सेन्ट अगस्टिनले भनेका छन् कि जीवन यात्रा हो र यात्रा नगर्नेहरूले जीवनको एक पाना मात्रै पढ्छन् अथवा पिओ लिएरले भनेजस्तै हामी सुरुमा आफूलाई हराउन यात्रा गर्छाै र फेरि त्यहींबाट आफूलाई खोज्न पुनः यात्रा थाल्छौं। एण्डर्सनले भनेका छन् कि यात्रा भनेकै जीवन जिउनु हो। यी भनाइले जीवनमा यात्राको महत्त्व सङ्केत मात्रै गरेको छैन कि जीवनमा यसको महत्त्व र गरिमापूर्ण स्वाद पनि व्यक्त्याएको छ। हामी नेपालीहरू रहर नभएर, क्षमताको अभाव भएर वा समयले नधानेर पनि कम यात्रा गर्नेहरूमा पर्छाैं। मलाई यात्रा चौपट्ट मन पर्छ तर रमाइला यात्राहरू भाग्यमा कमै जुरिरहेका छन्। वर्षको एकदुई पटक मुश्किलले समय जोहो गरेर नियमित दिनचर्याबाट भागिरहेको हुन्छु र एण्डर्सनले भनेजस्तै भागेको ठाउँबाट आफूलाई खोजिरहेको हुन्छु। यसरी एकान्तमा हराउनु र एक्लै आफूलाई पाउनु जस्तो मजा कहिल्यै र कतै पाइँदैन सायद। म यसरी नै यात्राको तृष्णा मेटाइरहेको हुन्छु। यात्राका धेरै भोक पुस्तकबाट मेटिरहेको छु। म र म जस्तै यात्रानुभूतिका प्यासीहरूलाई काव्यिक रसानुभूतिसहितको जीवन र यात्राको साङ्गोपाङ्गो वर्णन लिएर आएको छ आद्या।
काठमाडौ जाँदा अक्सर साझा प्रकाशनमा छिर्ने गरेको छु। यसपटक पनि छोटो समय छिर्ने अवसर जुरेको थियो - छिर्नेबित्तिकै प्रल्हाद पोख्रेलको आद्यासँग हेराहेर भयो। सुरुमा लागेको थियो कि यो कुनै शक्ति उपासनाको कृति होला तर पल्टाउँदै जाँदा उनको निजी यात्राकाव्य रहेछ। अन्य केही पुस्तकका साथमा त्यसलाई किन्नु अगाडि प्रल्हादजीलाई फोन पनि मारें। उनले आद्याको साथमा व्याज अर्काे कृति छ लैजान भनेका थिए। मलाई सित्तै लानु छ त्यो पनि मागेर प्रल्हादजी अहँ जाँगर लागेन। प्रल्हादजीले कोही कर्मचारीलाई भन्छु भन्नु हुँदैथियो मैले प्रतिक्रिया नदिइ र नलिइ निस्किएँ। साथमा आद्यासँगै पैसा तिरेकै केही पुस्तक र बिल थिए।
एउटा कुरा त भन्नै पर्छ। साझा प्रकाशनको म नियमित ग्राहक र सेवाग्राही -प्रल्हादजी पूर्वमहाप्रबन्धक र सञ्चालकमध्येका एक। त्यहाँको बजार व्यवस्थापन ,कर्मचारीहरूको हाकिमी पारा सुधार भैदिए हुन्थ्यो भन्ने जहिले लाग्छ तर सधैं निराशाजनक स्थिति देख्छु। सधैं बडप्पन किन घट्दैन? प्रत्येक पटक यही प्रश्न लिएर फर्कन्छु।
नयाँ पुस्तक देखेपछि कति न पढैया जस्तो काउकुती लाग्छ र मनले भन्दा आँखाले प्यास बुझाउँछ। त्यहाँबाट वाल्मीकि क्याम्पस छिरुञ्ज्याल निकैपटक पल्टाएँ। केही लाइन गुनगुनाएँ। काव्य छन्दोबद्ध रहेछ। विस्तृत भएर पनि उनले महाकाव्य भन्ने आँट गरेका रहेनछन्। पक्कै यसमा केही कारण छन् नै।
कवि प्रल्हाद पोखरेलको ‘आद्या काव्य’ लाई कविताहरूको सङ्ग्रह भनेर मात्र पढ्नु यसको वास्तविक काव्यात्मक आयाम साँघुरो पार्नु हुनेछ। प्रस्तुत काव्यमा कविको जीवन, बाल्यकाल, किशोरावस्था, अध्ययन, जन्मभूमिप्रतिको अनुराग, जनकपुरको सांस्कृतिक स्मृति, वेदनाको पहाड, मिथिलाको सम्झना, दोलखाको सेरोफेरो, अमेरिका, अस्ट्रेलिया, श्रीलङ्का, सिङ्गापुर, इन्डोनेसिया, कोरिया, भारत, पाकिस्तान लगायतका भूगोलसँगको साक्षात्कार हुँदै एक अर्कामा गाँसिएर एउटा दीर्घ जीवनयात्राको काव्यात्मक आख्यान सिर्जिएका छन्।
यो यात्रा बाहिरको भूगोल नाप्ने यात्रा मात्र होइन; आफ्नै अस्तित्व, स्मृति, संस्कार, संस्कृति, समय र विश्व मानवतासँग साक्षात्कार गर्ने अन्तर्यात्रा पनि हो। त्यसैले यसभित्र महाकाव्यले पाउने प्राकृतिक र भौगोलिक परिवेश भने पूर्ण रूपले तय भएको छ।
प्रस्तुत काव्यखण्डको संरचना हेर्दा आरम्भदेखि उपसंहारसम्म सत्ताइस शीर्षकीय एकाइ छन्। शीर्षकहरूमा ‘आरम्भ’, ‘आराधना’, ‘उद्बोधन’, ‘आरोहण’, ‘आरम्भिक आनन्द’, ‘आकस्मिक आबद्धता’, ‘अध्ययनको सन्दर्भ’, ‘अनुभूतिका आयाम’, ‘यात्राका अनुभूति’, ‘सांस्कृतिक ऊर्जा’, ‘जन्मधर्तीको माटो र जनकपुरको जीवन’, ‘वेदनाको पहाड र मिथिलाको स्मृति’, ‘दोलखाको सेरोफेरो’, ‘फरक अनुभूतिमा दोलखा’, ‘पूर्वस्मृति’, ‘अमेरिकाको पहिलो यात्रा’, ‘अस्ट्रेलिया र छेउछाउ’, ‘अमेरिका, श्रीलङ्का र सिङ्गापुर’, ‘इन्डोनेसिया र कोरियातिर’, ‘वसन्तको स्वागत र पुर्ख्याैली थलो’, ‘जन्मधर्तीको कार्खमा’, ‘कोपेनहेगनको यात्रा, दोहाको स्पर्श र फेरि बेइजिङतिर’, ‘फेरि अमेरिकाको स्पर्श र एसियाको सङ्घर्ष’, ‘अर्कै अमेरिका हवाई र पाकिस्तानतिर’ आदि शीर्षकहरू क्रमशः आउँछन्। त्यसभित्र पनि थप उपशीर्षकहरू छन्।
एउटा महत् काव्यको रूप र संरचनामा जन्मिएको यस काव्यलाई कविले महाकाव्य भन्न आँट गरेका छैनन्। सायद काव्य नायक कवि आफैं छन् र जन्मपूर्वबाट कथानकको मूल निः सृत गर्दै यसको साङ्गोपाङ्गो स्वरूपलाई महाकाव्यिक संरचनाभित्र गुथ्ने झञ्झट बेहोर्नुभन्दा अलगअलग शीर्षकभित्र फुटकर काव्यकै ढाँचाले यथार्थपरक संरचना नै उनले रुचाएका हुन सक्छन्। यसको भूमिकामा र पार्श्वमा उनलाई महाकाव्य हो भनेर फुक्र्याइएको पनि देखिएको छ। स्वरूपमा यो महाकाव्यात्मक आयाममा नै छ यसमा दुई मत छैन तर संरचात्मकता, कथ्यको प्रारूपदेखि रस, नेता, वस्तु सबैलाई एकै ठाउँमा सैध्दान्तिक कसीमा रगड्दा लेखकले चयन गरेकै उपमा “यात्राकाव्य” उपयुक्त जँच्दछ।
यो नेपाली साहित्य वाटिकामा यात्राकाव्यकै सौरभ छर्न सफल रहोस् मेरो शुभेच्छाका शब्दपुष्प। यसबाट काव्यको मूल संरचना नै जीवनको कालक्रम, भूगोल र अनुभूतिको त्रिवेणीमा निर्मित रहेको स्पष्ट हुन्छ पौरस्त्य सैध्दान्तिक आलोकमा पाइने वस्तु र नेता तथा मूल रस र सह वा सहायक रसहरूको परिपाकले भने महाकाव्यात्मक बान्कीभन्दा अलि परै र पृथक् छ भन्न डराउनु हुन्न। यसलाई महाकाव्यात्मक सिध्दान्तले हेरिनु महाकाव्यको स्थापित मानकप्रति अन्याय नै हुनेछ।
लेखकले यसलाई महाकाव्यभित्रको सुदृढ संरचनामा सायद बाँध्न चाहेनन् र महाकाव्यको परिधिमा यसलाई पसाएनन्। हो पनि कि कविताको थाक मात्रै महाकाव्य होइन र हुन पनि सक्दैन। फेरि महाकाव्य मात्रै सबैथोक पनि त होइन। यात्राका वस्तुपरक वर्णनको सौन्दर्य र सौष्ठवमा फक्रिएको यो यात्राकाव्यको बेग्लै गरिमा र बेग्लै गोरेटो पनि त तय गर्न सक्छ जुन अब यो र यस्तै काव्यहरूले सैध्दान्तिक गोरेटो खोलेर रूपरेखा तय गरून्।
‘आद्या काव्य’को मूल मर्म: जीवनलाई कवितामा रूपान्तरण गर्ने प्रयत्न
कविताको सबैभन्दा ठूलो शक्ति बाह्य घटनालाई मात्र वर्णन गर्नुमा हुँदैन; घटनाले मनमा उत्पन्न गरेको कम्पनलाई भाषामा उतार्नुमा हुन्छ। ‘आद्या काव्य’को मूल शक्ति यही छ। कविले आफूले देखेका ठाउँहरू मात्र चुनेका छैनन्, ती ठाउँले आफूभित्र जगाएका स्मृति, विस्मय, वेदना, उल्लास र प्रश्नलाई काव्यमा रूपान्तरण गरेका छन्। जहाँ उनी जान्छन् त्यहाँबाट काव्यिक अनुभूतिले रसाएर शब्दपुष्प उमार्छन्। बाल्यकालबाट सुरु भएको यात्रा क्रमशः किशोरावस्था, अध्ययन, युवावस्था, कर्मजीवन र विश्वभ्रमणसम्म फैलिन्छ। त्यसैले यसलाई एउटा व्यक्तिको निजी जीवनको वृत्तान्त मात्र भन्न मिल्दैन। निजी जीवनका अनुभवलाई व्यापक मानवीय अनुभूतिसँग जोड्ने प्रयत्न भएकाले यो आत्मानुभूतिपरक महाकाव्यात्मक यात्राकाव्यको स्वरूपतिर उन्मुख देखिन्छ।
‘बाल्यकालको सेरोफेरो’, ‘किशोर अवस्थाको वरिपरि’, ‘युवाकालको आरम्भ’, ‘तरुण वयको वरिपरि’, ‘युवाकालको अर्को चरण’ जस्ता शीर्षकले जीवनलाई कविले एकै झट्कामा होइन, समयका अनेक तहमा विभाजन गरेर हेरेका छन्।
जीवनलाई यसरी चरणगत रूपमा हेर्नु वास्तवमा मानिसको विकासलाई हेर्नु हो। शरीर बढ्दै जानु मात्र जीवनको विकास होइन; चेतना बढ्दै जानु, सम्बन्धको अर्थ बुझ्दै जानु, दुःखको गहिराइ अनुभव गर्नु, संसारलाई फरक आँखाले हेर्न थाल्नु र अन्ततः आफू जन्मेको माटोको अर्थ पुनःबोध गर्नु पनि विकास हो जुन तथ्यलाई चेतनाको आलोकमा रङ्ग भरेर उनले सुललित लयमा कविता उमारेका छन्। यस अर्थमा ‘आद्या काव्य’ को यात्रा उमेरको यात्रा मात्र नभएर चेतनाको यात्रा पनि बनेको छ।
आरम्भदेखि आरोहणसम्म:
आध्यात्मिक र सांस्कृतिक स्वर
विद्या बनून् अपरिहार्य अनन्यवृत्ति
देऊ सरस्वति प्रभासित चित्तवृत्ति
ज्योत्स्ना भरेर नवजीवन पार्न खास
वाणी बसून् हृदयभित्र बनी प्रकाश।।
कविले आद्याको प्रारम्भ वाणी अर्थात् शब्द सामर्थ्य र ज्ञानकी चहक सरस्वतीको आराधनाबाट गरेका छन्। यसमा उनका १०१ श्लोक छन् जहाँ कतै मनका मङ्गल कनमनाका अभीप्सा, कतै आशीर्वचन जस्ता र कतै इच्छार्थक अभिव्यक्तिहरू व्यञ्जित छन्।
संस्कृत महाकाव्य सिध्दान्तको अभिप्रायअनुसार यो मङ्गलाचरणको प्रारम्भजस्तो देखिन्छ अन्तिमको एक श्लोकबाहेक वसन्ततिलका छन्दविधानमा रचिएको छ र अन्त्यमा अर्काे सर्गको निर्देश भएको जस्तो देखिन्छ।
संस्कृत महाकाव्य सिध्दान्तमा आचार्य विश्वनाथले गरेको निर्देशलाई उनले अलिकति थिचिदिएका छन्। विश्वनाथ भन्छन्, अर्काे सर्गको कथानिर्देश अन्तिम श्लोकले गर्नेछ, अन्तिम श्लोकमा परिवर्तित छन्द नै अर्काे सर्गको श्लोकको प्रारम्भिक छन्द हुनेछ तर उनले अर्काे ‘मङ्गलाचरण’ सर्गको छन्द निर्देश पो गरिदिएका छन्। मङ्गलाचरणका लागि शार्दूलविक्रीडित जस्तो गम्भीर र गरिमामय छन्दको प्रयोग यसरी गरिएको छ:
आद्या सिर्जनशक्ति जीवनकला सम्झाउने शारदा।
वाणीरुप सरस्वती स्मितमुखी बुध्दिप्रदा ज्ञानदा।।
प्रज्ञाचक्षु खुलाउने हृदयमा हे दिव्यदृष्टिप्रदा।
देऊ आसिक सिर्जनारत रहूँ आनन्द मानि सदा।।
उनले मङ्गलाचरणबाट नै काव्य प्रारम्भ त गरेका छन् तर धेरै उपशीर्षकमा तन्काएर त्यसलाई अलि पट्यारलाग्दो नबनाएका भए अझ छरितो बन्नेथियो। काव्यको आरम्भमै कविले आफ्नो सिर्जनालाई सांस्कृतिक–आध्यात्मिक अनुशासनभित्र राखेका छन्।
आधुनिक कविताले प्रायः मुक्तछन्दलाई स्वाभाविक माध्यम बनाएको अवस्थामा यति ठूलो काव्ययात्रालाई शास्त्रीय छन्दमा बाँधेर यात्रानुभूतिको वैभव बाँड्नु आफैँमा उल्लेखनीय प्रयोग हो।‘वाणी आराधना’ले कविका लागि कविता केवल मनोरञ्जन होइन भन्ने सङ्केत गर्छ। वाणी यहाँ साधना हो। शब्द यहाँ केवल सूचना होइनन; अनुभूतिका वाहक हुन्।
मङ्गलाचरणबाट सुरु भएर ‘उद्बोधन’, ‘स्वाभिमान’ हुँदै ‘आरोहण’तिर पुग्नुले काव्यको भावात्मक गति पनि देखाउँछकि यसको भाव प्रवाहको आरोहण जीवनजस्तै कसिलो छरितो र खिरिलो बन्दैछ। ‘स्वाभिमान’ शीर्षकसँगै पृथक पृथक छन्दका सुस्वाद तथा तरानाहरुमा उनेर व्यक्तित्व निर्माण, आत्मपहिचान र आत्मसम्मानलाई गम्भीर लय प्रदान गरेको देखिन्छ।
यसरी काव्यको सुरुवातमै कविले आफ्नो जीवनको आधारभूमि - वाणी, संस्कार, स्वाभिमान र आरोहणको काव्यात्मक उत्तुङ्ग उचाइ निर्माण गरेका छन्। पहिलो उद्बोधन शीर्षकमा कविले देशको स्वाभीमान,अहम् र गौरवको अन्तर्यमा आफ्ना पुर्खाहरुको आगमन ,नदनदी र प्रकृतिको त्रिवेणीमा काव्यसागर उमारेका छन्। भानुभक्त लगायत कविहरुको स्मरण गरेका छन्। मातृभाषाको गाथा गायन गर्दै प्राकृतिक बिम्बमा वर्तमानको ऐना हेरेका छन्।
बाल्यकाल: स्मृतिको उज्यालो आँगन
यात्रा भौतिक रूपमा मात्रै हुने होइनन् होइन रहेछ,आफैँले हिँडेर, भोगेर आएका डोबहरू, जीवनले व्यतीत गरेर आएका भोगाइतिर फर्केर स्मृति बिम्बलाई अक्षरहरूमार्फत् ओहिरयाउनु पनि त यात्रा रहेछ। कविले बालवयका सम्झनाहरू काव्यमा यसरी तरेली पारेका छन्:
डुम्रेको गोठमा पुग्ने साथी पारी पितामह
आफैं घोडा चडी हिड्ने केटाको देखियो तह
घोडाको पीठमा राखी डुम्रेबाट पठाउँदा
एक्लै घर पुगी भन्थ्यो हट्हट् घोडा समाउँदा।।
बालवय जीवनको प्रभात हो। बाल्यजीवनले नै उत्तरार्द्धको सुनौलो सङ्केत गरेको हुन्छ। यस शीर्षकमा कविले आफ्नो बालजीवनका सौरभ र सुगन्धको नालीवेली परिलाएका छन्।
‘बाल्यकालको सेरोफेरो’ शीर्षकले कवितामा स्मृतिको ढोका खोल्छ। बाल्यकाल मानिसको जीवनको त्यस्तो समय हो, जहाँ संसार ठूलो हुन्छ तर आफू सानो। एउटा सानो गाउँ, एउटा बाटो, एउटा नदी, एउटा विद्यालय, एउटा खेत, एउटा चौतारो, घरको आँगन - यी सबै बालकका लागि पूरा ब्रह्माण्ड हुन्छन्। बढेपछि ती ठाउँहरू भौगोलिक रूपमा साना भए पनि स्मृतिमा असाधारण रूपमा ठूला बन्छन्। त्यसैले बाल्यकालको सम्झना वास्तवमा हराएको समय खोज्ने प्रयत्न हो।
‘आद्या काव्य’मा बाल्यकालदेखि युवावस्थासम्मका खण्डहरूलाई क्रमशः राखिनुले कविको मनमा स्मृति कसरी समयसँगै पुनर्निर्मित हुँदै गएको छ भन्ने देखाउँछ। बाल्यकाललाई अहिलेको चेतनाबाट सम्झिँदा त्यो बाल्यकाल पहिलेको जस्तो रहँदैन; त्यसमा पछिल्लो जीवनका अनुभवहरू मिसिन्छन्। यसैले यस्तो कविता केवल ‘बाल्यकालको वर्णन’ होइन, वर्तमान चेतनाले अतीतलाई पुनःपढेको प्रक्रिया हो।
किशोरावस्था र युवाकाल: आत्मनिर्माणको चरण
‘किशोर अवस्थाको वरिपरि’, ‘युवाकालको आरम्भ’, ‘तरुण वयको वरिपरि’ र ‘युवाकालको अर्को चरण’ जस्ता शीर्षकहरू काव्यको अत्यन्त महत्त्वपूर्ण विकासक्रम हुन्।बाल्यकालमा संसारलाई बाहिरबाट हेरिन्छ; किशोरावस्थामा संसारलाई प्रश्न गर्न थालिन्छ। युवावस्थामा ती प्रश्नहरूले आकांक्षा र सङ्घर्षको रूप लिन्छन्। यही क्रममा अध्ययन, सम्बन्ध, जिम्मेवारी, सामाजिक चेतना र आत्मपहिचान विकसित हुन्छ। त्यही प्रसङ्ग कवितामा उप्काएका छन्।
‘अध्ययनको सन्दर्भ’ शीर्षक यस विकास क्रममा विशेष अर्थपूर्ण छ। अध्ययन यहाँ केवल शैक्षिक उपलब्धि होइन; मानिसलाई आफूभन्दा बाहिरको संसारसँग जोड्ने झ्याल हो। पुस्तकले संसार देखाउँछ, यात्राले संसार छुवाउँछ र अनुभूतिले संसारलाई आफ्नो बनाउँछ।
यसरी हेर्दा काव्यको पूर्वार्द्धले एउटा व्यक्तिको आत्मनिर्माणको कथा प्रस्तुत गर्छ उनका जीवनमा यस्ता समय कसरी बिते, जीवनका आरोह अवरोहका आँसु, हाँसो। सुखदुःखका गजब काव्यात्मक बान्की यहाँ प्रस्तुत गरेका छन्।
‘अनुभूतिका आयाम’: काव्यको वास्तविक केन्द्र
‘अनुभूतिका आयाम’ भन्ने शीर्षक पटकपटक प्रयोग हुनु अत्यन्त अर्थपूर्ण छ। यसले कविको काव्यदृष्टिको मूल कुरा प्रस्ट पार्छ - घटना होइन, घटना पछाडिको अनुभूति महत्वपूर्ण हो। पढ्दा लागिरह्यो कि किन यसरी भावहरुलाई एकै बान्कीमा उनीएको होला किन? फरक उपमा नदिएको होला? तर मैले काव्यको सग्लो आयाम चहारिसक्दा पनि यसका उत्तर पाउन सकिन। एकै भाव एकै अनुभूति जीवनका अनेक मोड र घुम्तीमा पटकपटक आइदिन त सक्छ नै तर एकै आवरणमा नआइदिए त्यसको मजा अलि अर्कै हुन्थ्यो कि भन्ने खसखस लाग्नु सायद स्वभाविक नै हो।
‘यात्रा’ स्वयंमा कविता होइन। यात्रा गरेपछि देखिएको दृश्य पनि आफैँ कविता होइन। तर त्यो दृश्यले मनमा कुनै पुरानो स्मृति जगायो, कुनै प्रश्न उठायो, कुनै पीडा सम्झायो, कुनै संस्कृति देखेर आफ्नो संस्कृति सम्झायो, कुनै सम्पन्न देश देखेर आफ्नो देशको अभाव महसुस भयो भने त्यहाँ कविता जन्मिन्छ। त्यसैले ‘आद्या काव्य’मा यात्रा र अनुभूति एकअर्काबाट अलग छैनन्।
कवि एउटा ठाउँमा पुग्छन् तर त्यहाँको दृश्यसँगै आफूभित्रको अर्को ठाउँमा पनि पुग्छन्। यही द्वैत वा द्वेताद्वेत अनुभूति यात्राले काव्यलाई सामान्य वर्णनबाट माथि उठाउँछ। संभवतः उनको काव्यको गरिमा र मूल्य पनि यसैमा छ।
जन्मधर्ती: सबै यात्राको अन्तिम केन्द्र
‘जन्मधर्तीको माटो र जनकपुरको जीवन’ तथा ‘जन्मधर्तीको कार्खमा’ जस्ता शीर्षकहरूले काव्यको अत्यन्त भावुक पक्षलाई उजागर गर्छन्। मानिस जति टाढा पुगे पनि अन्ततः उसको मनमा एउटा माटो हुन्छ - जन्मेको माटो। अमेरिका, अस्ट्रेलिया, श्रीलङ्का, सिङ्गापुर, इन्डोनेसिया, कोरिया, कोपेनहेगन, बेइजिङ, दोहा, पाकिस्तान आदि विश्वका अनेक भूगोलमा पुगिसकेपछि पनि कविको चेतना अन्ततः जन्मभूमितिर फर्कन्छ। यसैले ‘आद्या काव्य’को भूगोल विस्तार हुँदै गए पनि यसको भावात्मक केन्द्र भने क्रमशः आफ्नै माटोतिर अझ गहिरो हुँदै जान्छ।विदेश पुगेपछि मातृभूमिको मूल्य झन् स्पष्ट हुन्छ।
परदेशमा आफ्नै गाउँको बाटो सम्झिनु, आफ्नै भाषाको ध्वनि सम्झिनु, आफ्नै चाडपर्व सम्झिनु, घरको गन्ध सम्झिनु - यी सबै प्रवासी संवेदनाका सामान्य पक्ष हुन् तर यहाँ त्यो भावना केवल नस्टाल्जिया होइन; आत्मपहिचानको प्रश्न बन्छ। उनले यी अनेक कविताहरुमा यही सन्दर्भ र यही अर्थको गहिराइ निर्माण गरेका छन्, संभवतः यो यात्राकाव्यको मूल्य पनि यही हो।
जनकपुर र मिथिला: भूगोलभन्दा माथिको सांस्कृतिक स्मृति
‘जन्मधर्तीको माटो र जनकपुरको जीवन’ तथा ‘वेदानाको पहाड र मिथिलाको स्मृति’ शीर्षकले कविको चेतनामा मिथिलाको विशेष स्थान देखाउँछन्। जनकपुर केवल एउटा सहर होइन; नेपाली सांस्कृतिक चेतनामा यो सीता, राम, मिथिला, वैदिक परम्परा, लोकसंस्कृति र सभ्यताको प्रतीक पनि हो। त्यसैले जनकपुरको स्मृति आउँदा व्यक्तिगत स्मृति सांस्कृतिक स्मृतिमा परिणत हुन्छ।
‘वेदानाको पहाड’ भन्ने शीर्षक स्वयं अत्यन्त शक्तिशाली प्रतीकात्मक संरचना हो। पहाड सामान्यतः उचाइ, स्थायित्व र गौरवको प्रतीक हो तर जब त्यसमा ‘वेदना’ जोडिन्छ, पहाड दुःखको विराट प्रतीक बन्न पुग्छ। व्यक्तिगत पीडा, सामाजिक पीडा, समयको पीडा र विस्थापनको पीडा - सबैलाई एउटा पहाडमा रूपान्तरित गर्न सकिन्छ।
राष्ट्रसेवाको दौरानमा उनी जहाँ जहाँ पुगे त्यहाँत्यहाँ जुनजुन विषयको सुस्वादले उनलाई आल्हादित बनायो त्यहीत्यही विषय र सन्दर्भलाई उनले काव्यवाटिका सजाएका छन् त्यसमध्येको एक नमूना हो – जनकपुर र मिथिला जसको एक काव्यपुष्प हेरौंः
आमाजस्तै प्रिय सरसिली बन्दछिन् जन्मधर्ती
माया पोखी मधुर रसिलो पार्दछिन् फाँटपर्ती
यै पर्तीमा नवकिरण भै झुल्किएथ्यो बिहानी
यै धर्तीको मधुरस पिई जग्मगायो जवानी।।
दोलखा: एउटै भूगोलका फरक अनुभूति
‘दोलखाको सेरोफेरो’ र ‘फरक अनुभूतिमा दोलखा’ शीर्षकहरू विशेष ध्यानयोग्य छन्। एउटै ठाउँलाई दुई फरक अनुभूतिबाट हेर्नु भनेको ठाउँ स्थिर हुन्छ तर दृष्टि परिवर्तन हुन्छ भन्ने स्वीकार हो। पहिलोपटक देखिएको दोलखा र पछि फर्केर हेरेको दोलखा एउटै हुँदैन। मानिसको उमेर, अनुभव, सम्बन्ध र चेतना बदलिसकेको हुन्छ। त्यसैले ठाउँले पनि नयाँ अर्थ पाउँछ। यसले काव्यमा एउटा गहिरो दार्शनिक धारणा स्थापित गर्छ -भूगोल स्थिर हुन्छ तर स्मृति गतिशील हुन्छ। दोलखा त्यसैले केवल दोलखा रहँदैन; त्यो समयको एउटा तह बन्छ। जन्म र कर्मथलोका भावहरूले मान्छेलाई जहिले पनि नोस्टाल्जिक बनाउँछ, द्रवित पार्छ र व्यक्त, अव्यक्त संवेदनका छाल उछाल उमार्छ यहाँ कविले सम्झनाका त्यस्तै तरेली पोखेका छन्। दोलखालाई उनले कसरी देखे, केके विषयले उनको दिल स्पर्श गर्यो, कसरी सम्झिरहेका छन् भन्ने तथ्यलाई उनले काव्यत्मक हारमा उनेका छन्।
‘पूर्वस्मृति’: वर्तमानमा अतीतको पुनरागमन
‘पूर्वस्मृति’ शीर्षकमा पुग्दा कविको काव्ययात्राले अतीतलाई पुनःसम्झिने परिपक्व चरण प्रवेश गर्छ। स्मृति कहिल्यै सीधा फर्किँदैन। त्यसले आफूलाई टुक्राटुक्रामा, गन्धमा, ध्वनिमा, दृश्यमा, व्यक्तिमा र ठाउँमा फर्काउँछ। कहिलेकाहीँ एउटा सानो दृश्यले पूरै विगत खोलिदिन्छ। यही कारण ‘पूर्वस्मृति’ जस्तो शीर्षक केवल सम्झना होइन, समयसँगको संवाद हो। कवि वर्तमानमा उभिएर अतीतलाई हेर्छन् तर अतीत पनि वर्तमानलाई प्रभावित गरिरहेको हुन्छ। यसरी काव्यमा समय र स्मृति एकअर्काको ऐना बनेका छन्।
अमेरिका: सपनाको भूगोल र प्रश्नको भूगोल
‘अमेरिकाको पहिलो यात्रा’ शीर्षकदेखि काव्यको भूगोल अचानक अत्यन्त व्यापक हुन्छ। अमेरिका नेपाली मानसमा लामो समयदेखि अवसर, समृद्धि, आधुनिकता र सपनाको प्रतीक रहँदै आएको छ तर कविको यात्रा केवल ‘अमेरिका पुगेँ’ भन्ने विजयकथा होइन।
पछिल्ला शीर्षकहरू - ‘फेरि अमेरिकाको स्पर्श र एसियाको सङ्घर्ष’, ‘अर्कै अमेरिका हवाई र पाकिस्तानतिर’ - हेर्दा अमेरिका कविका लागि भौगोलिक उपलब्धि मात्र नभएर तुलनात्मक दृष्टिको आधार बनेको बुझिन्छ। विदेश पुगेपछि आफ्नै देशलाई नयाँ आँखाले हेर्न सकिन्छ। समृद्धि देखेपछि अभावको अर्थ बदलिन्छ। प्रविधि देखेपछि विकासको अर्थ बदलिन्छ। नागरिक सुविधा देखेपछि राज्यको जिम्मेवारी सम्झिन्छ। विशाल बजार देखेपछि आफ्नै गाउँको सानो पसलको स्मृति आउन सक्छ। यस अर्थमा अमेरिका कविको काव्यमा विस्मयको भूगोल मात्र होइन, आत्मपरीक्षणको ऐना हो। उनले यस शीर्षकमा त्यहाँको भूगोल, विकास, निर्माण, सभ्यताको अलग संसार देखेर उत्पन्न विचारहरू यसरी पोखेका छन्:
विकासको व्यापक दृश्य छन् यहाँ
यो दूरसञ्चार थियो कहाँ कहाँ
गरेर चौतर्फी समग्र उन्नति
हिड्दैछ संसार छिटो लिई गति।।
अस्ट्रेलिया, श्रीलङ्का र सिङ्गापुर: विश्वलाई तुलनात्मक आँखाले हेर्ने चेतना
‘अस्ट्रेलिया र छेउछाउ’ तथा ‘अमेरिका, श्रीलङ्का र सिङ्गापुर’ जस्ता शीर्षकहरूले काव्यको विश्वदृष्टिलाई फराकिलो बनाएका छन्।
यात्रा जति बढ्छ, संसारको विविधता उति देखिन्छ। भाषा फरक, धर्म फरक, रहनसहन फरक, प्रकृति फरक, विकासको अवस्था फरक तर मानिसका आधारभूत संवेदना भने धेरै हदसम्म उस्तै।यही बिन्दुमा यात्रा–काव्य मानवतावादी बन्छ।
सिङ्गापुरको विकास, श्रीलङ्काको सांस्कृतिक इतिहास वा अस्ट्रेलियाको भौगोलिक विशेषता हेर्दा कवि अन्ततः मानिस र सभ्यताको प्रश्नमा फर्किन्छन्। सभ्यता भनेको केवल गगनचुम्बी भवन होइन; मानिसले मानिससँग कस्तो सम्बन्ध बनाएको छ भन्ने पनि सभ्यताको मापदण्ड हो। सामान्य मानिसको यात्रा आँखाको भोक र लालसाका लागि हो भने कविको यात्रा काव्यिक सिर्जना वाटिकाको विषय र संवेदनाहरु चाँङ पनि रहेछ। यहाँ उनले देखेभोगेका र भेटेका स्थल,भोगाइ समलापहरुको चर्चा छ।
एसिया र विश्व: समृद्धि मात्र होइन, सङ्घर्ष पनि
‘इन्डोनेसिया र कोरियातिर’, ‘फेरि अमेरिकाको स्पर्श र एसियाको सङ्घर्ष’ जस्ता शीर्षकहरू काव्यलाई केवल यात्राको रमणीय चित्रबाट सामाजिक–राजनीतिक चेतनातर्फ लैजान्छन्।विशेषतः ‘एसियाको सङ्घर्ष’ शब्दावलीले भूगोललाई इतिहाससँग जोड्छ। एसिया केवल प्राचीन सभ्यताको भूमि होइन; यो युद्ध, गरिबी, उपनिवेशवाद, विभाजन, विकास, असमानता र राजनीतिक सङ्घर्षबाट गुज्रिएको भूभाग पनि हो।त्यसैले कविको यात्रा क्रमशः दृश्यबाट इतिहासतिर, इतिहासबाट समाजतिर र समाजबाट मानवतिर उन्मुख भएको देखिन्छ।
पुर्ख्याैली थलो र वसन्त: पुनरागमनको सौन्दर्य
‘वसन्तको स्वागत र पुर्ख्याैली थलो’ शीर्षक अत्यन्त प्रतीकात्मक छ। वसन्त प्रकृतिको पुनर्जन्म हो। पुर्ख्याैली थलो स्मृतिको पुनरागमन। यी दुईलाई एउटै खण्डमा राख्दा एउटा सुन्दर अर्थ निर्माण हुन्छ, प्रकृति पुनः फुल्छ, मानिस पनि आफ्ना जरातिर फर्केर पुनःअर्थवान् हुन्छ।विश्व घुमेर आएको मानिसका लागि पुर्ख्याैली थलो पहिलेको भन्दा सानो देखिन सक्छ तर मनमा त्यो अझ विशाल बनेको हुन्छ। संसार देखेपछि आफ्नो घरको मूल्य घट्दैन; धेरै अवस्थामा झन् बढ्छ।
संसारको झिलिमिलीमा बस्दा, पुग्दा, रमाउँदा र त्यहाँका भौतिकीलाई स्पर्श गर्दा आफ्नो भूगोल, प्रकृति, संस्कृति र आफ्नोपनको नियाँस्रोले कसरी गाँज्दै ल्याउँदो रहेछ भन्ने सन्दर्भलाई पनि कविले सुललित लयमा अनुभूति पोखेका छन्।
कोपेनहेगनदेखि बेइजिङसम्म: विश्वयात्राको परिपक्व चरण
‘कोपेनहेगनको यात्रा, दोहाको स्पर्श र फेरि बेइजिङतिर’ शीर्षकले काव्यको विश्वव्यापी फैलावटलाई चरममा पुर्याउँछ।
यात्राको यस्तो विस्तारले कविलाई एउटा महत्वपूर्ण बोधतर्फ लैजान्छ - संसार विशाल छ तर मानिसको दुःख र सुखको भाषा विश्वव्यापी छ।जहाँ गए पनि मानिस घर बनाउँछ, स्मृति बनाउँछ, सम्बन्ध बनाउँछ, संघर्ष गर्छ र भविष्यको सपना देख्छ। भूगोल फरक भए पनि मानवीय आकांक्षा उस्तै हुन्छ।यही कारण यात्रा–काव्य अन्ततः विश्वमानवतावादतर्फ पुग्छ। कविको यतिबेलाको काव्ययात्रा भौगोलिकतासँग आत्मिक अनुभूतिको तदाकार भएर निस्किएको हो। यहाँ भूगोल र मानवियताको मात्रै चर्चा पनि छैन। यहाँ त वैश्विक समन्वय र विश्वभ्रातृत्व समरसताको तन्तु पनि पाइन्छ।
छन्दविधान: ‘आद्या काव्य’को विशिष्ट कलात्मक शक्ति
यस काव्यको सबैभन्दा उल्लेखनीय पक्षमध्ये एक यसको छन्दवैविध्य हो। यहाँ देखिएका छन्दहरूमा वसन्ततिलका, शार्दूलविक्रीडित, स्रग्धरा,मालिनी, अनुष्टुप्, शिखरिणी इन्द्रवज्रा, उपजाति, मन्दाक्रान्ता, पञ्चचामर, भुजङ्गप्रयात, चित्रलेखा, तोटक स्रग्विणी/सविणी, तन्त्री आदि विभिन्न छन्दको प्रयोग देखिन्छ। यसलाई शास्त्रीय ज्ञानको प्रदर्शनका रूपमा मात्र हेर्नु उचित हुँदैन।
छन्द कविता भित्रको आन्तरिक चाल हो। मानिस हिँड्दा उसको चालले उसको अवस्था बताउँछ; कवितामा छन्दले भावको चाल बताउँछ। गम्भीर भावका लागि शार्दूलविक्रीडितको गरिमा, करुण वा विरहका लागि शिखरिणी, मन्दाक्रान्ताको लय, प्रवाह र गति चाहिने ठाउँमा भुजङ्गप्रयात, सहज कथनका लागि अनुष्टुप्, उदात्तता र विस्तारका लागि स्रग्धरा - यस्ता छन्दीय कलाचातुर्यले भावलाई थप कलात्मक बनाएको देखिन्छ। यस दृष्टिले ‘आद्या काव्य’ छन्दको सङ्ग्रह होइन, छन्दलाई भावानुकूल प्रयोग गर्ने प्रयत्न पनि छ भन्न सकिन्छ।
छन्द र यात्रा: एउटा अद्भुत साम्य र नेपाली साहित्यमा नवीन प्रस्तुति
यहाँ अझ गहिरो अर्थ भेटिन्छ। काव्यको विषय नै यात्रा हो। यात्रामा चाल हुन्छ। कहिले तीव्र गति, कहिले मन्द गति, कहिले उकालो, कहिले ओरालो, कहिले विश्राम। छन्दमा पनि यही हुन्छ।यात्राको बाहिरी गति र छन्दको आन्तरिक गति एकअर्काका कलात्मक समकक्ष बन्न सक्छन्। त्यसैले कविले विभिन्न खण्डमा फरक–फरक छन्द रोज्नुको सौन्दर्य यहीँ बुझ्न सकिन्छ। विषय बदलिँदा लय बदलिन्छ; भूगोल बदलिँदा अनुभूतिको तापक्रम बदलिन्छ; अनुभूति बदलिँदा छन्द पनि बदलिन्छ। यो काव्यको शिल्पगत विशेषता जस्तै बनाएर कविले यहाँ इन्द्रधनुषि वाटिका तयार गरेका छन्।
भाषा: संस्कृतनिष्ठ गरिमा र आत्मीय संवेदनाको सङ्गम
काव्यको छन्दविधानले स्वाभाविक रूपमा भाषामा संस्कृतनिष्ठता ल्याउँछ। ‘आराधना’, ‘उद्बोधन’, ‘आरोहण’, ‘अनुभूति’, ‘सांस्कृतिक ऊर्जा’, ‘पूर्वस्मृति’ जस्ता शीर्षकहरूले नै यसको भाषिक संस्कार देखाउँछन्तर विषय व्यक्तिगत जीवन र यात्रासँग जोडिएको भएकाले भाषामा आत्मीयता पनि आवश्यक हुन्छ। यही दुई प्रवृत्तिको संयोजन काव्यको भाषिक सौन्दर्यको आधार हो।
शास्त्रीय छन्द र आधुनिक जीवनानुभवको मेल आफैँमा चुनौतीपूर्ण हुन्छ। पुरानो छन्दमा नयाँ समयको अनुभूति हाल्नु भनेको पुरानो पात्रमा नयाँ जीवनको ऊर्जा भर्नु पनि त हो। यदि कविले यसलाई सफलतापूर्वक निर्वाह गरेका छन् भने त्यसको सबैभन्दा ठूलो उपलब्धि यही हो—परम्पराको लयमा आधुनिक जीवन बोल्नु हो कविले यस काव्यमा त्यही सङ्गम बनाएका छन्।
‘यात्रा’: पर्यटन मात्रै होइन, आत्मसाक्षात्कार
‘आद्या काव्य’ मा यात्रा धेरै भूगोल र महादेशसम्म भएको छ। अमेरिका, अस्ट्रेलिया, श्रीलङ्का, सिङ्गापुर, इन्डोनेसिया, कोरिया, कोपेनहेगन, दोहा, बेइजिङ, पाकिस्तान आदिका यात्रा शीर्षकहरूले काव्यको एउटा ठूलो हिस्सा यात्रा–अनुभूतिमा आधारित रहेको देखाउँछन् तर यात्रालाई पर्यटकीय दृष्टिले मात्र पढ्दा काव्यको मर्म छुट्न सक्छ। पर्यटकले भवन देख्छ। कविले त्यस भवनभित्रको सभ्यता देख्छ। पर्यटकले समुद्र देख्छ। कविले समुद्रमा मानिसको अनन्त यात्राको प्रतीक देख्न सक्छ। पर्यटकले विमानस्थल देख्छ। कविले त्यसलाई मानिसको विस्थापन र पुनरागमनको प्रतीक बनाउन सक्छ।
यसैले ‘आद्या काव्य’ मा यात्रा बाह्य भूगोलबाट आन्तरिक भूगोलतर्फ जाने साधन हो। उनको अनुभूतिले देखेका मान्छेका सुख, दुःख,आँसु, हाँसो, सपना, सम्भावना सबैथोक अन्तर्यात्राबाट झिकेर थपक्क सजाएका छन्।
स्मृति र विस्मृति: काव्यको करुण तह
यस काव्यमा सबैभन्दा मर्मस्पर्शी पक्ष स्मृति हो। जीवन जति अघि बढ्छ, मानिस उति पछाडि फर्केर हेर्न बाध्य हुन्छ। बाल्यकाल सम्झिनु, पुर्ख्याैली थलो सम्झिनु, जनकपुर सम्झिनु, मिथिला सम्झिनु, दोलखा सम्झिनु - यी सबै सम्झनामा एउटा सूक्ष्म करुणा भएको छ र त्यही सम्झना विनिर्मित भएर काव्यसरिता बगेको छ। स्मृतिको अर्थ नै फेरि त्यही समय फर्केर आउन नसक्नु हो र पुनः सिर्जन भएर आउँछ? कुनै आकृति रचना हुनु पनि त हो। त्यसैले काव्यको उल्लासभित्र पनि एउटा अदृश्य विषाद छ। विदेशको चमकभित्र गाउँको सम्झना छ। आधुनिकताको उज्यालोभित्र बाल्यकालको मधुरो दीप छ। विश्वयात्राको उपलब्धिभित्र बितेको समयको छायाँ छ। यही द्वन्द्वले काव्यलाई मर्मस्पर्शी बनाएको छ अथवा भनौं यात्राका अनुभवह?को विशाल भण्डार यहाँ कविको छायाँ बनेर एकै थाकमा नबिर्सने सम्झना बनेर आएको छ।
‘आद्या काव्य’मा ‘म’बाट ‘हामी’तर्फको यात्रा
कविताको आरम्भ निजी ‘म’बाट हुन्छ। मेरो बाल्यकाल, मेरो अध्ययन, मेरो गाउँ, मेरो यात्रा, मेरा अनुभूति।
तर बिस्तारै त्यो ‘म’ ‘हामी’ बन्छ। मेरो जन्मभूमि → हाम्रो संस्कृति मेरो मिथिला → हाम्रो सांस्कृतिक विरासत,मेरो यात्रा → मानवको यात्रा,मेरो दुःख → मानिसको दुःख,मेरो देश → विश्वसँगको तुलना,यहीँ कवि आत्मकथात्मक सीमाबाट बाहिर निस्कन्छन्। साहित्यमा निजी अनुभव त्यतिबेला महत्त्वपूर्ण हुन्छ, जब त्यो निजी भएर पनि पाठकको आफ्नै अनुभव जस्तो लाग्न थाल्छ। एउटा कविको गाउँ पाठकको गाउँ बन्न सक्छ; कविको विदेशयात्रा पाठकको सपनाको यात्रा बन्न सक्छ; कविको पुख्र्यौली सम्झना पाठकको आफ्नै घरको सम्झना बन्न सक्छ। ‘आद्या काव्य’को सम्भावित सबैभन्दा ठूलो मानवीय शक्ति यही आत्मीय सार्वजनीनता हो र हो सकारात्मकताको अवलम्वन,सुधारात्मकताकप्रति सचेतता पनि। अब कविले शब्दशिल्पमा उनेर बनाएका काव्यहार उनको निजी नभएर सिंगो नेपाली साहित्यप्रेमीको साझा सम्पत्ति बनिसकेको छ।
काव्यसँगै जोडिएका केही प्रश्न
‘आद्या काव्य’ जस्तो विशाल संरचनामा कताकति केही खजमजिएका विषय “नदीसँग बगर “ पनि सँगै छन्। पौरस्त्य काव्यशास्त्रीहरूले कतै रस, कतै अलङ्कार नभए ध्वनिको अपेक्षा गरेका छन्। ध्वनिवादीहरूको मतमा त ध्वनिहीन काव्यलाई त “अधम“ समेत भन्न भ्याएका छन्। उसो त संस्कृतमा लेखिएका सबै काव्य उनीहरूले भने जस्तै ध्वनिकाव्य वा उत्तम रहे त? उत्तर खोज्न थाल्यौं भने हामी आफैं हराइन्छ। त्यही कसौटीमा आद्यालाई जँच्न खोज्यौं भने धेरै थरीका पहाड उक्लनुपर्ने हुन्छ।
समालोचना भनेर लेखिसकेपछि यति त भनिहालें कि आद्याभित्र त्यही चित्र काव्यका हरफहरु थुप्रै छन् जहाँ रसको सट्टामा सिधा वर्णनले बगर थुप्रिएका छन्। छन्दको गणित मिलाउन खोज्दा भाव थला परेका छन् र यति भङ्ग दोषले लेग्रो तानेर मिलाउनुपर्ने बाध्यता छ। यी दोषहरु प्रल्हादले नेपाली काव्यवाटिकामा एक्लै भोग्नुपर्ने स्थिति होइन ,लेखनाथ,देवकोटादेखि नै रहँदै आएका गिर्खागिर्खी हुन्। माझिएको भए अझै उत्कृष्ट काव्यसितारा बन्न सक्थ्यो तर जे बनेको छ त्यो नयाँ स्वाद र नयाँ बान्कीको रचना बनेको छँदैछ।
निष्कर्ष: अन्ततः यो कहाँ पुग्छ?
‘आद्या काव्य’को सबैभन्दा सुन्दर पक्ष यही हो कि यसको यात्रा जतिजति टाढा जान्छ, यसको मन उति नै आफ्नै माटोतिर फर्किन्छ।
कवि अमेरिका पुग्छन् तर जन्मभूमिको प्रेम बोकेरै जान्छन्।अस्ट्रेलिया पुग्छन् तर बाल्यकाल आमाको काख भुल्दैनन् ,श्रीलङ्का र सिङ्गापुर पुग्छन्न् तर मिथिला विस्मृत हुँदैनन्। इन्डोनेसिया र कोरिया पुग्छन् तर दोलखाको सम्झना मर्छैन।कोपेनहेगन, दोहा र बेइजिङ पुग्छन् तर पुख्र्यौली थलोको माटो मनबाट हट्दैन।यसरी हेर्दा ‘आद्या काव्य’को वास्तविक यात्रा बाहिरबाट भित्रतिर र भित्रबाट फेरि बाहिरतिरको यात्रा हो।कवि संसार देख्न निस्कन्छन् संसार देखेपछि आफूलाई देख्छन्। आफूलाई देखेपछि आफ्नो जन्मभूमिलाई नयाँ आँखाले देख्छन्। बाहिर घुम्छन् तर मातृप्यारले झनै तिर्खाउँछन्। जन्मभूमिलाई नयाँ आँखाले देखेपछि विश्वसँग त्यसको सम्बन्ध खोज्छन्।
अन्ततः विश्व हेर्दाहेर्दै मानिसलाई देख्छन् - र मानिसलाई हेर्दाहेर्दै मानवताको खोजमा पुग्छन्। यही कारण ‘आद्या काव्य’ लाई जीवनको काव्यात्मक आत्मवृत्तान्त, स्मृतिको आख्यान, यात्राको दस्तावेज, सांस्कृतिक आत्मचिन्तन र विश्वमानवीय चेतनाको छन्दात्मक अभिव्यक्तिका रूपमा ग्रहण गर्न सकिन्छ। यस काव्यको केन्द्र अमेरिका होइन, अस्ट्रेलिया होइन, दोलखा होइन, जनकपुर होइन, कुनै एउटा भूगोल पनि होइन। यसको केन्द्र मानिसको स्मृति र मानिसको मन हो। यसको सबैभन्दा गहिरो सन्देश सम्भवतः यही हो - मानिस संसार घुमेर अन्ततः आफूभित्रै फर्किन्छ र आफूभित्र फर्किएपछि उसले सबैभन्दा पहिले आफ्नो जन्मभूमिको माटो भेट्छ। हो कविले यहाँ त्यही भेटेका छन्।
‘आद्या काव्य’ को सौन्दर्य त्यही माटोको गन्धमा छ; त्यसको करुणा बितेको समयको सम्झनामा छ; त्यसको शक्ति जीवनको आरोह–अवरोहमा छ; त्यसको विस्तार विश्वयात्रामा छ; त्यसको शिल्प छन्दको अनुशासनमा छ; र त्यसको अन्तिम उपलब्धि ‘म’लाई ‘हामी’ मा रूपान्तरण गर्ने मानवीय चेतनामा छ।
यसैले यो काव्यलाई यात्रा–काव्य भन्न मात्रै पनि अपूरो हुन्छ कि। यसले काव्यहारबाट नयाँ साहित्यिक सिध्दान्त पनि विकास गरेको छ र यो यात्रा हुँदै स्मृति, संस्कृति, आत्मपहिचान, समय, इतिहास र मानवताको खोजी गर्ने काव्य हो। यसको आरम्भ ‘वाणी आराधना’बाट हुन्छ र अन्त्य ‘उपसंहार’मा; तर वास्तविक अर्थमा यसको अन्त्य हुँदैन किनभने कविले वर्णन गरेको यात्रा पाठकको आफ्नै स्मृतिमा प्रवेश गरेपछि फेरि सुरु हुन्छ।
कुनै कविको जीवनमा भएका घटनाहरू कवितामा आउनु सामान्य कुरा हो; तर ती घटनाले पाठकलाई आफ्नै बाल्यकाल सम्झाइदिनु, आफ्नै गाउँको बाटो देखाइदिनु, परदेशको उज्यालोभित्र आफ्नो घरको दियो सम्झाइदिनु र अन्ततः ‘म कहाँबाट आएँ, कहाँ जाँदै छु र मेरो यात्राको अन्तिम अर्थ के हो?’ भन्ने प्रश्न गराइदिनु। यही नै ठूलो साहित्यको पहिचान हो त्यस अर्थमा ‘आद्या काव्य’ जीवनलाई सम्झने मात्र होइन, जीवनको अर्थ खोज्ने काव्य हो। यसको छन्दमा कविको पाइला सुनिन्छ, यसका यात्रामा कविको दृष्टि देखिन्छ। यसका स्मृतिमा कविको हृदय धड्किन्छ,र यसको जन्मभूमिसम्बन्धी अनुभूतिमा एउटा गहिरो सत्य बोल्छ। संसार जतिसुकै ठूलो भए पनि मानिसको मनमा एउटा सानो माटोको टुक्रा हुन्छ, जहाँ उसको सम्पूर्ण संसार अटाएको हुन्छ। ‘आद्या काव्य’ त्यही माटोबाट सुरु भएर संसारभरि फैलिएको, अनि संसार घुमेर फेरि त्यही माटोको काखमा फर्किएको एउटा दीर्घ, संवेदनशील, छन्दमय र आत्मान्वेषी जीवनयात्रा हो।
अन्त्यमा प्रल्हाद पोख्रेलकै शब्द सापटी लिएर उनलाई शुभेच्छा दिंदै यो सर्सती आँकलनलाई बिट मार्न चाहन्छु:
यात्रामा पाइला सारेँ खोली खुलस्त जिन्दगी।
म कृतज्ञ बनेँ मेरा सुधी पाठकमा झुकी।।
भूमिकाकारको स्नेह– वर्षाले अभिषिक्त छु।
आभारी रहँदै नित्य यात्रामै अनुरक्त छु।।
प्रकाशित: २८ भाद्र २०८३ ११:१४ आइतबार





