविक देखाउन चाहेकाले वास्तविक र विशेष प्रभावहरू प्रयोग गरिएको बताए। यसका लागि अभिनेता वरिपरि मानिसको शरीरजस्ता देखिने भारी वस्तु र रगतका ब्यागहरू खसालेर दृश्य तयार गरिएको थियो।
घटनापछि निर्देशकले अस्टिन अब्राम्सको साहस र व्यावसायिक प्रतिबद्धताको प्रशंसा गर्दै सम्पूर्ण दृश्य अत्यन्त सावधानीपूर्वक योजना बनाएर छायांकन गरिएको बताए।
‘रेसिडेन्ट इभिल’ लोकप्रिय भिडियो गेम शृंखलामा आधारित सातौं चलचित्र हो। चलचित्रमा अस्टिन अब्राम्ससँगै ज्याक चेरी, काली रीस र पल वाल्टर हाउजर पनि मुख्य भूमिकामा छन्। यो चलचित्र सेप्टेम्बर १८, २०२६ मा विश्वभर प्रदर्शनको तयारीमा छ।
प्रकाशित: ९ श्रावण २०८३ १४:०८ शनिबार





